• १३ असोज २०८१, आइतबार

सांसदको कुरा सम्बोधनमा सरकारले ध्यान दिएन : सचेतक बर्तौला

blog

प्रेस चौतारी नेपाल मकवानपुरले शुक्रबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले प्रतिनिधिसभा सचेतक महेशकुमार बर्तौला । तस्बिर : राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, भदौ १५ गते । नेकपा (एमाले) प्रतिनिधि सभा सचेतक महेशकुमार बर्तौलाले संसदमा सांसदहरुले उठाएका विषयमा सरकारले सुनुवाई नगर्ने प्रवृत्ति बढ्दैगएको बताउनुभएको छ । 

सार्वभौम संसदमा जनताका प्रतिनिधिले उठाएका सवालमा सरकारले ध्यान दिने र मागहरुको सम्वोधन गर्नुपर्ने भए पनि सरकारले त्यस्तो नगरेको उहाँको भनाइ छ । प्रेस चौतारी नेपाल मकवानपुर शाखाले शुक्रबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारले सांसदका कुरालाई चासो नदिएको र प्रतिनिधि सभालाई विजिनेस दिन नसकेको टिप्पणी गर्नुभयो । 

सरकारले नागरिकको पक्षमा काम गर्नेतर्फभन्दा प्रतिपक्षलाई कमजोर बनाउने र गिराउने खेलमा लागेको उहाँको भनाइ छ । सरकारको आलोचना गर्दै उहाँले अगाडि बन्नुभयो, ‘वर्तमान सरकारबाट नागरिकको पक्षमा काम होला भन्ने आशा गर्ने ठाउँ गुम्दैगएको छ ।’

सचेतक बर्तौलाले हेटौँडा बजारक्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिँदै नागरिकलाई उचित क्षतिपूर्ति र मुआव्जासहितको व्यवस्था हुनुपर्ने धारणा राख्नुभयो । पत्रकारको प्रश्नको उत्तरमा बर्तौलाले हेटौँडा बजारक्षेत्रको सडक विस्तार हुनुपर्ने धारणा राख्नुभयो । उहाँले प्रदेश राजधानी हेटौँडाको सडक विस्तार जुनसुकै हालतमा गर्नुपर्ने र सडक विस्तार गर्दा जनतालाई सुकुम्बासी बनाउन नमिल्ने बताउनुभयो ।  

नागरिकका समस्या समाधान गर्नु सरकारको दायित्व भएको भन्दै उहाँले सडक विस्तारलगायत जिल्लाको विकास निर्माणमा जनप्रतिनिधिहरु र दलहरुले समान धारणा बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।