• २३ असार २०८१, आइतबार

उज्यालो पोखरा बनाउन दुई हजार स्मार्ट बत्ती जडान

blog

लेखनाथ समाचारदाता 

लेखनाथ, भदौ २० गते  । पर्यटकीय नगर पोखराका मुख्य सडकलाई उज्यालो बनाउन दुई हजारभन्दा बढी बत्ती जडान गरिएको छ । महानगरका २३ मुख्य चोकमा एक/एक हाइमस्ट लाइट जडान गरिएको हो । 

सभागृह चोकदेखि चिप्लेढुङ्गा, पुरानो एयरपोर्टदेखि छोरेपाटनको आरटिओ रोडमा स्मार्ट सडक बत्ती राखिएका छन् । महानगरको उज्यालो पोखरा अन्तर्गत नेपाल विद्युत् प्राधिकरण र महानगरको आधा आधा साझेदारीमा हाइमस्ट र स्मार्ट सडक बत्ती राखिएका हुन् । आइतबार आयोजित कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभयो । 

प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले देशका मुख्य मुख्य सहरमा यो अभियान चलाएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले पनि केही प्राविधिक समस्या त हुन सक्छन्, देशैभरि विद्युत् पु-याउन लागिपरेका छौँ । चाँडै गण्डकी प्रदेशलाई उज्यालो प्रदेश घोषणा गर्दै छौँ ।” पोखरा महानगरका प्रमुख आचार्यले राति हुने दुर्घटना, चोरीलाई नियन्त्रण गर्न र पर्यटकीय सहरलाई जीवन्त बनाउन यो अभियान चलाइएको बताउनुभयो । 

सडक र चोकमा राखिएका यी बत्तीमा खराबी आएको पाँच वर्षसम्म निर्माण कम्पनीले सित्तैमा बनाउने सर्त छ । यी बत्तीमा उठ्ने शुल्क पोखरा महानगरले तिर्नु पर्छ । महानगरका इन्जिनियर ध्रुव भट्टराईले भन्नुभयो, “हरेक बत्तीमा मिटर राखिएको छ, त्यही अनुसार तिर्ने हो ।” नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय सडक बत्ती प्रवर्धन आयोजनाले कार्यान्वयन गरेको यो योजनाको लागत १४ करोड ६५ हजार ९१ रुपियाँ छ । टपसन इनर्जी प्रालिले पोखराको सडकमा बत्ती राखेको हो । 

सडक बत्ती ९० वाट र १२० वाट गरी दुई प्रकारका छन् भने हाइमस्ट लाइटको क्षमता एक हजार छ सय वाट छ । १६ मिटर अग्ला हाइमस्ट लाइट र अरू स्मार्ट सडक बत्तीका कारण पोखराका मुख्य सडक राति झिलीमिली देखिएका छन् । पोखरा महानगरले न्युरोडमा एक करोड खर्चेर डिभाइडर बनाएको छ भने यो डिभाइडरमा ६१ पोल राखिएका छन् । हरेक पोलमा दुई वटा गरी १२२ स्मार्ट बत्ती राखिएको छ । दुवै खालका बत्तीको नियन्त्रण र सञ्चालन प्राधिकरणले नै गरिरहेको छ । चाँडै पोखरा महानगरका कर्मचारीलाई तालिम दिएर सञ्चालनको जिम्मेवारी दिने प्राधिकरणको तयारी छ ।