• १५ वैशाख २०८१, शनिबार

ताप्लेजुङ गोल्ड कपमा सेमिफाइनलका खेल आजदेखि

blog

आइतबार भएको बिर्तामोडको रेड स्टार र दार्जिलिङको युनाइटेड खर्साङबीचको खेल । तस्बिर: चन्द्र पन्दाक ।

ताप्लेजुङ, भदौ १८ गते । ताप्लेजुङ गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताअन्तर्गत सोमबार आजदेखि सेमिफाइनल चरणका खेल सुरु हुँदैछ । गत बिहीबारदेखि जारी प्रतियोगिताको क्वार्टर फाइनल चरणका खेलहरू सम्पन्न भएसँगै सेमिफाइनलका खेलहरू हुने भएको हो ।

क्वार्टर फाइनल खेलअन्तर्गत आइतबार भएको अन्तिम खेलमा भारत, दार्जिलिङको युनाइटेड खर्साङ फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै झापा बिर्तामोडको रेड स्टार फुटबल क्लब सेमिफाइनलमा पुगेको छ । यसअघि स्थानीय आयोजक टोली माना भरा रिपोर्टिङ क्लबलाई ट्राई बेकरमा ५–४ गोलले पराजित गर्दै जुट विकास फुटबल एकेडेमी सुनसरीको इटहरी सेमिफाइनलमा पुगेको छ ।

यस्तै इलामको रेड हर्स फुटबल क्लब झापा दमकको गोर्खा रिपोर्टिङ क्लबलाई २–० गोलले पराजित गर्दै सेमिफाइनल पुगेको छ । सेमिफाइनल पुग्ने अर्को टोली मोरङको पथरी–११ छ । पथरी–११ ले पाँचथर रिपोर्टिङ क्लबलाई २–० गोल गरी पराजित गरेको थियो ।

सोमबारको सेमिफाइनल खेल जुट विकास फुटबल एकेडेमी इटहरी र पथरी–११ मोरङबिच हुनेछ । सेमिफाइनलको दोस्रो खेलमा मङ्गलबार रेड हर्ष फुटबल क्लब इलाम र रेड स्टार फुटबल क्लब भिड्नेछन् । सेमिफाइनलका विजेता बुधवार फाइनलमा अर्थात् उपाधिका लागि खेल्नेछन् । 

लाखे जात्रा सञ्चालन समितिद्वारा आयोजित प्रतियोगिताका विजेताले तीन लाख ११ हजार १११ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले एक लाख ११ हजार १११ रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने समिति अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो ।

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।