• १२ मंसिर २०८१, बुधबार

जनभावनाको कदर

blog

जनताको चाहनाविपरीत अगाडि बढेका राजनीतिक पार्टी जनताबाट पराजित हुनु पर्छ भन्ने कुरा सधैँ स्मरण गरेर देश र जनताको पक्षमा समर्पित भई काम गर्नु दल तथा नेतृत्वको प्रमुख दायित्व हो । सामान्यतया विकासोन्मुख मुलुकमा जनताले पार्टी तथा नेतृत्वलाई गरिब, श्रमिक तथा पछाडिएका वर्ग तथा क्षेत्रको पक्षमा स्पष्ट कार्यदिशासहित इमानदार भएर काम गरोस् भन्ने अपेक्षा गरिरहेका हुन्छन् । त्यसैले जनतामा पार्टी तथा नेतृत्वले राम्रो छाप पारेर काम गर्न जनताको अपमान हुने कुनै पनि गतिविधि कहिल्यै हुन दिनु हुँदैन, जनताको भावना अनुकूल समाज परिवर्तनका लागि ऐक्यबद्धता जनाएर जनतालाई साथमा लिई निरन्तर काम गर्नु पर्छ । 

पार्टी नेतृत्वले जनभावानाको कदर गर्दै देश र जनताको भविष्यप्रति संवेदनशील भई अगाडि बढ्ने अग्रगामी तथा परिवर्तनकारी शक्तिहरूसँग मिलेर राष्ट्रिय एकता बलियो बनाउने रणनीति लिनु पर्छ । जनताको मन जित्ने र परिवर्तनको संवाहक बन्ने मनस्थितिका साथ अगाडि बढ्नु पर्छ । जनताको चाहना र अपेक्षासँग गासिएका असहमति र असन्तुष्टिलाई गम्भीरतापूर्वक ध्यान दिई सकारात्मक तथा रचानात्मक ढङ्गले सम्बोधन गर्ने कार्यनीति लिनु पर्छ । शान्ति, सुव्यवस्था, सुशासन, स्थिरता र विकासमा जनतासँग मिलेर अभियानका साथ काम गर्नु पर्छ ।

लोकतान्त्रिक मूल्य र मान्यतामा पार्टीहरू कति प्रतिबद्ध भएर काम गरिरहेका छन् तथा आन्तरिक लोकतन्त्र पार्टीमा कसरी हुर्किरहेको छ भन्ने कुराले जनतामा पार्टीलाई हेर्ने दृष्टिकोण बन्ने गर्दछ । त्यसैले बाह्य होस् वा आन्तरिक रूपमा होस्, सत्तामा होस् वा सत्ताभन्दा बाहिर होस् लोकतान्त्रिक मूल्य र मान्यताको विकास र प्रवर्धनमा पार्टीले विशेष सावधानीका साथ काम गर्नु पर्छ । पार्टीले आम जनसमुदायसँग घनिष्ट सम्बन्धको विकास गर्दै मुलुकमा विद्यमान सबै प्रकारका शोषण, उत्पीडन, अन्याय, असमानता र विभेदको समाप्तिका लागि न्यायिक सङ्घर्ष निरन्तर रूपमा गरेर देश र जनताको सेवामा निःस्वार्थ रूपमा समर्पित भई काम गर्नु पर्छ ।

जनताले पार्टी तथा पार्टी नेतृत्व र सदस्यलाई गर्ने आलोचनालाई गम्भीरताका साथ ध्यान दिँदै पार्टीले इमानदारीपूर्वक छानबिन गरेर जनताको आलोचना र आक्रोशलाई सम्बोधन गर्नु पर्छ । जनउत्तरदायी पार्टी तथा नेतृत्वको विकास गर्न जनताको नजिक रहेर जनताका सुख दुःखमा निरन्तर सहभागी हुँदै जनताको सेवामा समर्पित भएर काम गर्नु पर्छ । पार्टी र जनताबिचको सम्बन्ध जीवन्त बनाउन पार्टीले समाजमा हुने भ्रष्टाचार अन्त्यको लागि भ्रष्ट चरित्रलाई समाजबाट अलग्याउनु पर्छ । पार्टी तथा प्रशासनिक क्षेत्रलाई शुद्धीकरण गर्दै सुशासन कायम गरेर भ्रष्टाचारलाई समाजबाटै निराकरण गर्ने प्रतिबद्धताका साथ अभियानलाई निरन्तरता दिनु पर्छ । 

पार्टी नेतृत्व तथा कार्यकर्ताले जनविश्वासलाई कहिल्यै पनि दुरुपयोग गर्नु हुँदैन, कसैले त्यस्तो दुष्प्रयास गर्छ भने पार्टीले तुरुन्त कारबाही गरी जनताको मनोबल सधैँ उच्च बनाउनु पर्छ । साथै देश तथा जनताको शोषण नगर्ने र शोषणविरुद्ध सधैँ लडिरहने अदम्य साहस देखाउँदै जनताको मन जित्न सक्नु पर्छ । पार्टीले जहिले पनि जनताको शक्ति र तागतमा विश्वास र भर गर्दै जनसेवा अभियानमार्फत जनतासँग दूरी घटाउने प्रयत्न गरिरहनु पर्छ । पार्टीले देश र जनताको हितमा सञ्चालन गरेको अभियानमा विजय गरेरै छाड्ने अठोटका साथ योजनाबद्ध ढङ्गले अगाडि बढ्दा सानातिना अवरोधदेखि कहिल्यै पनि आत्तिनु हुँदैन ।

