काठमाडौं, भदौ १९ गते। सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले भ्रष्टाचारमा संलग्न कसैलाई पनि छोड्न नहुने बताउनुभएको छ।
उपमहासचिव पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आफूले पार्टी भित्रकै नेता भए पनि भ्रष्टाचारमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन बारम्बार दबाब दिने गरेको बताउनुभयो।
पार्टी निकट श्रमिक संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले भ्रष्टाचार नियन्त्रण गर्ने नाममा राज्य शक्तिको दुरुपयोग नगर्न पनि सरकारलाई सचेत गराउनुभयो।
निर्दोष कोही पनि नपरुन्, दोषी कोही पनि नउम्किने गरी सरकारले सुशासनको क्षेत्रमा काम गर्नुपर्ने उपमहासचिव पुनको भनाइ थियो। उपमहासचिव पुनले कुनै पनि नागरिकको सामाजिक छवि नै सिद्धिने गरी आरोपित गर्ने काम नगर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो।
पूर्व अर्थमन्त्रीसमेत रहनुभएका पुनले मुलुकमा आर्थिक गतिविधि बढाउन पनि वैदेशिक ऋण भित्र्याउनुपर्ने बाध्यात्मक अवस्था रहेको स्मरण गराउनुभयो।