बोमलाल गिरी
नवलपुर, भदौ १९ गते । नारायणघाट–बुटवल सडक खण्डको नवलपुरमा गाडी स्क्यान गर्ने अत्याधुनिक मेशिन जडान गरिने भएको छ । दुर्घटना कम गराउनका लागि नवलपुर जिल्लाका तीन ठाउँमा गाडी स्क्यान गर्ने अत्याधुनिक मेसिन जडान गर्ने सहमति भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी प्रमुख तिवारीका अनुसार गैँडाकोट, दाउन्ने र जिल्ला प्रहरी कार्यालयमा गाडी स्क्यान गर्ने अत्याधुनिक मेशिन, चेकपोष्ट र सिसी टिभी जडान गरिदिने भएको हो । जिल्ला प्रहरी कार्यालयले नेपाल सरकारलाई आग्रह गरेको र गृहमन्त्री नारायणकाजी श्रेष्ठ यसअघि भौतिक पूर्वाधार मन्त्री भएको बेलामा सडक आयोजनासँगको परामर्शमा आयोजनाले नै यी उपकरणहरू राखिदिन सहमति जनाएको हो ।
गाडी स्क्यान गर्ने मेसिन, चेकपोष्ट र सिसीटिभीका लागि झण्डै छ करोड रुपियाँ लाग्ने बताइएको छ । यो रकम एसियाली विकास बैङ्क एडिबीले व्यहोर्ने छ । सडक निर्माणको कामले पूर्णता पाएसँगै यो काम पनि सम्पन्न हुने तिवारीले बताउनुभयो । अहिले नारायणघाट–बुटवल सडक खण्डको ४० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।