काठमाडौं, भदौ १६ गते । सभामुख देवराज घिमिरेले एमसिसी र बीआरआईबाट नेपालले देशको हीत हुनेगरी लाभ लिन सक्नुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
सभामुख घिमिरेले अमेरिकाको आर्थिक सहयोग परियोजना (एमसिसी) र चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’(बीआरआई) बाट देशको हीत हुनेगरी लाभ लिन सक्नुपर्ने बताउनुभयो । उहाँले सरकारले राष्ट्रियतालाई पहिलो प्राथमिकता दिँदै यी मुलुकबाट हुने फाइदा कसरी धेरै लिने ? भन्नेबारेमा गम्भीरतापूर्वक सोच्नुपर्ने बताउनुभयो । उहाँले एमसिसीको बारेमा धेरै चर्चाहरू चलिरहेको र बीआरआईको बारेमा पनि जनतालाई बुझाएर राष्ट्र र जनताको हितमा प्रयोग गर्न आग्रह गर्नुभयो ।
सभामुख घिमिरेले भौगोलिक विकटका बावजुत पनि उत्तरी नाकाबाट रेल सञ्चालन गर्न सकिने, चीनको मार्ग भएर देशका उत्पादन निर्यात गर्न सकिने बताउनुभयो । उहाँले नेपालले बाह्य ऋणबाट मुक्त गर्नुपर्ने जानकारी दिनुभयो । सभामुख घिमिरेले राजनीति बाटोबाट देशलाई सम्पन्न बनाउन सकिने भन्दै यसका लागि सबै राजनीतिक दलहरू मिल्नुपर्ने बताउनुभयो ।
‘‘आज विश्वका शक्ति राष्ट्रहरू युएसएले एमसिसी लगायतका कार्यक्रमहरू बिस्तार गरेर नेपाल जस्ता पछि परेका मुलुकहरूलाई सहयोग गर्ने कोसिस गरिरहेको छ । त्यसरी नै बिआरआई प्रोग्रामअन्तर्गत जनताको जीवनलाई सरल बनाउने र त्यस्ता मुलुकलाई सहयोग गर्ने ढङ्गबाट चीनले प्रोग्रामहरू लिएर आइरहेको छ ।,’’ सभामुख घिमिरेले भन्नुभयो, ‘‘नेपालले यी दुई वटै प्रोग्रामहरूबाट नेपाली जनताको हितमा कसरी जाने ? नेपाल राष्ट्रका राष्ट्रियतालाई पहिलो प्राथमिकता दिँदै यी मुलुकबाट हुने फाइदा कसरी लिनसक्छ ? यो एउटा प्रतिस्पर्धात्मक अवस्थामा हामीले गम्भीरताका साथ लिनुपर्ने बेला आएको छ । एमसिसीको बारेमा धेरै चर्चाहरू चलिरहेका छन्, बआिरआईको बारेमा त्यस हिसाबको चर्चा नचलेपनि हामीले बीआरआई प्रोग्रामलाई राष्ट्र र जनताको हितमा कसरी प्रयोग गर्ने यो एउटा सोच्नुपर्ने बेला आएको छ ।’’
सभामुख घिमिरेले दुई ठुला देशबाट नेपालले फाइदा उठाएर अघि बढ्न जरुरी रहेको बताउनुभयो । उहाँले पञ्चायती व्यवस्थालाई अन्त्य गरी अहिलेको लोकतान्त्रिक, सङ्घीय समावेशी संविधान ल्याएको र संविधानले परिकल्पना गरेको समाजवादी आधार निर्माण गर्ने उद्देश्यका साथ काम गरिरहेको बताउनुभयो । उहाँले उत्पादनमा वृद्धि गरी देशको अर्थ व्यवस्था उच्च बनाउनुपर्ने जिकिर गर्नुभयो ।