राज्य सञ्चालनका विविध आयामलाई व्यवस्थित रूपमा सम्बोधन गर्न निर्धारण गरिएका व्रिmयाकलाप सम्पन्न गर्ने संयन्त्र कर्मचारीतन्त्र हो । कर्मचारीतन्त्रका विविध आयामभित्र रहने निजामती कर्मचारीको कार्यप्रकृति एवं सेवा प्रवाहमा रहने विविधताका कारण निजामती सेवाले मुलुकको सेवा प्रवाहका बृहत्तर क्षेत्र समेट्ने गर्दछ । यसको कार्यसम्पादनमा देखिने उतारचढावले समग्र सरकारको समेत प्रतिनिधित्व गर्दछ । स्थायी सरकार भनिने निजामती सेवामा रहेका जनशक्ति प्रक्षेपण र प्राप्ति एवं परिचालन चुनौतीपूर्ण बन्दै गएको अवस्थामा सेवामा रहेका कर्मचारीलाई टिकाइराख्न चालिएका कदम एवं कानुनी प्रबन्धहरूमा पुनर्विचार गर्नुपर्ने आवाज उठ्न थालेको पाइन्छ ।
राज्यको सेवा वितरण एवं दैनिक कार्यसञ्चालनका लागि अत्यावश्यक अवयव सार्वजनिक प्रशासन हो । सार्वजनिक प्रशासनभित्रको एक सबल तìव निजामती सेवालाई गतिशील बनाई राज्यका उपलब्ध स्रोत एवं साधनको प्रभावकारी र समुचित वितरणलाई संस्थागत गरिनु जरुरी हुन्छ । निजामती सेवामा प्रवेशका बिन्दुहरू पहिल्याई निर्धारित सर्तमा प्रवेश गरेका कर्मचारीको मूल उद्देश्य राष्ट्र सेवा हो । राष्ट्र सेवाका दौरान निर्धारित सेवाको प्रत्याभूति र सुविधाको प्राप्ति नै निजामती सेवा प्रवेश र निरन्तरताको मियो हो । सार्वजनिक जीवनका आवश्यक सबै क्षेत्रको महìव समसामयिक रूपमा तल माथि हुन सक्छ । सबै क्षेत्रको संयोजनकारी माला नै सार्वजनिक जीवन हो ।
सार्वजनिक क्षेत्रमा समर्पित हुने जनशक्तिहरू जब सेवामा प्रवेश गर्दछन्, त्यहाँ उपलब्ध न्यूनतम सेवासुविधाका अतिरिक्त सुविधामा हुने विभेदीकरण, असमानता आदिका कारण अमूक निकाय क्षेत्रलाई उच्च स्थानमा राखी मूल्याङ्कन गर्ने, उक्त स्थान प्राप्तिको पहल गर्ने, वैध रूपमा आर्थिक पाटाहरू सबल बनाएको प्रदर्शन गर्ने आदि कारण स्थिर भइरहेका कर्मचारीको समेत सलबलाहट सुरु हुने प्रवृत्ति देखिन्छ । वृत्तिका खातिर निजामती सेवामा प्रवेश गर्ने कर्मचारीको दरबन्दीमा महिला कर्मचारीको सहभागिता उल्लेख्य मात्रामा बढेको देखिन्छ । २०७९ फागुनसम्मको तथ्याङ्कका आधारमा आर्थिक सर्वेक्षण २०७९÷८० मा उल्लेख भए अनुसार हाल निजामती सेवातर्फ सङ्घीय दरबन्दी कुल ५३ हजार ३९७ रहेकोमा प्राविधिकतर्फ ३७.१ प्रतिशत र अप्राविधिकतर्फ ६२.९ प्रतिशत रहेको छ । २०६५ असारसम्म निजामती सेवामा महिला कर्मचारीको सङ्ख्या १२ प्रतिशत रहेकोमा २०७९ फागुनसम्म २७.७ प्रतिशत पुगेको छ ।
गुणस्तरीय जनशक्तिलाई मुलुकमा टिकाइराख्न खडा भएका चुनौतीका पहाडबिच पारदर्शी रूपमा प्रतिस्पर्धाबाट शिखर चुम्ने निजामती कर्मचारी समाजमा समेत आदर्श बन्नु एक अवसर हो भने छनोटका समयमा देखाउने कौशल, ज्ञान, सिपलाई कार्य तहमा उचित प्रयोग गरी सेवालाई प्रभावकारी बनाउनु चुनौतीका रूपमा लिइन्छ ।
निजामती कर्मचारीलाई कार्यमा खटिने निश्चित समयका अतिरिक्त बिदा, भत्ता, सुविधा, सेवाको सुरक्षा जस्ता विविध कारण हालसम्म निजामती सेवा आकर्षणको केन्द्रका रूपमा रहिआएको छ । नेपाल सरकारबाट जारी निजामती कर्मचारीको सामूहिक दुर्घटना बिमा कार्यव्रmम सञ्चालन कार्यविधि, २०७९ निजामती कर्मचारीलाई थप उत्प्रेरित बन्ने माध्यम बन्न सक्छ ।
