पुष्कर भण्डारी
बडीमालिका, भदौ १७ गते । भगवान् महादेवले आगोमा जलिरहेकी सतीदेवीलाई काँधमा बोकेर ब्रह्माण्ड परिक्रममा गरिरहँदा सतीदेवीको देब्रे कुहिनो खसेको विश्वास गरिएको बडीमालिकालाई अद्भूत शक्तिपीठका रूपमा लिइने गरिएको छ । बडीमालिका हिन्दु धर्मावलम्बीहरूका लागि मात्र नभई यसको अवलोक गर्न आउनेहरूका लागि महìवपूर्ण रहेको छ । धार्मिक आस्था मात्रै नभई प्राकृतिक सुन्दरताले भरिपूर्ण बढिमालिकालाई स्वर्ग जस्तै अद्भुत उपहारका रूपमा लिने गरिन्छ ।
चार हजार दुई सय मिटर उचाइमा मन्दिर रहेको छ । उच्च चुचुरोमा रहेको मन्दिर पुग्दासम्म बाटोमा पर्ने विशाल फाँटहरू, आँखालेसमेत नियाल्न नसकिने अचम्मको खेतवेती फाँट र सौन्दर्य अद्भूत लाग्ने गरेको छ । मानौँ कुनै कलाकारले कल्पना गरेर चित्र कोरे जस्तै मनोरम तथा विशाल फाँटहरू नियाल्दा यहाँ पुग्ने जो कोहीलाई भगवान् पनि छन् र भन्ने कुरालाई पुष्टि गरिदिएको जस्तो लाग्ने गरेको छ । शब्दले नै सुन्दरताको व्याख्या गर्न नसकिने बडीमालिकाको मन्दीर नै आफैँमा अद्भुत शक्तिका रूपमा देखिने गरेको छ ।
यहाँ पुग्नेहरूले बडीमालिकालाई भूस्वर्ग अर्थात् धर्तीको स्वर्गका रूपमा चर्चा गर्ने गरेका छन् । वारी दह, सोता दह, घोडे दह र भित्तोचिन्नेदेखि माथि कुनै वृक्षहरू छैनन् । टुन्ड्र वनस्पति, बुट्यान फूल फूलहरूले दह अर्थात् पाटन र अग्ला गोलाकार डाँडाहरू मनमोहक देखिन्छन् ।
२२ वटाभन्दा बढी पाटन रहेका छन् । विडम्बना बडीमालिका क्षेत्र पुग्न, बस्न र फर्किन भने त्यति सजिलो छैन । सामाजिक सञ्जाल युट्युब, फेसबुक, टिकटक, इन्स्टाग्राम, ट्विटरका भित्ताहरू बडीमालिकाका सुन्दर तस्बिर र भिडियोले रङ्गिए पनि त्यहाँ पुग्नु पर्दाको कठिन थात्रा आफँैमा रोचक र रमाइलो हुन्छ । सामाजिक सञ्जालमा आएका तस्बिर र भिडियो हेरेर बडीमालिका पुग्नेको घुइँचो नै लाग्ने गरेको छ । धार्मिक आस्था बोकेर जानेहरू भन्दा सुन्दरता हेर्न र रमाउन जानेको घुइँचो देखियो । जीवनमा एक पटक बडीमालिका पुग्नै पर्छ भन्नेहरूको जमात बढ्दै गएको देखिन्छ ।
त्रिवेणी पाटन क्षेत्रसम्म नपुग्दा हिँड्नुपर्ने ठाडो उकालो र भिरको बाटोमा लामो श्वास फेर्न मिल्ने अवस्था नै हुन्न । बाजुरा सदरमुकाम मार्तडीबाट करिब दुई दिनको पैदल यात्रापछि मात्रै त्रिवेणी पाटन क्षेत्र पुगिन्छ । करिब ३२ किलोमिटर बढी उकालो बाटोमा मेलाको समयमा भने करिब छ स्थानमा खाना, नास्ता पाउन सकिन्छ । अन्य समयमा भने आफैँले खाना र खाजाको व्यवस्था पनि गर्नुपर्ने हुन्छ । प्रकृतिको आनन्दले त्रिवेणी पाटनमा केही समय वा घण्टा दुःख बिसिन्छ ।
त्रिवेणीबाट उकालो चढ्दा, पालमुनि रात काट्दा, हेरी नसक्नु चट्टानदार ओरालोको यात्रा गर्दा फेरि कष्टले थप दुखित तुल्याउँछ । बडीमालिकामा भदौ शुक्ल पूर्णिमाको अघिल्लो दिन अर्थात् चतुर्दशीका दिन पूजाआजासहित भव्य मेला लाग्छ ।
