• ६ जेठ २०८१, आइतबार

मानिससँग रत्तिँदै ‘लियो बाबु’

blog

साउन सकिनै लागेको बेला लगातार तीन दिन झरी पर्‍यो । मसान्तको दिन पनि पानीले आँखा उघारेकै थिएन । मध्याह्न १२ बजेतिर ‘लियो बाबु’ स्याहार्दै हुनुहुन्थ्यो कल्पना नेपाली । लियो भने घरी दौडिँदै कुनामा पुग्थ्यो, घरी एकै सासमा छेउमा आइपुग्थ्यो । बच्चाले आमाको औँला चुसे झैँ कल्पनाको औँला लियोले चुस्थ्यो । कल्पनाका श्रीमान् प्रकाश नेपाली लियोको खाना लिएर आइपुग्नुभयो, खान पाएपछि लियो कुनातिर दौडियो ।

‘लियो बाबु’ आठमहिने चितुवा हो । यसलाई नवलपरासीबाट गत साउन १६ गते कास्कीको पचभैया प्राणी उद्यान केन्द्रमा ल्याइएको थियो । लियोलाई आफ्नै बच्चा जस्तै माया गर्नुहुन्छ कल्पना । लियो पनि कल्पनासँग रमाउँछ । “घाम लागेको दिन दिउँसो यसलाई बाहिर डुलाउने गरेकी छु । अहिले झरीले डुल्न नपाएर रिसाएको छ,” कल्पना भन्दै हुनुहुन्थ्यो, “मलाई सानैबाट जनावर मन पथ्र्याे, अहिले जनावर नै स्याहार्ने काम पाएकी छु । खुसी लागेको छ ।” 

अपरिचितको भिड देखेपछि लियो गर्जियो र घुरेर हेर्‍यो । अनि भित्तातिर फर्कियो । केही दिनको अन्तरालमा लियोलाई बाहिर निकालिन्छ । घाँटीमा साङ्लो लगाएर यसलाई कम्पाउन्डभित्र घुमाइन्छ । करिब आधा घण्टा घुमाएपछि लियो खुसी हुन्छ । कल्पनासँग खेल्छ, औँला चुस्छ, काखैमा आइपुग्छ । 

जब पिँजरामा राख्नुपर्ने बेला हुन्छ, लियोको विद्रोह सुरु हुन्छ । घाँटीको साङ्लो एक जनाले तान्ने र कल्पनाले फकाउँदै बोलाउने गरेपछि लियो पिँजरामा पुग्छ । बिहान उठेदेखि साँझसम्म पचभैया प्राणी उद्यान केन्द्रका जीव, जनावर स्याहार्दै उहाँहरूको दिन बित्छ । प्रकाश र कल्पनाले २०७२ माघ १२ गतेबाट यहाँ काम गर्न सुरु गर्नुभएको हो । 

लियोले दिनमा दुई पटक गरेर आधा किलो मासु खान्छ । यस केन्द्रमा अर्को वयष्क चितुवा पनि छ । त्यो पनि कल्पनासँग रत्तिन्छ । “एक्लै हुँदा कान्छी भनेर बोलाउँदा आउँछ । अरू मान्छे हुँदा छेवै पर्दैन,” उहाँले सुनाउनुभयो, “ज्ञानी बच्चा झैँ यताउति पल्टछ; केही बेरपछि फेरि पिँजरामै फर्कन्छ ।”

लियोलाई बिहान १२ बजे र साँझ ६ बजे गरी दुई पटक खाना दिइन्छ भने अर्को वयष्क चितुवाले दिउँसो एक पटक मात्र खान पाउँछ । यी जनावरको हेरचाहका लागि अहिले तीन जना कर्मचारी छन्, बेला बेलामा पशुचिकित्सक जाँच गर्न आउँछन् । प्रवेशद्वारमा टिकट काट्ने एक जना कर्मचारी पनि छन् । 

जनावरको हेरचाह गर्नु सजिलो काम भने होइन । एक महिनाअघि चित्तलले हानेर घाइते बनाएपछि कल्पना केही दिन थला पर्नु भयो । त्यसयता उहाँ चित्तलको छेउछाउ जानै डराउनु हुन्छ । चरा, जनावर, पन्छी अनुसारका खाना तयार पार्नु, उनीहरूलाई बेला बेलामा खान दिनु, पिँजरा सफा गर्नु उहाँहरूको दैनिकी हो । 