देशको प्रशासन सञ्चालन गर्ने उद्देश्यले गठित निजामती सेवालाई अन्य सरकारी सेवाहरूसंँगै अगाडि बढाउनु पनि चुनौतीपूर्ण छ । अनुशासन र विकासका अन्य आयामहरू आत्मसात् गर्ने सरकारी सेवासँंग निजामती सेवाको परिपूरकताको सम्बन्ध विकास हुन सके राष्ट्र सेवाको बृहत्तर उद्देश्य हासिल हुन सक्छ । निजामती कर्मचारीलाई भइपरि बिदा, पर्व बिदा, घर बिदा, बिरामी बिदा, प्रसूति बिदा, प्रसूति स्याहार बिदा, अध्ययन बिदा, असाधारण बिदाहरूको व्यवस्था निजामती सेवा ऐन, २०४९ ले गरेको पाइन्छ । निजामती कर्मचारीलाई अस्पतालको सुविधा, स्वास्थ्य बिमा, सञ्चयकोष सुविधा, कार्यसम्पादन दौरान दुर्घटना भएमा प्राप्त हुने सुविधा, सन्तति वृत्ति, निजामती कर्मचारीलाई प्रदान गरिने छात्रवृत्ति, वैदेशिक भ्रमणको अवसर, निजामती सेवा दिवसका अवसरमा प्रदान गरिने निजामती सेवा पुरस्कारको व्यवस्थाले निजामती सेवामा रहेको आकर्षण अद्यापि कायम छ । वैदेशिक अध्ययन एवं वैदेशिक रोजगारीमा जाने ठुलो सङ्ख्याका नेपाली युवा जनशक्तिलाई नेपालमा टिकाइराख्नु चुनौतीपूर्ण बनेको वर्तमान अवस्थामा रोजगारी सिर्जनाको एक सशक्त माध्यम निजामती सेवा पनि भएको छ । लोक सेवा आयोगको परीक्षा प्रणालीबाट छनोट भई नियुक्त हुने निजामती कर्मचारीको कार्यसम्पादनले आमनागरिकमाझ राज्यको उपस्थितिलाई प्रतिविम्बित गर्ने भएकाले सेवासुविधा प्रवर्र्धन गरी निजामती कर्मचारीको मनोबल उँचो राख्न हुँदै आएका प्रयासलाई बढाइनु जरुरी छ । नियमित रूपमा प्रशिक्षण एवं अध्ययन, अवलोकनका माध्यमबाट चुस्त प्रशासन कायम रहे सरकारका नीतिगत प्रबन्धहरू वास्तवमा कार्यान्वयन तहमा सहजै जाने हुँदा निजामती सेवालाई व्यावसयिक रूपमा विकास गर्नेतर्फ सरोकारवाला सबैले सोच्नु आवश्यक छ ।
वैदेशिक अध्ययन भ्रमणमा एकै व्यक्ति समूहको निरन्तर पहुँच हुनु, सेवा समूहहरूबिच सेवासुविधामा भेद देखिनु, भौतिक स्रोतसाधनको पर्याप्तता र गुणस्तरमा विविधता कायमै रहनु जस्ता कारण अमूक सेवा समूहमा अलग्गै आकर्षणसमेत रहेको देखिन्छ । आफ्नो जीवनका ऊर्जाशील समय वृत्तिका लागि सुम्पिएका निजामती कर्मचारीले आफ्नो सम्भाव्य क्षमताको भरपूर उपयोग गर्ने नगरेको भन्ने आरोप चिर्न सबै कर्मचारीलाई थप उत्प्रेरित गरी सेवा प्रवाहमा समर्पणभाव जगाउनु चुनौतीपूर्ण छ । निजामती सेवाका कर्मचारी वृत्ति विकासभित्र व्यावसायिकता खोज्दै सक्षम प्रशासनको स्थापनाद्वारा सबल सेवा प्रवाह गर्नुपर्ने वर्तमानको थप जिम्मेवारी निर्वाह गर्न लाग्नु पर्दछ । उपलब्ध स्रोत र साधनको बुद्धिमत्तापूर्वक उपयोग गर्दै लक्ष्य प्राप्तिका लागि निर्धारित गतिविधि यथासमयमा प्रभावकारी रूपमा सम्पन्न गरिनु पर्दछ ।
