• १९ असार २०८१, बुधबार

व्यक्तिगत घटना दर्ता घरबाटै

blog

सुलीकोट समाचारदाता 

सुलीकोट, भदौ २० गते  । गोरखाको भीमसेन थापा गाउँपालिकाले नागरिकका व्यक्तिगत घटना दर्ता घरैबाट गर्न सक्ने गरी व्यवस्था मिलाएको छ । गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०-८१ देखि गाउँपालिकाभित्रका सबै नागरिकले घरमै बसेर अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता गर्न सक्ने व्यवस्था गरेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “जन्म, मृत्यु, बसाइँसराइ, विवाह, सम्बन्धविच्छेदका घटना अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था रहँदै आएको छ । यसका लागि वडा कार्यालयमा धाउनुपर्ने बाध्यता थियो, त्यसलाई अन्त्य गर्न गाउँपालिकाले अनलाइनमार्फत नै घटना दर्ता गर्न सक्ने व्यवस्था मिलाएको हो ।” घटना दर्ताका लागि अनलाइन फाराम भर्न सकिने छ । भौगोलिक हिसाबले जटिल रहेको भीमसेन थापा गाउँपालिकाभित्रका केही वडा कार्यालयसम्म पुग्न पनि घण्टौँ हिँड्नुपर्ने अवस्था रहेकाले नागरिकलाई घर घरमा सेवा पु-याउन घटना दर्ता अनलाइन माध्यमबाट गर्न सुरु गरिएको हो । 

बसाइँसराइ नभएका तर गाउँ छोडेर अन्यत्र बसोबास गर्दै आएका नागरिकका लागि पनि यसले घटना दर्ता सहज हुने उहाँले बताउनुभयो । अध्यक्ष बन्जराले भन्नुभयो, “घटना दर्ताको लागि फाराम भर्न वडा कार्यालयसम्म धाउनुपर्ने बाध्यता रहँदै आएको थियो । अबदेखि घरमा बसेर आफ्नो मोबाइलबाट घटना दर्ताको फाराम भरेर सेवा लिन पाउने छन् ।”