१९०३ को कोत पर्वपछि नेपालमा राणाहरूको औपचारिक रूपमा सुरु भएको राणा शासनका बारेमा केवल खराब, नकारात्मक र क्रूर तथा तानासाही शासक भनेर पढाइयो । राणा र शाहहरूको आपसी टकरावले पनि पाठ्यक्रममा राणा शासनका पालाका नकारात्मक कार्य र परिणामहरू मात्र उल्लेख गरेको हुन सक्छ । शाहवंशीय राजपरिवारसँग पारिवारिक सम्बन्धले बलियो बनेका राणाहरू, इस्टइन्डिया कम्पनी र ब्रिटिस शासनको साथका कारण पनि राणाहरूले एक शताब्दीसम्म शासन गर्न सफल भएको इतिहास छ । फलस्वरूप छिमेकी राष्ट्र भारतमा स्वतन्त्रता आएसँगै नेपालमा राणा शासनको अन्त्य भई प्रजातन्त्र आएको थियो ।
१९०३–२००७ (सन् १७६६–१९५१) सम्म शासन सत्ता हातमा लिएका राणाहरूले नेपाली राजनीति, शिक्षा, विकास निर्माण तथा विभिन्न क्षेत्रमा के कति काम गरे, त्यो छुट्टै चर्चाको विषय हो तर विभिन्न आवश्यकता तथा परिस्थितिले गर्दा राणा शासकहरूले स्वास्थ्य क्षेत्रमा अविस्मरणीय योगदान गरेको कुरालाई बिर्सनु हुँदैन । राणाकालीन स्वास्थ्य इतिहासका बारेमा विभिन्न विदेशी र नेपाली इतिहासकारले त्यस बेलाको स्वास्थ्य अवस्था, विभिन्न महामारी र तत्कालीन अवस्थामा भएका स्वास्थ्यसम्बन्धी प्रयासका बारेमा चर्चा गरेको पाइन्छ ।
नेपालको इतिहासलाई विभिन्न विषयमा विभिन्न ढङ्गले वर्गीकरण गरिन्छ । स्वास्थ्य विकासका हिसाबले पनि लिच्छवि, मल्ल र राणा गरी तीन भागमा विभाजन गर्न सकिन्छ । राणा शासनको समयमा राज्यको पहलमा आधुनिक र परम्परागत चिकित्साका लागि भनेर धेरै अस्पताल र औषधालयको निर्माण तथा सेवा सुरु भयो । त्यस बेला नेपालमा दक्ष जनशक्तिको कमीका कारण भारतबाट चिकित्सक र नर्सहरू ल्याउनु पर्दथ्यो । नेपाल एकीकरण हुनुअगाडि लिच्छविकालमा स्थापना भएको क्रिस्चियन मिसनरी क्लिनिकहरू पृथ्वीनारायण शाहसँग पादरीहरूको सम्बन्ध असहज भएकाले देशबाट पादरीहरू लखेटिएका कारण राणाहरूको सुरुवाती कालमा नै बन्द भइसकेका थिए । आयुर्वेदिक चिकित्सा र घरेलु जडीबुटी भने मुख्य स्वास्थ्य सेवा प्रणालीका रूपमा रहेको थियो ।
बिफर (स्मलपक्स), मलेरिया, कुष्ठरोग, हैजा तथा प्रसवोत्तर जटिलताले गर्दा सो समयमा सामाजिक, सांस्कृतिक अवस्थामा नै विकराल अवस्था खडा गर्दथ्यो । बिरामीको दर र मृत्युदर बढेको बढ्यै हुन्थ्यो । समय समयमा बिफरले महामारीका रूपमा काठमाडौँमा शवको बिस्कुन लाग्दथ्यो भन्ने इतिहासमा पढ्न पाइन्छ । जङ्गबहादुर राणा (सन् १८८५–१९०१) ले आफू प्रधानमन्त्री हुँदा स्वास्थ्य प्रणालीका लागि विभिन्न नीति नियम ल्याएका थिए ।
