• ३१ जेठ २०८२, शनिबार

हाते ट्याक्टर पाएपछि सुनवनस्थित दुर्गम क्षेत्रका स्थानीय खुशी

blog

कल्पना खरेल

सुनवल, जेठ ३० गते । नवलपरासी पश्चिमस्थित सुनवल नगरपालिका ११ का ६५ वर्षीया मानबहादुर पुलामी हाते ट्याक्टर पाएर मख्ख हुनुहुन्छ । उहाँलाई मेसिनरी औजारले पनि खेती गर्छन् भन्ने कुरा अहिलेसम्म थाहै थिएन । मानबहादुर भन्नुहुन्छ, “बजारतिर किनमेल गर्न झर्दा गाइँगुइँ सुन्ने गर्थे, अहिले प्रत्यक्ष देख्दा दङ्ग छु । पुलामीको सात पुस्ताले गोरुले जोतभोग गरी खेती गर्दै आएका थिए । 

उहाँमात्र होइन धुर्कोद फेदीका ५७ वर्षीया चेतबहादुर ठाडा मगर धान रोप्ने समयको मुखमा स्थानीय तहले हाते ट्याक्टर वितरण गर्दा निकै हर्षित हुनुहुन्छ । चेतबहादुर भन्नुहुन्छ “हल गोरु पाल, घामपानी नभनी घाँस खुवाउनुपर्ने, खेताला बढी लाग्दा खर्चिलो हुने निकै समस्या थियो । अहिले हाते टेक्टर पाउदा खर्चिलो कम हुने, उब्जाउ बढी हुन्छ कि भन्ने आश पलाएको छ ।" 

त्यसैगरी लामो समयदेखि बेमौसमी तरकारी खेती गर्दै आउनुभएका माथिल्लो धुर्कोटका ५५ वर्षीया हरिबहादुर बारघरेलाई हाते ट्याक्टरले सहज र सरल तरिकाले खेती गर्न पाउने  आशा पलाएको छ । उहाँले बाँझो जग्गामा पनि अब जोतभोग गरेर बेमौसमी तरकारी खेती गर्ने सोच बनाउनुभएको छ ।  हरिबहादुर भन्नुहुन्छ “ हाते ट्याक्टर पाउँदा मलाई काम गर्ने अझ उर्जा थपेको छ । अनुभव नयाँ छ, राम्रो भयो भने तरकारी खेतीलाई बढाउँछु, १–२ जनालाई रोजगार पनि दिन्छु ।”

सुनवल नगरपालिकाले अति विकट क्षेत्र मानिने वडा नम्बर ४ स्थित चार गाउँमा कृषि औजार अन्तर्गत हाते ट्याक्टर वितरण गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक स्वीकृत बजेट अन्तर्गत धुर्कोदफेदी, माथिल्लो धुर्कोट, बेहोरे र मिजा दमार गाउँमा करिब साढे ७ लाख बराबरको हाते ट्याक्टर वितरण गरिएको हो ।

सामूहिक भावनाको विकास गर्ने परिकल्पनासहित ८ जना बराबर १ हाते ट्याक्टर गरी  करिब ८० घरधुरीलाई समूहमा विभाजन गरेर १० वटा हाते ट्याक्टर वितरण गरिएको वडा नम्बर ११ का वडा अध्यक्ष कमलप्रसाद चुवाईले बताउनुभयो ।

अनुदानमा वितरण गरिएको हाते टेक्टरको पूर्ण स्वामित्व समूहको रहने हुदा त्यसको प्रयोगदेखि मर्मत सम्भारकाे जिम्मा समूहको रहनेछ । नगरप्रमुख विमला अर्यालले कृषिलाई प्राथमिकतामा राखेर  स्थानीयवासीको जिवनस्तरमा सुधार ल्याउन कृषियन्त्र वितरण गरिएको बताउनुभयो । उहाँले पाएको उपकरणलाई राम्रोसगँ सदुपयोग गर्न आग्रह गर्दै उत्पादनमा वृद्धि गर्न सुझाव दिनुभयो ।