नेपालको सबैभन्दा लामो इतिहास बोकेको लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस अहिले चुनौतीको चाङमा उभिएको छ । गत सालको स्थानीय चुनावबाट नेपाली कांग्रेस सबैभन्दा ठुलो पार्टी बन्नुका साथै मङ्सिरमा सम्पन्न प्रतिनिधि सभा एवं प्रदेश सभा चुनावबाट नेपाली जनताले प्रतिनिधि सभामा पनि सबैभन्दा ठुलो पार्टी बनाएर पठायो । प्रदेशमा कुनै ठाउँमा ठुलो पार्टी र कुनै प्रदेशमा दोस्रो स्थानका लागि निर्णायक मत पाएको छ । अहिले कांग्रेस सङ्घीय सरकारदेखि प्रदेश सरकारमा प्रमुख सत्ता साझेदारको रूपमा रहेको छ भने कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरिरहेको छ । आउँदो २०८४ मा हुने चुनावमा नेपाली कांग्रेसलाई योभन्दा झन् शसक्त ठुलो पार्टी बनाउने जिम्मेवारीका साथ अहिले प्राप्त जनादेश अनुसार सत्तामा रहँदा जनभावनालाई समेट्दै, जनताको मन जित्दै काम गर्नु कांग्रेसको प्रमुख चुनौती रहेको छ ।
सङ्घदेखि स्थानीय तहसम्म कांग्रेसको सरकार हुँदा ऐतिहासिक रूपमा काम गर्ने, जनमैत्री कार्यक्रम, दीर्घकालीन महत्वका विकास निर्माणका कार्य अगाडि बढाउने जनअपेक्षा अनुरूप काम गर्ने अवसर पनि मिलेको छ । कांग्रेसको तर्फबाट सरकारमा जाने तर राम्रा कामको जस एक जना नेताले मात्रै लिएर हुँदैन । पार्टी र सङ्गठनको तर्फबाट सरकारमा जाने उक्त काममा पार्टीप्रतिको जनअपेक्षा एवं जनभावना जोडिने भएकोले मन्त्री वा जनप्रतिनिधिले गर्ने हरेक राम्रा कामलाई संस्थागत गर्नु पर्छ । यसले पार्टीप्रतिको जनभावना पनि सकारात्मक हुने गर्दछ ।
२०७८ को मङ्सिरमा सम्पन्न १४ औँ महाधिवेशनबाट शेरबहादुर देउवाले दोस्रो कार्यकालका लागि नेतृत्व गर्ने मौका पाए भने पार्टीको अन्य पदाधिकारीमा अधिकांश नयाँ पुस्ताले अवसर प्राप्त गरेको छ । पार्टी सभापतिमा परिपक्व नेतृत्व र कार्यसमितिमा जोसजाँगर भएको नयाँ पुस्ता पदाधिकारी एवं केन्द्रीय समितिले काम गर्दै जाने हो भने पार्टी सङ्गठलाई गतिशील र चलायमान बनाउन कुनै कठिन छैन । महत्वपूर्ण १८ बुँदे निर्णय गर्दै असोज २ गते बैठक बस्ने गरी सम्पन्न कांग्रेसको केन्द्रीय समिति बैठकमा उठेका तमाम विषय सबैले प्रत्यक्ष प्रसारणमार्फत सुन्न मौका पाएका छन् । पार्टी सङ्गठन, सरकार सञ्चाल, जनजीविकाका सवाल र समसामयिक विषयमा गहन छलफल भएको छ । छलफल र निर्णय भएको विधान अनुसार सभापतिको अधिकार क्षेत्रभित्र रहेका कोषाध्यक्ष र अन्य केन्द्रीय सदस्य तत्कालै मनोनित गरी अगाडि बढाउन जरुरी छ ।
विभाग गठन
नेपाली कांग्रेसको विधानमा महाधिवेशन भएको मितिले छ महिनाभित्र विभिन्न विभाग गठन गर्ने व्यवस्था गरेको छ । विभाग अन्तर्गत देशभरका पार्टी कार्यतकर्ताले सङ्गठनमा रही काम गर्ने मौका पाउने गर्दछन् तर महाधिवेशन भएको दुई वर्ष पुग्न लाग्दासमेत केन्द्रीय सदस्य मीन विश्वकर्माको नेतृत्वमा प्रचार विभाग र उपसभापतिको नेतृत्वमा रहने नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाउनु भएको छ । त्यसको कार्यकारी निर्देशकमा वरिष्ठ पत्रकार डा. सुरेश आचार्य नियुक्त हुनुभएको छ । तथापि प्रतिष्ठानले समेत पूर्णता पाएको छैन । यसबाहेक कुनै पनि विभाग गठन हुन सकेका छैनन् । कांग्रेसमा वर्षौंखि लागेका कार्यकर्तालाई आबद्धता गराउने नीति र नेतृत्वबिच समन्वय गराउने काम विभागले गर्नु पर्छ । विभाग गठन हुन नसक्दा कार्यकर्तामा निराशा पनि छाउन सक्छ । कार्यकर्तालाई विचलित हुन नदिन पार्टीको सिद्धान्त र विचारप्रति कटिबद्ध राख्नका लागि विधान अनुसारको विभाग तत्काल गठन गरी सङ्गठन चलायमान बनाउन जरुरी छ । अनि कांग्रेस फेरी पनि शसक्त र पहिलो पार्टी हुने दिशामा जान सक्छ ।