राजा गीर्वाणयुद्धविक्रम शाह र उहाँका छोराको समेत मृत्यु पनि बिफरकै कारण भएको थियो । उहाँकी आमा राजा रणबहादुर शाहकी श्रीमती कान्तिवती पनि बिफरकै सिकार भएको इतिहासमा कृतिमा उल्लेख गरिएको छ । सन् १८१६ मा सैनिक हार र केही नेपाली भूभाग सुगौली सन्धिले गुमाएको नेपालले बिफरको महामारीमा नेपाल सरकारले ब्रिटिस भारत सरकारसँग खोपका लागि सहयोग मागेको थियो । उसले पनि खोपलाई मानवताको हिसाब र वैदेशिक सम्बन्ध सुधार नीतिका रूपमा अगाडि ल्यायो । जङ्गबहादुरले सर्वप्रथम राजकीय परिवारका बालबालिका तथा आफ्ना बालबालिकालाई खोप लगाउने व्यवस्था गरेका थिए । बिफरको खोप सन् १८५० देखि सुरु भएको हो । भारतमा बिफरविरुद्धको खोप सोअगाडि नै प्रचलनमा थियो ।
सन् १८५० मा थापाथली दरबारमा वैद्यखाना स्थापना भएको थियो । जहाँबाट आयुर्वेदिक र आधुनिक चिकित्साको सेवासुविधा प्रदान गरिन्थ्यो । उच्च ओहदाका व्यक्तिले वैद्यखानाबाट सःशुल्क र आमव्यक्तिले रानीपोखरीनजिक रहेको क्लिनिकमा निःशुल्क स्वास्थ्य सेवा लिने गर्दथे । जङ्गबहादुरकै पालामा कुष्ठरोगका निम्ति पहिलोपल्ट सन् १८५७ मा खोकनामा कुष्ठरोगीलाई राख्ने केन्द्र, कुष्ठरोगीखाना (हाल खोकना आरोग्य आश्रम भनिन्छ) को निर्माण गरिएको थियो । जुन नेपालकै पहिलो स्वास्थ्य संस्था हो, त्यो पनि सरकारले निर्माण गरेको थियो ।
सो बेलामा कुष्ठरोगको उपचार पत्ता लगाइसकिएको थिएन । समाजमा कुष्ठरोगीलाई टाढा राख्ने चलन थियो । जसले गर्दा कुष्ठरोगी घरबारविहीन हुन्थे, त्यसैले सो केन्द्रको निर्माण सहरदेखि टाढा गरिएको थियो । लन्डन र फ्रान्सको भ्रमणका क्रममा जङ्गबहादुरले बिरामीको व्यवस्थापन देखेपछि आफ्नो देशका कुष्ठरोगीको पनि व्यवस्थापन कसरी गर्ने भन्ने चिन्तनमा लागेका उहाँलाई एक विदेशी पाहुनाले कुष्ठरोगीखाना बनाउन सल्लाह दिएका थिए । सोही सल्लाहमा समाजबाट अलग्गिएर पाटी पौवा र मठ मन्दिरमा आश्रय लिएका कुष्ठरोगीलाई खोकनामा व्यवस्थापन गरिएको थियो ।
त्यसपछि वीर शमशेर प्रधानमन्त्री भएका थिए । उहाँको कार्यकालमा नेपालमा अस्पतालको सेवासुविधाको परिचय सुरु भएको थियो । उहाँले नेपालमा पहिलो अस्पताल विसं १९४७ (सन् १८८९) मा १५ शøया पृथ्वीवीर अस्पताल (हालको वीर अस्पताल) को स्थापना गरेर आधुनिक स्वास्थ्य सेवा प्रणालीको सुरुवात गर्नुभएको थियो । तत्कालीन राजा पृथ्वीवीरविक्रम शाह र प्रधानमन्त्री वीर शमशेरको नाममा अस्पताल नामकरण गरिएको थियो । वीर अस्पताललाई पुरुष र महिलाका लागि छुट्याएर, मातृत्वसम्बन्धी सेवासुविधा सुदृढ गर्ने प्रयास गरिएको थियो ।
