• १० मंसिर २०८१, सोमबार

ज्यानको बाजी लगाएर नदी तर्दै विद्यालय पुग्छन् विद्यार्थी (फोटो फिचर)

blog

ज्यान जोखिममा पारेर नदी तर्दै गरेका विद्यार्थी । तस्बिर सौजन्य: लक्ष्मी चन्द

गोकर्ण दयाल

बैतडी, भदौ २१ गते । पश्चिम सेतीमा मिसिने न्वाघरी नदी तर्ने पुल नहुँदा ज्यानको बाजी लगाएर विद्यार्थी नदी तर्दै विद्यालय जान बाध्य छन् । बाँचे विद्यालय पुगिन्छ, न्वाघरीमा बगे सेतीमा विलय भइन्छ । 

न्वाघरी नदीले विद्यार्थीका कयौँ सपना बगाइसकेको छ । न्वाघरीले बगाउँदा हालसम्म तीन जनाको ज्यान गइसकेको छ । यो पीडा सिगास गाउँपालिका–७, साङडा र थलार गाउँका विद्यार्थीको हो ।

सिगास–७, साङडा र थलार गाउँमा कक्षा ३ सम्मको मात्र विद्यालय भएकाले माथिल्लो कक्षा पढ्न यहाँका ४० भन्दा बढी विद्यार्थी न्वाघरी नदी तरेर करिब एक घण्टाको दूरीमा रहेको सिगास–६, को गणेश माविमा धाउँदै आइरहेका छन् । 

विद्यार्थीलाई सोही गाउँकी शिक्षिका लक्ष्मी चन्दले नदी तराएर गणेश मावि लैजाने र ल्याउने काम गर्दै आउनुभएको छ । शिक्षिका चन्द गणेश माविमा अध्यापन गराउने भएकाले विद्यार्थीको सहारा बन्नुभएको छ । पुलका लागि पटक–पटक माग गरे पनि दुर्गममा बस्नेको कुरा कसैले नसुनेको शिक्षिका चन्दले पीडा सुनाउनुभयो ।     

नदी तर्ने स्थानबाट माथि हेरे मौरा भीर देखिन्छ, जहाँबाट हालसम्म दुई जनाको लडेर मृत्यु भइसकेको छ । न्वाघरीगाडमा बगेर तीन जनाको मृत्यु भइसकेको छ । भीरमा हिँड्ने बाटो छैन, नदी तर्ने पुल नहुँदा यहाँका विद्यार्थी हरेक दिन नदीमा हेलिदैं विद्यालय आवत–जावत गर्न बाध्य छन् ।  

२०३२ सालमा स्वीकृति पाएको गणेश माविमा हाल १५० जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक कालुसिंह साउदले बताउनुभयो । ४० जना विद्यार्थी सधैँ नदी तरेर विद्यालय आउनेगरेको उहाँले बताउनुभयो । 

संयोगले साङडा गाउँकै शिक्षिका लक्ष्मी चन्द गणेश माविमा अध्यापन गर्ने भएकाले उहाँको काँधमा अध्यापनसँगै विद्यार्थीलाई नदी तार्ने जिम्मेवारीसमेत रहेको प्रधानाध्यापक साउदले बताउनुभयो । पुलका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारका जनप्रतिनिधिसँग माग गरे पनि कुनै सुनुवाइ नभएको उहाँले बताउनुभयो । बैतडीको सिगास गाउँपालिका अहिलेसम्म यातायातसँग जोडिन सकेको छैन ।  बर्सेनि यहाँ न्वाघरीगाड र सेती नदीको बाढीले घरखेत र हिँडने बाटो बगाउने गरेको छ ।

बाढीले बैतडीको सिगास गाउँपालिका–७, भौनेलीपातलदेखि डोटीको आदर्श गाउँपालिका–६, पाङ बबिना जोड्ने पुल बगाएपछि अहिले यहाँका स्थानीय समस्यामा परेका छन् ।   

डोटीको आदर्श गाउँपालिकासम्म यातायात पुगेकाले दैनिक उपभोग्य वस्तु किन्न पनि जोखिम मोलेर नदी तर्नु पर्ने बाध्यता रहेको स्थानीय भीमबहादुर चन्दले बताउनुभयो । 

उहाँले भन्नुभयो, “सिगासवासीले पुलका सपना देखे त कहिले पश्चिसेतीका सपना देखे तर, पुल, मोटरबाटो र गाडी चढ्ने सपना न्वाघरी नदी र सेतीका छालसँगै बगेर बिलाउने गरेका छन् ।” 

पश्चिम सेती परियोजना बन्ने हल्लाले सिगासमा अहिलेसम्म विद्युतको राष्ट्रिय प्रसारण लाइनसमेत विस्तार हुन सकेको छैन । यहाँको विद्यार्थी टुकी बालेर पढ्न बाध्यछन् । बिजुली बत्ती नहुँदा सोलारले काम नगरेको दिन स्वास्थ्य संस्थामा मैनबत्ती बालेर सुत्केरी गराउनु पर्ने अवस्था रहेको छ ।  

भूगोलका हिसाबले सिगास गाउँपालिका बैतडीका १० वटै स्थानीय तहमध्ये सबैभन्दा ठुलो २४५.४४ वर्ग किमी क्षेत्रमा फैलिएको छ । सातसय ५० मेघावाट क्षमताको जलाशययुक्त पश्चिमसेती जलविद्युत आयोजना सिगास गाउँपालिकामै रहेको छ । नेपाल सरकारले संरक्षित वनका रूपमा घोषणा गरेको सिगास संरक्षित वन पनि यही गाउँपालिकामा रहेको छ । 

सिगास संरक्षित वनमा क्यान्सर रोग निको पार्ने लौठसल्ला र ६५ भन्दा बढी बहुमूल्य जडीबुटी रहेको डिभिजन वन कार्यालय बैतडीको तथ्याङ्क छ । सिगास गाउँपालिका प्राकृतिक सम्पदाले भरिभराउ भए पनि स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारले नदी तर्ने पुल, राम्रो हिँड्ने बाटो, बिजुली बत्ती र स्वास्थ्य संस्थामा गुणस्तरीय सेवा उपलब्ध गराउन सकेको छैन । 

न्वाघरी गाडामा पुल निर्माण गर्न स्थानीय सरकारको अगुवाइमा सङ्घ प्रदेश सरकारले सर्वेक्षण गरेको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो । स्थानीयको माग माथिल्लो सरकारले सुनिदिनु पर्ने उहाँले बताउनुभयो ।