• २७ वैशाख २०८१, बिहिबार

लागू भएन स्थानीय पाठ्यक्रम

blog

प्रेमराज सिम्खडा

कालीकोट भदौ १८ गते । कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेर लागू गर्ने भन्दै नगरसभाबाट बजेट विनियोजन गरिएपनि अझै त्यो पाठ्यक्रम लागू हुन सकेको छैन । नगरपालिकाले शिक्षामा केही परिवर्तन गर्ने भन्दै आर्थिक वर्ष २०७९-२०८० मा १५ लाख बजेट विनियोज गर्‍याे । 

स्थानीय पाठ्यक्रम निर्माण गर्ने भन्दै विषय विज्ञका रुपमा मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापकसमेत बोलायो । नगरपालिकामा दुई पटक गोष्ठी पनि गरियो । विनियोजित बजेट पनि सकियो । तर पाठ्यक्रम अझै पनि प्रयोगमा आउन सकेको छैन । शिक्षा शाखा प्रमुख खेमराज शाहीले पाठ्यक्रम तयार भएको तर प्रबाेधीकरण गर्न बाँकी रहेकाले लागू नभएको दाबी गरिरहनुभएको छ । 

नयाँ शैक्षिक सत्र सुरु भएको पाँच महिना बितिसक्दा पनि स्थानीय सरकारले निर्माण गरेको भनिएको पाठ्यक्रम प्रयोगमा नआएपछि नागरिक स्तरबाट विरोध हुन थालेको छ । रास्कोट नगरपालिका वडा नं ६ का महेश फर्सालले जनताले तिरेको करबाट जम्मा भएको बजेट खर्च गर्ने तर पाठ्यक्रम तयार नगर्नु नगरपालिकाको कमजाेरी भएको बताउनुभयो। उहाँले विषय विज्ञका रुपमा पनि आफ्नो विचार मिल्ने, सङ्गठनमा आबद्ध भएकाहरुलाई ल्याएर नगरपालिका प्रमुख धर्मराज शाही पार्टीको घेराभन्दा माथि उठ्न नसकेको आरोप लगाउनुभयो । 

रास्कोट नगरपालिकाले गतवर्ष मङ्सिर १४ गते नगरपालिकामा गुणस्तरीय शिक्षाका लागि स्थानीय पाठ्यक्रमसम्बन्धी अन्तरक्रिया राखेको थियो । उक्त अन्तरक्रियामा नेकपा माओवादी निकट प्राध्यापकहरुको सङ्गठनमा आबद्ध लक्ष्मणसिंह लगायतका विषय विज्ञलाई ल्याएका थिए । शिक्षासम्बन्धी राम्रो दखल राख्ने अरु प्राध्यापक भए पनि नगरप्रमुख शाहीले आफ्नो विचार मिल्नेहरुलाई मात्र भेला पार्दा नागरिक सशङ्कित भइरहेका छन् । 

गतवर्ष बजेट खर्च भए पनि पाठ्यक्रम अहिलेसम्म प्रयोगमा आएको छैन । नगरपालिका लेखा सहायक वीरबहादुर रावतले गत आर्थिक वर्षमा पनि बजेट विनियोजन गरेको र यो वर्ष पनि बजेट छुट्टाइएको बताउनुभयो । बजेट खर्च पनि भएको छ । पाठ्यक्रम तयार भए नभएको शिक्षा शाखालाई जानकारी हुने बताउनुभयो ।