पार्टी तथा नेतृत्वले जनताद्वारा स्थापित राजनीतिक परिवर्तनको मर्ममा आघात नपुग्ने गरी सत्ता सञ्चालन गर्नु पर्छ । जनताले सुम्पेको अभिभारालाई राजनीतिक शक्तिले कायम गरेर त्यसलाई बढवा दिने प्रयास निरन्तर रूपमा गरिरहनु पर्छ । पार्टीले जनतासँग मिलेर जनताको हित तथा उनीहरूको जीवन स्तर उठाउन कठोर सङ्घर्षमय अभियान चलाउन पार्टी सदस्यलाई परिचालन गर्नु पर्छ । पार्टीले जनताको राजनीतिक चेतना, आर्थिक तथा सामाजिक अवस्थाको गहिरो अध्ययन गरी वास्तविक स्थिति बुझेर स्तरोन्नति गर्दै लैजानु पर्छ । 

पार्टी नेतृत्व तथा कार्यकर्ताले जनप्रिय बन्ने काम गर्दै जनताको मन जित्नु पर्छ । जनताप्रति चाख नराख्ने नेता तथा कार्यकर्ताहरू नै आफ्नो जीवनमा समस्या निम्त्याउँछन् र असफलताको भारी बोक्न बाध्य हुन्छन् । जनता आफ्नो मन जित्ने तथा आफूलाई मन पराउने नेतालाई नै मन पराउँछ र सफलताको शिखरमा पु-याएर नै छाड्छन् । नेतृत्वले स्थिरता र शान्तिका लागि राजनीतिक वातावरण अनुकूल बनाउन विशेष ध्यान केन्द्रित गर्दै जनतालाई पूर्ण रोजगारी सिर्जना गर्ने अवसर मिलाउनु पर्छ । जनतालाई कुनै पनि किसिमको डर, भय र निराशाबाट मुक्त हुने गरी सामाजिक सुरक्षाको वातावरण सिर्जना गरेर सुखी र खुसी बनाउनु पर्छ ।

जनताका विचार र अनुभवमा ठुलो शक्ति हुने भएकाले जनताका विचार, भावना र अनुभवलाई आत्मसात् गर्दै जनताकै माझ निरन्तर परिष्कृत बनाउँदै जनताकै हितमा लागु गर्ने नेतृत्वदायी भूमिका पार्टी नेतृत्व तथा कार्यकर्ताले लिनु पर्छ । पार्टीले राष्ट्रिय सर्वभौमिकताको जगेर्ना गर्न आमजनतासँग मिलेर काम गर्नु पर्छ । जनतालाई झुक्याएर देशलाई विदेशीको रणभूमि बन्न कहिल्यै पनि दिनु हुँदैन । नेतृत्वले पार्टी तथा सङ्गठनलाई संस्थागत रूपमा बलियो बनाउँदै टिम वर्क गरेर जनताबिच निकटतम सम्बन्ध विकास गरी जनआस्था बढाउनु पर्छ । त्यसले पार्टी जनतामाझ शक्तिशाली बन्दै जान्छ । 

सफल नेतृत्वले मुलुकको वस्तुस्थिति, हावापानी र माटो सुहाउँदो विकास र समृद्धिको बाटो अवलम्बन गरेर जनतामाझ नतिजामुखी परिणाम निकाल्दै जनसमर्थन बटुल्नु पर्छ । नेतृत्वले विषयवस्तुको गहिराइमा पुगेर सही सूचना र जानकारी लिएर राम्रो कामको प्रशंसा गर्दै आमजनसमुदायमा आशा र विश्वास जगाउँदै आफ्नो धारणा उत्साह र रुचिपूर्वक प्रस्तुत गर्नु पर्छ । नेतृत्वले आमजनतालाई विकास र समृद्धिको बाटोमा अगाडि बढ्न पैसाका लागि मात्र काम गर्न नसिकाएर पैसाको शक्तिलाई लगानीका रूपमा सदुपयोग गर्न पनि सिकाउनु पर्छ । नेतृत्वले आर्थिक अनुशासन कायम गरेर राम्रा आम्दानीका क्षेत्रमा जनताको लगानी सुरक्षित हुने गरी लगानी बढाउन प्रोत्साहन गर्नु पर्छ ।

