चाँदनी आचार्य
घोडाघोडी (कैलाली), भदौ १६ गते । नेपालको पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा पाइने चराका बारेमा पुस्तक प्रकाशन भएको छ । लामो समय घोडाघोडी सिमसार क्षेत्रमा पाइने चराहरूको अध्ययन अनुसन्धान गरेका तीन जना चरा संरक्षणकर्मीले पुस्तक प्रकाशन गर्नुभएको हो ।
चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरी, पन्छी संरक्षण नेपालका फिल्ड मेनेजर हिरुलाल डंगौरा र संरक्षणकर्मी राजीव चौधरीले संयुक्त रूपमा “घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा पाइने चराहरू” नामक पुस्तक प्रकाशन गरेर घोडाघोडीमा पाइने चराहरूको जानकारी पुस्तकमार्फत दिनुभएको छ ।
सन् २००३ विश्व रामसार साइडमा सूचीकृत भई विश्व सिमसार क्षेत्रका रूपमा परिचित घोडाघोडी तालमा हरेक वर्ष दुई पटक चरा गणना हुँदैआएको छ । जङ्गली धान, हरिहाँस र मगरगोही सूचक प्रजातिको रूपमा रहेको घोडाघोडी सिमसार क्षेत्रमा हालसम्म पाइएका ३९० प्रजातिका चराहरूको बारेमा पुस्तकमा उल्लेख गरिएको पुस्तकका लेखक तथा चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरीले बताउनुभयो ।
विश्वमा लोप हुँदैगएका चरा घोडाघोडीमा पाइने गरेका छन् । केही वर्ष यता जनसङ्ख्या वृद्धिसँगै मानवीय गतिविधिका कारण पर्यावरणमा महत्त्वपूर्ण मानिएका चराहरू सङ्कटमा पर्न थालेसँगै संरक्षणका लागि सरकारले समेत चासो दिन थालेको छ । २०७८ मा प्रदेश सरकारले घोडाघोडीलाई नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरी योजना बनाएर काम गर्न थालेको छ ।
१५ औ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावतले पुस्तक विमोचन गर्नुभएको थियो । पुस्तकले चराहरूका बारेमा जान्न र घोडाघोडीलाई बुझ्न सहज हुने नगर प्रमुख रावतले बताउनुभयो ।
डिभिजन वन कार्यालय पहलमानपुर, चरा संरक्षण नेटवर्क र पन्क्षी संरक्षण नेपालको सहयोगमा पुस्तक प्रकाशन भएको जनाइएको छ ।