सबै च्याउ खानयोग्य हुँदैनन् । सञ्चार माध्यममा विषालु च्याउबाट मानिस बिरामी परेका र मृत्यु नै भएका समाचारले प्राथमिकताका साथ स्थान पाइरहेका छन् । पछिल्लो समयमा पाल्पा, मकवानपुर, रुकुम, दाङलगायत पहाडी जिल्लामा जङ्गली च्याउ सेवनबाट मानिस बिरामी मात्र होइन कि मृत्युसमेत भएका समाचार आइरहेका छन् । यसर्थ च्याउसम्बन्धी सचेतना फैलाउनु अपरिहार्य देखिन्छ ।
च्याउ फूल नफुल्ने वनस्पति अन्तर्गत पर्दछ । यो एक प्रकारको ढुसी हो । यी बिरुवामा हरितकण हुँदैन र प्रकाश संश्लेषण क्रिया गर्न सक्दैनन् । च्याउ प्रजाति मृतजीवी हुन् । यी मल, माटो, काठ, पाठ तथा रुखमा उम्रिएका हुन्छन् । यी विशेष गरी ओसिलो तथा कुहेका रुखमा बढी पाइन्छ । च्याउ धेरै खालको हावापानीमा पाइन्छन् । च्याउलाई सब्जी, सुप, खाना आदिको रूपमा प्रयोग गरिन्छ । च्याउमा कार्बोहाइड्रेट, हर्मोन, भिटामिन तथा अन्य विभिन्न तत्व रहेका हुन्छन् ।
विषालु च्याउ थोरै मात्रामा खाँदा पनि कलेजो, मिर्गौला र मस्तिष्कमा असर गर्दछ । कहिलेकाहीँ गलत पहिचानको कारण पनि च्याउ सेवनबाट मानिसको ज्यान गइरहेको पाइन्छ भने कहिलेकाहीँ सधैँ खाइरहेको च्याउ सेवनबाट पनि मानिस बिरामी परिरहेका घटनाक्रमबाट थाहा लागेको छ । हेर्दा उस्तै देखिने च्याउ सेवन गर्दा पनि विषाक्त च्याउ सेवनका घटना बढिरहेका छन् । खान हुने च्याउ र विषालु च्याउमा पहिचान गर्न कठिन हुँदा पनि घटना बढिरहेका छन् ।
च्याउ आफैँमा स्वादिलो तथा पौष्टिक खानाको रूपमा लिने गरिन्छ । भिटामिन तथा खनिजको स्रोत भएको खानाका रूपमा पनि च्याउका पारखीले लिने गरेका छन् । घरको भान्सादेखि होटल रिसोर्टहरूमा च्याउका परिकारप्रति रुचि बढेको देखिन्छ । माछा मासु नखानेहरूका लागि च्याउ एक महत्वपूर्ण विकल्पको रूपमा उपयोग भएको पाइन्छ । यसरी च्याउ सेवनमा विभिन्न समुदायमा मात्र नभई आमरूपमा आकर्षण बढिरहेको पाइन्छ । यो जात वा संस्कृतिमा सीमित भन्ने रहेन च्याउ । च्याउ सबै जात, भूगोल तथा वर्गका मानिसले प्रयोग गर्दछन् । सहरबजारका मानिस खेती गरिएको च्याउ उपयोग गर्दछन् भने ग्रामीण भेगका मानिस जङ्गली च्याउको पनि उपयोग गर्ने गरेको पाइन्छ । च्याउ खाने मानिस निकै सचेत र सजग बन्नुपर्ने आवश्यकता छ । च्याउ नखानु नै विषालु च्याउबाट बच्नु हो भन्ने तर्क पनि आउने गरेका छन् । कतिपय ग्रामीण जनजीवनमा च्याउ खानाको वैकल्पिक स्रोत पनि बन्ने गरेको छ । च्याउसँग जोडिएका धार्मिक सांस्कृतिक मान्यता पनि रहेका छन् ।
विश्वमा सबैभन्दा बढी च्याउ उत्पादन गर्ने मुलुक चीन हो । खाने च्याउमा कन्ये च्याउ, सिताके च्याउ, ग्यानोडर्मालगायत पर्दछन् । खान हुने च्याउ पनि व्यक्ति विशेषको स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमतामा सेवन गर्न हुने या नहुने भन्ने कुराहरू निर्भर रहन्छ । खान हुने च्याउ पनि कति मात्रामा सेवन गर्ने र कसरी खाने भन्ने विषयले पनि च्याउ विषाउने या नविषाउने विषय निर्भर रहन सक्छ । नेपालमा करिब १३०० प्रजातिका च्याउ पाइन्छन् । जसमा १०० भन्दा बढी प्रजातिका च्याउ विषालु रहेका विभिन्न अध्ययनले देखाएका छन् । औषधीय दृष्टिकोणले महत्वपूर्ण च्याउ पनि रहेका छन् ।
विभिन्न अध्ययनबाट च्याउको उपयोगबारे विभिन्न तथ्याङ्क दिलाएका छन् । चीनमा सन् २०१० देखि २०२० को अवधिमा विषालु च्याउ सेवनबाट ४० हजार मानिस बिरामी भएका र आठ सय मानिसको मृत्यु भएको देखाएको छ । मानिसले खानाको खोजी गर्ने क्रममा नै च्याउको उपयोग गर्ने गरेको पाइन्छ । १२ हजार वर्षअगाडि चिलीमा खानयोग्य च्याउ उपयोगमा आएको अध्ययनले देखाउँछ । चिनियाँले च्याउलाई औषधीय र खानाको रूपमा उपयोग गरेको देखिन्छ । विश्वभर च्याउको सेवनबाट के कति मानिसको ज्यान गुमेको छ भन्ने यकिन तथ्याङ्क नभए पनि वर्षमा १०० भन्दा बढी मानिस विषालु च्याउ सेवनबाट मृत्युवरण गरिरहेका तथ्याङ्कले देखाउँछन् ।