पार्टी लक्षित समूहमा केन्द्रित हुँदै मोटो वाचा र आश्वासनभन्दा पनि जति सकिन्छ त्यति मात्र बोलेर जनताको विश्वास जित्न सक्नु पर्छ । वाचा पूरा गर्न सकेको खण्डमा मात्र जनताको उत्साहजनक सहभागिता बढ्ने गर्छ । नेतृत्वले जनतामा उत्साह जगाउन सधैँ निष्ठाको राजनीतिमा जोड दिनु पर्छ । जनताले राजनीतिक पार्टीका एजेन्डाका आधारमा पार्टीलाई निश्चित आकारमा ढाल्ने हुँदा जनताका हितमा एजेन्डा अगाडि सार्नु पर्छ । नेतृत्वमा रहेका कमीकमजारीलाई प्रत्येक नेताले पहिले सुधार गरी पार्टीलाई परिवर्तनको दिशातर्फ अगाडि बढाउन सक्नु पर्छ । 

पार्टीले देश र जनताको आवश्यकतालाई ध्यान दिएर परिवर्तनका लहर ल्याई पार्टी सदस्य, शुभचिन्तक तथा जनतालाई पुनर्ताजकी बनाउनु पर्छ । मुलुकको नयाँ भविष्यका लागि नयाँ राजनीतिक, आर्थिक तथा सामाजिक खोज तथा सोचका साथ अगाडि बढ्न सक्नु पर्छ । नेता तथा कार्यकर्ताले जनताको ढोका ढक्ढकाउँदै आँखा जुधाएर कुरा गर्नु पर्छ । अनि मात्र थाहा हुने छ, जनता कसको पक्षमा छन् र जनताको आवाज केमा प्रतिविम्बित भइरहेको छ । त्यसैले नेता तथा कार्यकर्ताले आफ्ना लागि होइन, आमजनता र राष्ट्रको हितमा बोल्ने र काम गर्ने कार्यशैलीको विकास गर्नु पर्छ । 

पार्टीले देश र जनताका लागि निर्णय लिँदा जनताको तागतको सधैँ नजर अन्दाज गरी गहिरो अध्ययन तथा अनुसन्धान गरेर जनभावनाको कदर गर्न सक्नु पर्छ । अन्यथा पार्टीले आर्जन गरेको साख मात्र गुम्दैन, पार्टी उठ्न नसक्ने गरी ढल्न पनि सक्छ । त्यसैले पार्टी तथा नेतृत्वले हमेसा जनताको सेवकका रूपमा प्रस्तुत गर्नु पर्छ र जनताको अपेक्षा तथा आकाङ्क्षा पूरा गर्न लागिरहनु पर्छ । पार्टीभित्र शुद्धीकरण अभियान जारी राख्दै जनताको बदलिँदो चाहना पूरा गराउने प्रतिनिधिमूलक संस्थाको रूपमा पार्टीलाई निरन्तर अद्यावधिक गरिरहनु पर्छ । कुनै पनि राजनीतिक पार्टी र नेतृत्वसँग राष्ट्रलार्ई अगाडि लैजाने प्रगतिशील नीति तथा कार्यक्रम हुनु पर्छ । जनताले नीति तथा कार्यक्रमका आधारमा पार्टी र नेतृत्व छनोट गर्दछन् र सफल बनाउन सहयोग गरिरहन्छन् ।

राष्ट्र निर्माणका लागि नेतृत्वको दृष्टिकोण, विज्ञहरूको परामर्श र जनताको साथ एक आपसमा मिल्नु पर्छ । नेतृत्व सीमित कार्यकर्ताको घेराबन्दीमा परेर विज्ञको परामर्श र जनताको साथ छाड्छ भने त्यो नेतृत्वले मुलुकलाई हाक्न सक्दैन । नेतृत्वले विकास र समृद्धि, राष्ट्रियता र राष्ट्रनिर्माणलगायत जनतासँग गरिएका वाचा पूरा गर्न प्रतिबद्धताका साथ सिङ्गो पार्टी परिवारलाई एक ढिक्का बनाएर लैजान सक्नु पर्छ । नेता तथा कार्यकर्ता दम्भ र अहङ्कारबाट टाढै रहेर व्यवस्थापकीय पक्षमा विशेष ध्यान केन्द्रित गर्दै कुशलतापूर्वक काम गर्नु पर्छ ।

पार्टीभित्र तथा पार्टीभन्दा बाहिर दलाल पुँजीवाद र दलाल नोकरशाही प्रवृत्ति हाबी हुँदै जाँदा वैचारिक र सैद्धान्तिक धरातल खस्कँदै जाने र पार्टी गतिहीन हुने गर्छ, त्यसैले मुलुक दलालको चङ्गुलमा फस्ने खतरा बढ्दै जान्छ । मुलुकलाई उक्त भासबाट बाहिर निकाल्न जनताले ठुलो नोक्सानी बेहोरेर बलिदानी गर्नुपर्ने भएकाले पार्टीले दलाल प्रवृत्तिको विरुद्ध निरन्तर सङ्घर्ष गरेर मुलुकलाई सङ्कटबाट बचाइराख्नु पर्छ । त्यस्तै दलाल प्रवृत्तिले अनैतिक रूपमा आर्थिक उपार्जन मात्र गर्ने तथा पार्टी र राज्यको हित चिताएर कुनै पनि काम नगर्ने भएकोले पार्टीभित्र नेतृत्वले दलाल चरित्र पनि भित्रिन दिनु हुँदैन ।  

Author

डा. ज्ञानेन्द्रबहादुर कार्की