त्यसका साथसाथै नेपालको विभिन्न ठाउँमा पृथ्वीवीर अस्पतालकै नाममा हनुमाननगर (राजविराज), जलेश्वर (जनकपुर), वीरगन्ज, तौलिहवा (कपिलवस्तु) र नेपालगन्जमा पृथ्वीवीर औषधालयको स्थापना गरेका थिए । राणा परिवारकै सदस्यलाई पनि कुष्ठरोगीखानामा राख्नुपर्ने भएपछि खोकनाको कुष्ठरोगीखाना भवनलाई विस्तारित गरिएको थियो । उहाँको पालामा सन् १८८९ मा टेकुमा पनि कुष्ठरोग अस्पताल निर्माण भएको थियो । यसले कुष्ठरोगको दर बढ्दो थियो भन्ने पुष्टि हुन्छ । त्यसका साथै स्वास्थ्य प्रणाली सुदृढ गर्न विभिन्न अस्पतालका साथै औषधालयको स्थापना गरिएका थिए ।
स्वास्थ्य सेवा विस्तार गर्ने वीर शमशेरका कामलाई चन्द्र शमशेरले पनि निरन्तरता दिएका थिए । उहाँका पालामा वीर शमशेरले ल्याएका अस्पतालको सुविधालाई राष्ट्रव्यापी बनाइए, बनिसकेकालाई सुदृढ गरिए । उहाँको कार्यकालमा पनि तत्कालीन राजा पृथ्वीवीरविक्रम र आफ्नो नाम जोडेर पृथ्वीचन्द्र अस्पतालहरू निर्माण गरियो । सन् १९०३ मा भक्तपुरमा चन्द्र लोक अस्पताल निर्माण गरेका चन्द्र शमशेरले पृथ्वीचन्द्र अस्पतालका नाममा पाल्पा, पाल्ही (परासी), डोटी र इलाममा अस्पताल खोल्ने काम भयो । नरदेवी आयुर्वेदिक अस्पताल सन् १९१८ मा निर्माण गरिनुका साथै विभिन्न जिल्लामा आयुर्वेदिक औषधालयको स्थापना गरियो ।
पृथ्वीवीरविक्रमको मृत्युपछि त्रिभुवनवीरविक्रम शाह राजा भए । त्यसैले त्रिभुवनचन्द्र अस्पतालको नाममा धनकुटा, भद्रपुर, सर्लाही र रङ्गेलीमा अस्पताल निर्माण गरियो । ब्रिटिसको सहयोगमा पहिलो विश्वयुद्धका घाइतेहरूको तथा देशभित्रकै सैनिकहरूको उपचार गर्न सन् १९२५ मा त्रि–चन्द्र सैनिक अस्पताल काठमाडौँमा निर्माण गरिएको थियो । पृथ्वीवीर अस्पताललाई अझ सुदृढ गर्न रेडियोलोजी र ल्याब एकाइको स्थापनाका साथै छुट्टै महिला अस्पताल निर्माण पनि गरियो । उहाँकै पालामा (सन् १९२४) पाटनमा ललितपुर अस्पताल निर्माण गरियो । हैजा तथा झाडापखाला नियन्त्रणका लागि टेकुमा अस्पताल स्थापना भयो । खोकनाको कुष्ठरोग केन्द्र सानोठिमीमा समेत विस्तार भयो ।
त्यसै गरी टोखामा क्षयरोग उपचार केन्द्र स्थापना गरियो । सन् १९५१ सम्ममा ३५ जिल्लामा कम्तीमा एउटा अस्पताल वा औषधालयको स्थापना गरिएको थियो । भीम शमशेरले त्रि–भीम अस्पताल भैरहवा, बुटवल र बहादुरगन्जमा निर्माण गर्नुभएको थियो । पशुपतिमा रामघाट औषधालयको स्थापना सन् १९२९ मा गर्नुका साथै सिन्धुलीमाडी, रामेछाप, ओखलढुङ्गा र पशुपतिनगर (इलाम) मा औषधालयको स्थापना भयो । त्यसै गरी जुद्ध शमशेरको पालामा त्रि–जुद्ध अस्पतालका नाममा सन् १९३१ मा धरान र सन् १९४० मा भीमफेदी, बर्दिया र कैलालीमा पनि अस्पताल स्थापित भयो ।
