• २१ असार २०८१, शुक्रबार

अलैंची खेतीतर्फ आकर्षित हुँदै किसान

blog

तीनपाटन गाउँपालिका –८ मा किसानले लगाएको व्यावसायिक अलैंची खेती । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा

हिर्दिङ (सिन्धुली), भदौ १५ गते । गोलन्जोर गाउँपालिका –५ हिर्दिङ निवासी किसान डम्बरबहादुर बस्नेतले  पाँच वर्षभन्दा बढी समयदेखि व्यावसायिक रुपमा अलैंची खेती गर्दै आउनुभएको छ । यतिखेर उहाँको नौ रोपनी जमिन अलैंची खेतीले ढाकेको छ । 

उत्पादन भएको अलैंची प्रतिकेजी दुई हजार पाँचसय रुपियाँसम्ममा बिक्री भएकाले आफू उक्त खेतीप्रति उत्साहित रहेको उहाँको भनाइ छ । अलैंचीबाट राम्रो आम्दानी हुने देखेर हिर्दिङमा ३२ जना किसान मिलेर समूह बनाइ सामुहिक रुपमा अलैंची खेती गर्न थालेका छन् ।

उक्त समूहले दुई हेक्टर जमिनमा सामूहिक रुपमा र त्योभन्दा बाहेक व्यक्तिगत रुपमा एक रोपनीदेखि नौ रोपनी जमिनमा अलैंची खेती गर्दैआएको जनाएको छ । अलैंची खेतीमा बेला–बेलामा लाग्ने फुर्केलगायत रोगको उपचार गर्न सरकारी निकायबाट राम्रो सहयोग नपाएको किसानको गुनासो छ ।

सोही ठाउँका अर्का किसान शान्तिबहादुर बानियाले पनि आफ्नो पाँच रोपनी जमिनमा अलैंची खेती गर्न सुरु गरेको सुनाउनुभयो । ‘हिर्दिङ ओसिलो लेक ठाउँ, त्यही माथि पनि चिसोले गर्दा अन्नबाली राम्रो उत्पादन हुँदैन भनेर यो ठाउँलाई सबैले हेप्थे । 

हेपेको ठाउँ थियो, उहाँले भन्नुभयो, ‘हामीले अलैची खेती सुरुगरी प्रतिकेजी दुई हजार दुईसय रुपियाँसम्ममा अलैंची बिक्री गरेका छौं । अहिले सबैले हिर्दिङमा कालो सुन फल्न थाल्यो भन्न थाले । अलैंचीले हिर्दिङ धपक्कै बलेको छ ।’

सिन्धुली जिल्लाको गोलञ्जोर, तीनपाटन, सुनकोसी, फिक्कललगायतका गाउँपालिकाभित्रका महाभारत क्षेत्रमा अलैंचीको व्यावसायिक खेती हुन थालेको छ । उत्पादित अलैंचीको बजार सहजै हुने भएपछि किसानहरु खोल्सा, खाल्सी र ओसिलो बारीमा अलैंची धमाधम रोप्न थालेका छन् । रोपेको दुईदेखि तीन वर्षमा अलैंचीले आम्दानी दिने भएपछि किसानले अलैंची खेती गर्न थालेका हुन् ।

अरु अन्नबालीको तुलनामा खेती गर्न सजिलो र राम्रो आम्दानी भएकोले अलैंची खेतीप्रति पछिल्लो समय आकर्षण बढेको किसानले बताएका छन् । अलैंची खेती गर्न विशेषगरी चिस्यान र ओसिलो जग्गा उपयुक्त हुने कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ ।

उक्त केन्द्रका अनुसार जिल्लामा अलैंची खेतीका लागि महाभारत क्षेत्रका हिर्दिङ, जलकन्या, अरुणठाकुर, महादेव डाँडा, पोखरी, तोश्रामखोला, मझुवा, भद्रकालीलगायतका ठाउँ छन् । जिल्लामा बर्सेनि ३१ हेक्टरभन्दा बढी जमिनमा अलैंची खेती हुँदैआएको र करिब २० मेट्रिक टन उत्पादन हुँदैआएको छ । 

अलैंची खेतीलाई धेरै समय पनि खर्चनु नपर्ने भएकाले किसानहरु अलैंची खेती गर्न हौसिएका छन् । अलैंची खेतीसँगै अन्य खेतीपातीका काम गर्न सकिने किसानको भनाइ छ ।