बदलिँदो जलवायुमा अनुकूलित बन्नका लागि पनि अन्य जीव तथा वनस्पतिले जस्तै विभिन्न जैविक परिवर्तन निम्ताइरहेका हुन सक्छन् । जसका कारण सदा झैँ च्याउ खानयोग्य नबनिरहेका पनि हुन सक्छन् । यी विषयमा गहन अध्ययन गरिनु आवश्यक छ । च्याउबाट रङ, प्राकृतिक रेशा बन्ने गरेका छन् । विदेशी मुलुकमा च्याउको चिज र वाइन बनाउने गरेका विभिन्न अध्ययनमा उल्लेख छ । विषालु च्याउ सेवन गर्दा पखाला, ज्वरो आउने, टाउको दुख्ने, कमजोरी हुने, रिंगटा लाग्ने, वाक्वाकी लाग्ने, शरीरमा पसिना आउने जस्ता लक्षण देखिने जानकारको अनुभव रहेको छ । च्याउबाट हानि पुग्नुमा विषालु च्याउ, कुहेको च्याउ, विषादी छरेको च्याउ उपयोग गर्ने जस्ता कारण पनि हुन सक्छन् ।
खैरो चम्किला टोपी भएका, छाता तथा डाँठमा काँडा भएका, डाँठमा औँठी भएका च्याउ विषालु हुन्छन् भन्ने मान्यता छ । च्याउबारे केही परम्परागत मान्यता तथा विश्वास पनि रहेका छन् । कुनै बेला सही भएका मान्यता समय अनुसार सही नठहर्न पनि सक्छन् । च्याउसम्बन्धी रहेका मुख्य भ्रममा चाँदीको चम्चाको रङ बदलेमा च्याउ विषालु हुने, नबदलेमा खानयोग्य हुने, कुकुर बिराला शङ्खेकिरा तथा अन्य किरा लागेका च्याउ खान हुने, पकाएर खाएपछि विष नलाग्ने, टिमुर र लसुन हालेर पकाएपछि विषालु नै भए पनि च्याउको विष भाग्ने, राम्रो गन्ध आउने च्याउ खान हुने, नरम र बढी चमक नभएका च्याउ खान हुने आदि रहेका छन् । जसको वैज्ञानिक धरातल नहुने भएको कारण पनि धेरै मानिस अकालमा च्याउ सेवनको कारण जीवन गुमाइरहेका छन् ।
विषालु च्याउको सेवनबाट हुन सक्ने सम्भावित क्षति कम गर्नका लागि सही पहिचान नगरी च्याउको उपयोग नगर्ने, जङ्गली च्याउ सङ्कलन गर्ने र खाने नगर्ने, सधैँ खाइरहने गरेको च्याउ पनि एकै पटक धेरै सेवन नगर्ने, च्याउ खाइ विषाक्त भएको अनुमान हुनासाथ नजिकको स्वास्थ्य संस्थामा जाने गर्नु पर्छ ।
च्याउ विज्ञ डा. महेशकुमार अधिकारीले लेख्नुभएको किताबमा उल्लेख भए अनुसार नेपालमा पाइने च्याउमध्ये १० प्रजातिका च्याउहरू अत्यन्तै विषालु रहेका छन् । जसलाई विभिन्न स्थानमा विभिन्न स्थानीय नामले चिनिन्छ । यी विषालु च्याउमध्ये ठुलो कालो कत्ले च्याउ, स्तो भुत च्याउ, लिङ्गे च्याउ, कालो डल्लो च्याउलगायत रहेका छन् । एकै च्याउको नाम स्थान र भाषा अनुसार फरक फरक रहन सक्ने भएकोले यस्ता च्याउको सही पहिचान भई खान हुने या नहुने वैज्ञानिक तवरले अध्ययन अनुसन्धान, विश्लेषण नभई च्याउ सेवन गर्नु हुँदैन ।
जङ्गली च्याउ सेवनबाट भएका बिरामी तथा मृत्युका घटना बाहिरिएका छन् यो अवस्था दुःखदायी छ । यसको पछाडि चेतनाको अभाव मुख्य कारण देखिन्छ । अर्कोतर्फ पहिलेदेखि नै खाइआएको हो । केही हुँदैन भन्ने खालका भ्रम र जिद्दी पनि अर्को कारण हो, च्याउ सेवनबाट हुने घटना बढ्नुमा । यसका लागि सबै सरोकारवाला पक्षले सचेतनामूलक कार्यक्रममा व्यापकता ल्याउनु आवश्यक छ ।
विशेष गरी ग्रामीण क्षेत्र तथा जङ्गल वरपर बसोबास गर्ने समुदायमा सचेनाका कार्यक्रम विस्तार गराउनु पर्छ । यसमा सरकारी तथा गैरसरकारी सङ्घसंस्था, सामुदायिक संस्था, नागरिक समाज र राजनीतिक दल सबैले अन्य विभिन्न कार्यक्रम गर्ने क्रममा पनि च्याउसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई सँगसँगै जोड्न सक्यौँ भने सम्भावित जन क्षति कम गर्न सकिन्छ । अनलाइन, रेडियो, छापा तथा टेलिभिजनमार्फत च्याउ सचेतनामूलक कार्यव्रmममा व्यापकता ल्याउन सकिन्छ । नभएकालाई थाहा दिनु पर्छ, ज्ञान दिनु पर्छ, सचेत गराउनु पर्छ र मानवीय क्षति हुनबाट जोगाउनु पर्छ ।