• ३१ वैशाख २०८१, सोमबार

परिणाममुखी काम गर्न मन्त्री बस्नेतको निर्देशन

blog

कार्यालय प्रमुखहरुको वैठकमा निर्देशन दिनुहुदै मन्त्री बस्नेत । तस्विर : सहदेव बस्नेत

सहदेव बस्नेत

जाजरकोट, भदौ १७ गते । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले कर्मचारीलाई बजेटको प्रभावकारी कार्यान्वयनको लागि प्रतिबद्ध भई कार्य सम्पादन गर्न निर्देशन दिनुभएको छ ।  

पार्टीको तीन महिने अभियानको क्रममा गृहजिल्ला जाजरकोट पुग्नुभएका मन्त्री बस्नेतले जिल्ला प्रशासन कार्यालय जाजरकोटमा आयोजना भएको कार्यालय प्रमुखसँगको बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो ।  

जाजरकोटमा भौतिक पूर्वाधार विकासको जग बसिसकेकाले अव जनताको आर्थिक, सामाजिक विकासमा गम्भीर भएर लाग्न निर्देशन दिनुभयो । बजेटको सीमितता हुनेभएकाले योजना छनौटको क्रममा आधारित काम गर्न आग्रह गर्नुभयो । 

हरेक कार्यालयले भौतिक विकासमा मात्र केन्द्रित नभई आफ्नो कार्यालयको ठोस क्षेत्रमा केन्द्रित भएर कार्यक्रम बनाउन समेत उहाँले अनुरोध गर्नुभयो । कार्यक्रममा कार्यालय प्रमुखले कार्यालयमा कर्मचारी अभावमा काम गर्न बाधा भएको लामो समयसम्म निमित्तको भरमा काम गर्नुपर्दा भनेजस्तो उपलब्धि ल्याउन नसकिएको बताउनुभयो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले शान्ति सुरक्षा र सेवा प्रवाहमा प्रभावकारिता ल्याउनु आफ्नो प्रमुख कार्य भएकाले सोहीअनुरूप लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

त्यस्तै, आज बिहान प्रेस सेन्टर नेपाल जाजरकोटले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री बस्नेतले जाजरकोटमा हाल ८५ प्रतिशत घरधुरीमा पुगेको यसलाई दुई वर्षभित्रमा सय प्रतिशतमा पुगाउने बताउनुभयो ।  

त्यस्तै, दुई वर्ष जिल्लाको सबै सिँचाइयोग्य जमिनमा सिँचाइयोग्य बनाउने उहाँले प्रतिबद्धता जनाउनुभयो । साथै, विद्युतीकरणका लागि भर्खरै तीन अर्बको ठेक्का लागेकाले तीन वर्षभित्र जिल्लाका सबै घरधुरीमा विद्युत पुग्ने उहाँले बताउनुभयो ।