बडीमालिकाको पूजाआजा सकेर नाटेश्वरी मन्दिरमा जनै पूर्णिमाका दिन जनै र रक्षा धारणा गरेर कालिका मातालाई बोकाको बली दिएपछि मेला सकिने गरेको स्थानीय पूजारी नेत्रराज उपाध्यायले बताउनुभयो । श्री साखे संवत् १३४३ र १३४८ मा बडीमालिका मन्दिरको मत्गल्य गोत्रका ब्राह्मण बडीमालिकाका मूल पूजारी हुने भन्ने प्रमाण छ । यो मिति हेर्दा पनि बडीमालिका क्षेत्रमा परापूर्वकालदेखि नै पूजापाठ हुँदै आएको भन्ने पुष्टि हुन्छ ।
विसं १८८३ मा राजा रणबहादुर शाहद्वारा लालमोहर लगाएरै बडीमालिकालाई राष्ट्रिय धार्मिक आस्थाको क्षेत्रका रूपमा प्रमाणित गरेको प्रमाण पुजारी परिवारसँग छ । पुर्खाको अर्तीलाई विश्वास मान्ने हो भने लालमोहर लगाइसकेपछि राजा रणबहादुर शाह स्वयंले बडीमालिकाको दर्शन गरेको इतिहास पुजारी उपाध्यायले बताउनुभयो ।
राजा महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्रदेखि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलेसमेत बडीमालिकाको पूजापाठ गर्नुभएको छ । पुजारी उपाध्यायका अनुसार, अमरसिंह थापा र भीमसेन थापालेसमेत बडीमालिकाको दर्शन गरेको किंवदन्ती भेटिन्छ ।
सुन्दरताको स्वर्ग बडीमालिका संरचना, सुविधा र असहजताले कठिनपूर्ण यात्राको गन्तव्य बनेको छ । बाटोको असहजता, बसाइको व्यवस्थापन नहुनु र राज्यको बेवास्ताका कारण ओझेलमा परेको छ । १३ गतेबाट सुरु भएको बडीमालिका मेलामा यस पटक दुई जनाले ज्यान गुमाउनु परेको छ ।
एक जनाको लेक लागेर अर्को एक जनाको भिरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । डोटी (जिल्ला–केन्द्र) गौँडाबाट गोर्खाली र जुम्लाबाट चन्द्रनाथको पल्टन बडीमालिका आउने गरेको छ । बडीमालिकामा चढाइने सुन, चाँदीसहितका गहना र रकमको हिसाब नै नराखिएको सर्वसाधारणको आरोप छ । पाँच महिना हिउँ र चार महिना कुहिरोले ढाक्ने बडीमालिका मन्दिर अछाम, बझाङ, डडेलधुरा र डोटी तथा कर्णाली प्रदेशका कालीकोट, मुगु र जुम्लाबाट नियाल्न सकिन्छ ।
वैशाख महिनादेखि भदौसम्म स्थानीय भेडो च्याङ्ग्रा, घोडा खच्चड र भैँसीहरूलाई चरिचरनका लागि बडीमालिका क्षेत्र उपयोग गरिँदै आएको छ । यहाँ २२ वटा हरियाली फाँट, दुई सय प्रजातिका रङ्गीचङ्गी फूल, एक सय बढी जातिका बहुमूल्य जडीबुटी, आश्चर्यजनक पौराणिक स्थलहरू, हरिया फाँटको बिचबाट बग्ने आकर्षक खोला त्रिवेणी क्षेत्र रहेका छन् ।
पौराणिक समयमा राक्षस र भगवती माइबिच लडाइँ हुँदा बगेको रगतको अवशेष र राक्षसहरूलाई भगाएको स्थान सुरक्षित रहेको छ । उक्त दृश्य नियाल्दा लाग्छ, सत्य युगमा भगवान् पक्कै थिए । खेतीवेती भन्ने स्थानमा धान रोप्नका लागि बनाएका गरा, धानको बिउ, खेत जस्ताको तस्तै देखिने आश्चर्यजनक दृष्यले दर्शनार्थीको मन लोभ्याउने गरेको छ ।
निसन्तानीलाई सन्तान, गरिबलाई धन, जस्तै मागेको वर पाइन्छ भन्ने धार्मिक विश्वास रहेको छ । सोही आकाङ्क्षा पूरा गर्न यो वर्ष करिब ५० हजार दर्शनी बडीमालिका पुगेको अनुमान गरिएको छ ।