त्यसै गरी टोखामा क्षयरोग आरोग्य केन्द्र सन् १९३५ देखि सञ्चालनमा आएको थियो । स्थापित खोकना र काठमाडौँको क्षयरोग केन्द्रको स्तरोन्नति गर्नुका साथै स्याङ्जाको मालुङ्गामा कुष्ठरोग केन्द्रको स्थापना भयो (हाल बन्द भइसकेको छ) । सन् १९३७ मा त्रिपुरेश्वरबाट कुष्ठरोगको विभाग र उपचार केन्द्र पचलीमा सारियो । पद्म शमशेर र मोहन शमशेरको पालामा सन् १९४९ मा सांँखुमा स्वास्थ्य केन्द्रको स्थापना हुनुका साथै होमियोप्याथिक औषधालय खुला गरियो । वीर अस्पतालमा छातीको क्लिनिक सन् १९५१ मा स्थापना भएको हो । जनस्वास्थ्यमा चर्चित विद्यालय स्वास्थ्य कार्यक्रमको सुरुवात पनि यही समयदेखि हुन थालेको हो ।
राणा शासनमा देशैभरि आयुर्वेदिक क्लिनिक स्थापना गरेर वैकल्पिक चिकित्साको प्रवर्धन गर्ने जमर्को गरिएको थियो । उदाहरणका लागि होमियोप्याथिक अस्पताल र युनानी औषधालयको स्थापनालाई लिन सकिन्छ । मलेरियाका लागि स्वास्थ्य सेवा विभाग अन्तर्गत मलेरिया रोकथाम एकाइ स्थापना गरेर चिसापानीगढी, मकवानपुरबाट सञ्चालन गरिएको थियो । राणा शासनमा अहिले जस्तो नियमित वार्षिक बजेट प्रणाली नभएको हुँदा स्वास्थ्य क्षेत्र वा स्वास्थ्य संस्था सञ्चालनका लागि विभिन्न गुठी स्थापना भएको थियो । हाल हाम्रो स्वास्थ्य सेवा तथा सुविधाका लागि सरकार, विदेशी दाता तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सहयोग गर्दछन् भने राणा शासनको बेलामा बिर्ता र गुठीबाट उठेको जग्गा करलाई स्वास्थ्य सेवामा उपयोग गर्ने गरिन्थ्यो ।
राणा शासनको प्रवृत्ति हेर्दा शासन र राजकाजमा निरङ्कुश र मानवीय क्षेत्रमा उदार र धार्मिक स्वभाव भेटिन्छ । शिक्षाका क्षेत्रमा खासै योगदान देखिन्न । राजकाज जहानियाँ थियो । जसरी पनि सत्ता बचाइरहने ध्येयका लागि गरिएका विभिन्न अप्रजातान्त्रिक कार्यले राजनीतिमा राणाकाललाई राम्रो मानिँदैन तर पनि तत्कालीन समाजबाट सती प्रथाको उन्मूलन र दास प्रथाको उन्मूलन सानो वा चानचुने सुधारको कार्य होइन । नेपालमा राणाहरूले गरेका सुधारका कार्यहरू कि त आफ्नो निरङ्कुश शासनप्रति जनताको साथ सहयोग लिन थियो या आफ्नो सेवासुविधाका लागि थियो । जसरी बुझे पनि के कुरा नकार्न सकिँदैन भने राणाहरूले गरेको स्वास्थ्य क्षेत्रमा योगदान अतुलनीय छ ।
वर्तमान समयमा पैसा हुनेहरू स्वास्थ्य उपचारका लागि विदेश गइरहँदा राणाकालमा भने नेपालमै विभिन्न अस्पताल, अझ रोग विशेष अस्पताल खोलेर नेपाली नागरिकलाई नेपालमै स्वास्थ्य सेवा र सुविधा उपलब्ध गराउनु र राणाहरू आफैँले पनि नेपालकै स्वास्थ्य संस्थाबाट उपचार सेवाको उपभोग गर्नु भनेको एक हदसम्म राम्रै मान्नु पर्छ । पछिल्ला दिनमा हाम्रा राजनीतिक नेतृत्वले स्वदेशका अस्पताललाई राम्रो बनाउनेभन्दा विदेश गएर उपचार गर्ने प्रवृत्ति बढिरहेका बेला राणाहरूले यति राम्रो काम गरेका होलान् भन्ने कुरामा हामीलाई पत्यार लाग्दैन तर यथार्थ यही हो । राणाहरूले स्वदेशमा उपचार गर्नु र आफ्ना नागरिकलाई उपचार गर्ने व्यवस्था गर्नु राम्रै कदम र अभियानका रूपमा लिन सकिन्छ ।