निजामती पुरस्कारलाई आलोचनाको घेराबाट माथि उठाउन यसको वितरण प्रणाली प्रवृत्तिको समीक्षा हुनु पर्दछ । सिफारिसकर्ताका नजिकका व्यक्तिको भागबन्डा, पहुँच र निगाहबाट माथि उठी निजामती पुरस्कार प्राप्त गर्न अब्बल व्यक्तिको खोजी हुनु पर्दछ । आचरणमा भ्रष्ट कर्मचारी पुरस्कृत भएकै वर्ष भ्रष्टाचारका विवादमा संलग्न देखिनु समग्र निजामती प्रशासनकै लज्जाको विषय हो । जातीयता, क्षेत्रीयता, वर्ण, लिङ्ग, गैरव्यावसायिक सम्बन्ध जस्ता कारणबाट पुरस्कारलाई प्रभावित तुल्याइनु हुँदैन । सेवामा संलग्न व्यक्तिका नवीन अवधारणाको मूल्याङ्कन हुने गरेको सन्दर्भमा निजामती सेवामा समाहित सबै कर्मचारीले बिनाकुनै हस्तक्षेप आफ्नो अधिकार प्रयोग गर्न सक्ने वातावरण सिर्जना गरिनु पर्दछ । आफूले गर्न सक्ने निर्णय माथिल्लो तहका राजनीतिक व्यक्तित्व तहबाट अनुमोदन गराउँदा सुरक्षित भइन्छ भन्ने मानसिकताको चिरफार हुनु जरुरी छ । आफूलाई प्राप्त अधिकार प्रयोग गर्दा व्यावसायिक सुरक्षाको समेत प्रत्याभूति गरिनु पर्दछ । रिक्त पदहरूको यथासमयमा पदपूर्ति हुन सके सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सकिन्छ । निजामती सेवामा भएका आचरण र अनुशासनका प्रावधानको पूर्ण पालना हुन सके सक्षम र व्यावसायिक निजामती प्रशासनको स्थापना हुन सक्छ ।
निजामती सेवा दिवस–२०८० समेत व्यावसायिक र सृजनशील प्रशासन विकास, समृद्धि र सुशासन भन्ने नाराका साथ मनाइँदै छ । वास्तवमा निजामतीसमेतका सार्वजनिक सेवाहरू समयानुकूल र व्यावसायिक बन्न जरुरी छ । यसमा आबद्ध जनशक्तिहरूको वृत्ति विकास र आमसेवाग्राहीलाई प्रभावकारी सेवा प्रवाहका लागिसमेत जनशक्तिहरूमा व्यावसायिकताको विकास आवश्यक छ । सृजनशीलतालाई कार्यसम्पादनसँग आबद्ध गर्ने नीति निर्माणमा योगदान गर्ने अवस्थाबाट निजामती कर्मचारी पछाडि पर्नु हँुदैन । पवित्रताको जगेर्ना गर्दै निष्ठापूर्वक जनसेवामा लाग्नुपर्ने कर्तव्य भएका निजामती कर्मचारीको सक्षमताको उपयोग गर्दै मुलुकमा समृद्धि र सुशासन कायम गराउने विषय अगाडि आउनु स्वागतयोग्य विषय हो । परिवर्तनका हिमायती, पद्धतिका पहरेदार र परिष्कृत सेवाका वाहक निजामती कर्मचारीको सेवाप्रतिको निष्ठाबाट मुलुकमा सुशासन कायम हुने विश्वास लिन सकिन्छ । निजामती सेवालाई दक्षहरूले घेरिएको प्रभावकारिता कम देखाउने सङ्गठनका रूपमा कतिपय अवस्थामा चित्रित गरिँदै आइएको पाइन्छ । मनोबल उच्च बनाउने सबालमा भएका नीतिगत एवं कानुनी प्रबन्धहरूको प्रभावकारिताप्रति दृष्टि दिँदै कर्मचारीको उत्प्रेरणाको बिन्दु उच्च राख्न सक्नु जरुरी हुन्छ । सार्वजनिक सेवाबाट जनताको अपेक्षा धेरै हुनुलाई स्वाभाविक मान्नु पर्दछ । जनसेवाको अनिवार्य निर्विकल्प संस्थागत संरचना बनेको कर्मचारीतन्त्रको प्रभावकारिताले मुलुकको सक्षमताको स्तर मापनसमेत गर्ने हुँदा यसको सबलीकरण आवश्यक छ । कर्मचारी सेवामुखीभन्दा सुविधामुखी, नतिजामुखीभन्दा प्रव्रिmयामुखी, प्रवृत्तिमुखीभन्दा पात्रमुखी रहने गर्दछन् भन्ने कर्मचारीतन्त्रउपर सधैँ लागिरहने आक्षेप मत्थर बनाउन गर्नुपर्ने कार्यको यथासमयमा पहिचान गरी प्रभावकारी कदम चालिनु पर्दछ । निजामती कर्मचारीको राष्ट्रिय पर्वका रूपमा रहेको निजामती सेवा दिवसले कर्मचारीमा ऊर्जाको सञ्चार गरी सेवा सुदृढीकरणमा प्रतिबद्धता, अपेक्षित नतिजामा दृढता, कार्यसम्पादनमा तत्परता एवं उत्सुकता जगाउन सक्नु पर्दछ ।