कसैले कतै घाइते, बिरामी जनावर भेट्टाए यहीँ ल्याइदिन्छन् । अनि उहाँहरू ती जनावरको सेवामा जुट्नुहुन्छ । जनावर निको भए उहाँहरूलाई सन्तोष लाग्छ । घाइते सबै जनावर बाँच्ने कुरा हुँदैन, केही मरेका पनि छन् । उहाँहरूलाई कुनै जनावर वा पन्छी मर्दा परिवारकै सदस्यको निधन भए जस्तो दुःख लाग्छ । 

यस केन्द्रलाई बृहत् चिडियाखाना बनाउने भनिए पनि त्यसले मूर्त रूप पाएको छैन । अहिले यहाँ बाघ, मृग, नील गाई, चित्तल, स्याल, वन बिरालो, नीर बिरालो, हुचिल, उल्लु, अजिङ्गर, मुजुर, गिद्ध, बाँदर, खरायो, कछुवा, चरीबाघ छन् । 

तीन सामुदायिक वनको १३५ हेक्टरमा फैलिएको यो प्राणी उद्यान केन्द्र अहिले प्रदेश सरकारको डिभिजन वन कार्यालय, कास्की मातहत छ । वन कार्यालय र तीन सामुदायिक वन उपभोक्ता समितिले मिलेर यहाँ काम गरिरहेका छन् । गण्डकीको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले यसलाई गौरवका योजनामा राखेको छ । 

डिभिजन वनले गत वर्ष केन्द्रको गुरुयोजना बनाएको थियो । गुरुयोजनामा ४६ करोड रुपियाँ खर्चेर पुतलीदेखि विभिन्न पशुपन्छीका बेग्लै ब्लक बनाउने उल्लेख छ । पोखरा आउने धेरै जसो पर्यटकको गन्तव्य बनाउने लक्ष्य राखिएको छ ।

बेगनास र रूपातालबिचको डाँडामा रहेको केन्द्र गण्डकीको पहिलो चिडियाखाना हो । केही वर्षअघि तनहुँको भानु गाउँपालिकामा पनि प्राणी उद्यान केन्द्र बनाउने प्रक्रिया सुरु भएको थियो ।

पर्यटकीय नगरी पोखरामा आगन्तुकलाई लोभ्याउने धेरै प्राकृतिक सम्पदा छन् । ती सम्पदाले मात्र पर्यटनका सबै पक्षलाई समेट्दैन । यसका लागि मानवनिर्मित केही सम्पदा चाहिन्छ । 

पोखरा महानगरले पोखरालाई ‘पर्यटनको राजधानी’ औपचारिक रूपमा घोषणा गर्ने पहल पनि गरिरहेको छ । पर्यटनको राजधानी होस्, एउटा चिडियाखाना नहोस्, अस्वाभाविक पनि हुन्छ । त्यसैले यो चिडियाखानाको सुरुवात भएको हो तर यो चिडियाखाना सामाजिक तवरबाट भएको थियो ।

युनाइटेड क्लब पोखराले बर्सेनि महोत्सव आयोजना गरी त्यसको २० प्रतिशत आय यसका लागि छुट्याउँदै आएको थियो । २०७२ सालपछि स्थानीयवासी र वन कार्यालयले स्वामित्व लिएर व्यवस्थित र योजनाबद्ध रूपमा काम हुँदै आएको छ । प्रवेश शुल्कबाट महिनामा सात/आठ हजार रुपियाँ आम्दानी हुने गरेको छ । प्रवेशका लागि विद्यार्थीलाई १५ र अन्यलाई २५ रुपियाँ लिने गरिएको छ । 

सात तालको बगैँचा सहर लेखनाथमा खुला चिडियाखानाको अवधारणामा यसको स्थापना भएको हो । पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनका भूभाग यस केन्द्रमा पर्छन् । चिडियाखाना क्षेत्रमा ४५० प्रजातिका जीवजन्तु, ३६१ प्रजातिका वनस्पति पाइने बताइन्छ । यो क्षेत्रमा १७५ प्रजातिका जडीबुटी पनि पाइन्छन् । 

पोखराको मुख्य बजारबाट यो चिडियाखाना २५ किलोमिटरमा अवस्थित छ । अहिले चिडियाखानाको पिँजरामै २१ प्रजातिका वन्यजन्तु तथा चराचुरुङ्गी छन् । व्यवस्थित चिडियाखाना बनाउन सके पोखरामा यो अर्को आकर्षक गन्तव्य हुने छ । वेगनास तालबाट चिडियाखानासम्म पुग्न बाटो स्तरोन्नति जरुरी छ । गण्डकी सरकारले यसलाई गौरवको योजनामा राखेर मात्र पुग्दैन, गुरुयोजना अनुसार काम गरी नेपालकै नमुना खुला चिडियाखाना बनाउन जरुरी छ ।   

Author

फडिन्द्र अधिकारी