• २३ वैशाख २०८१, आइतबार

राष्ट्रिय पुस्तकालय निर्माण निर्वाध ढङ्गले अगाडि बढाइनेछ : शिक्षामन्त्री

blog

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई ।

काठमाडौं, भदौ १५ गते । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल राष्ट्रिय पुस्तकालय निर्माण कार्यलाई निर्वाध ढङ्गले अगाडि बढाउन पहल थाल्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित १६ औं पुस्तकालय दिवस २०८० को अवसरमा शिक्षामन्त्री राईले पुस्तकालय भवन निर्माणमा देखिएको बाधा अड्चनलाई हटाएर राष्ट्रिय पुस्तकालय निर्माण कार्यलाई अगाडि बढाइने बताउनुभएको हो ।

मन्त्री राईले पुस्तकालय निर्माणको काममा आइपरेका अवरोधलाई प्रकृयासंगत रुपमा अगाडि बढाइने बताउनुभयो । उहाँले अहिले युवाहरुमा पठन संस्कृतीको अभाव भएको भन्दै युग अनुकुल पुस्तकालयहरुलाई उन्नत गर्दै लैजानुपर्ने देखिएको बताउनुभयो । मन्त्री राईले केन्द्रीय पुस्तकालय निर्माण भनेर बजेट विनियोजन गरिएपनि निर्माण कार्यमा अवरोध सृजना भएको बताउनुभयो ।

‘‘केही प्रश्न उठ्यो । केन्द्रीय पुस्तकालय किन नबनेको होला ? अरु धेरै धेरै चिज बनिसके । मैलेपनि बुझ्नै पर्ने गहिरो कुरो प¥याछ । म आउँदाखेरी समस्या टाँगिएको देखियो । पैसा त अहिलेपनि छुट्टिएको छ । साथीहरुले बताउनु भए अनुसार त्यो पैसा खर्च गर्न मिल्ने छैन रे । कानुनी व्यवधानहरु छन् रे । मुद्दा मामिला चल्यो रे । मन्त्रालयमा बजेटको ब्रिफिङ गर्ने बेलामा केन्द्रीय पुस्तकालय निर्माण भनेर पैसा छुट्टिएको छ ।,’’ मन्त्री राईले भन्नुभयो, ‘‘कहाँ बन्दैछ भन्दा त यो बनाउनै नमिल्ने अवस्थामा छ भन्ने कुरा आयो । केही प्रकृयाहरु पूरा गर्नुपर्ने रहेछ । सर्वोच्च अदालतको फैसलाले हामीलाई केही प्रकृया पूरा गर भनेर भनेको अवस्था रहेछ । त्यो प्रकृया पूरा गर्ने बेला टेबलमा फाइल आइपुग्यो भनेर सचिवज्युले मलाई भन्नुभयो । जे होस् केन्द्रीय पुस्तकालयको निर्माणको काममा जेजे अवरोधहरु छन्, बाधाहरु छन्, हामीलाई दिइएका जीम्मेवारीहरु छन् प्रकृया पूरा गर्नुपर्ने आदि इत्यादि, त्यो छिटो भन्दा छिटो पूरा गरेर बाधा अड्चनहरुलाई हटाएर केन्द्रीय पुस्तकालय निर्माणलाई निर्वाध ढङ्गले अगाडि बढाउने सङ्कल्प यहाँहरु समक्ष म प्रस्तुत गर्न चाहन्छु ।’’

उहाँले पुस्तकालय दिवसलाई काठमाडौं केन्द्रित नभएर पुस्तकालय भएका स्थानमा पनि मनाउनुपर्ने बताउनुभयो । पुस्तकालय दिवसले युवा पुस्तालाई ज्ञान आर्जन गर्न पुस्तक पढ्नुपर्छ भन्ने धारणाको विकास गर्न मद्दत पुग्ने शिक्षामन्त्री राईको भनाइ छ । पुस्तकालय दिवसको अवसरमा उत्कृष्ट पाठकको रुपमा गोदावरीकी रुक्मिणी चालिसे र पुस्तकालयकर्मी जोगप्रसाद पाण्डेलाई सम्मान गरिएको थियो ।