भातृ सङ्गठन
नेपाली कांग्रेसको शसक्त र शक्तिशाली भातृ सङ्गठनका रूपमा रहेको नेपाल तरुण दल र नेपाल महिला सङ्घको केन्द्रीय समितिले हालसालै पूर्णता पाए पनि पार्टी सङ्गठनको नर्सरी संस्था नेपाल विद्यार्थी सङ्घले अझै पूर्णता पाउन सकेको छैन । पार्टी सङ्गठनका लागि विद्यार्थीको सहभागिता महìवपूर्ण कुरो भएकाले त्यसतर्फ पनि पार्टी नेतृत्वले तत्कालै सोच्न जरुरी छ । २०७३ मा निर्वाचित सभापति नैनसिंह महरले राजीनामा गरेपछि राजीव ढुङ्गानाले केन्द्रीय समितिलाई पूर्णता दिन सकेनन् भने अहिलेको नेतृत्वले पनि डेढ वर्षसम्म पूर्णता पाएको छैन । यसले गर्दा लामो समयदेखि नेविसङ्घमा आबद्ध भएकालाई वितृष्णा पैदा हुन सक्नेतर्फ बेलैमा नेतृत्वले सोच्नु पर्छ । तल्लो तहमा कांग्रेस प्रवेश गर्ने, नीति र नेतृत्वबारे प्रशिक्षित हुने बाटो सधैँ खुला गरिनु पर्छ । पार्टी सङ्गठन अनि बलियो हुने हो । तदर्थ समितिले पूर्णता पाएर मात्रै हँुदैन सङ्गठन चलायमान बनाउन समयमै महाधिवेशन सम्पन्नसमेत गर्नु पर्दछ । कांग्रेसलाई सशक्त र गतिशील बनाउन सबै भातृ एवं शुभेच्छुक संस्थालाई पूर्णता दिनु अपरिहार्य रहेको छ ।
डिजिटल कांग्रेस
अचेल हरेक हात हातमा मोबाइल र ल्यापटप छन् । आमनागरिकको मनसँग जोडिन राजनीतिक दल पनि डिजिटलाइज्ड हुनै पर्दछ । नयाँ पुस्ता अनलाइनमैत्री छ । नयाँ पुस्तालाई पार्टीप्रति आकर्षण गर्न प्रविधिमैत्री सङ्गठन संरचना निर्माण गर्नै पर्दछ । हालै कांग्रेसले अनलाइनमार्फत सदस्यता लिन सकिने व्यवस्था गरेको छ । सदस्यतासँगै किन कांग्रेस हुने ? भनी कांग्रेसको सिद्धान्त, दर्शन, विचार र मूल्यमान्यताबारे उक्त पोर्टलबाट जानकारी लिन सकिने व्यवस्था गरिनु पर्दछ । वेबसाइट र मोबाइल एप्स अध्यावधिक गरी तल्लो तहसम्मको जानकारी एवं प्रशिक्षण सामग्री उपलब्ध गराउन सकेमा नयाँ पुस्तामा पार्टीप्रति आकर्षण बढ्ने छ । केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारणले डिजिटल कांग्रेस निर्माणको जग बलियो बनाएको छ । आगामी दिनमा यो अभियानलाई थप नयाँ ढङ्गले अगाडि बढाउनु पर्छ ।
जागरण अभियान
युवा पुस्तामा राजनीतिक दल र तिनको नेतृत्वबारे रुचि जगाउनु जरुरी छ । आजको युवाले तत्काल प्रतिफल खोजिरहेको हुन्छ । प्रतिफल आउन सक्ने देखिएन भने युवा जमातमा पार्टीप्रति वितृष्णाको भाव पैदा हुन सक्छ । त्यसैले युवा मतदातालाई कांग्रेसले आफ्नो दर्शन, विचार तथा सिद्धान्तबारे प्रशिक्षित गर्नु पर्दछ । अहिलेको १४ वर्ष उमेरको नागरिक २०८४ मा मतदान गर्न पाउने हुन्छ । १४ वर्षभन्दा कम उमेरदेखि नै हातहातमा मोबाइल फोन र सामाजिक सञ्जालको पँहुचमा रहेको अवस्थामा पार्टी र नेतृत्वको बारेमा सामाजिक सञ्जालबाट सम्प्रेषण हुने मिथ्या र भ्रामक सूचनालाई स्पष्ट पारिनु पर्छ । कांग्रेसको सङ्गठन तल्लो तहसम्म बलियो बनाउन देशव्यापी प्रशिक्षण कार्यक्रम गर्नु जरुरी थियो । यसका लागि वार्षिक कार्यतालिका अनुसार देशव्यापी तल्लो तहबाट नै कांग्रेस र जनतालाई जोडनु पर्दछ । सामाजिक सञ्जालमा सम्प्रेषण हुने मिथ्या र भ्रामक सूचनाबाट आमनागरिकलाई जोगाई वास्तविकता जानकारी गराउन पार्टीले कांग्रेसले वडा तहसम्म पुग्ने गरी संस्थागत रूपमा अगाडि बढ्नु पर्छ ।
क्रियाशील सदस्यता
कांग्रेसको साधारण सदस्यताबारे खासै समस्या नभए पनि पार्टीको विभिन्न तहको नेतृत्वमा जान आवश्यक पर्ने क्रियाशील सदस्यताबारे अझै पनि समस्या नै रहेको हो कि भन्न आमकार्यकर्तामा परिरहेको छ । माथिल्लो तहमा उम्मेदवार हुन पार्टीको वडा तहबाट नै निर्वाचित भएर आउनु पर्ने र सो निर्वाचनमा वडाका क्रियाशील सदस्य निर्वाचन मण्डलमा रहने भएकाले महाधिवेशनको समयमा क्रियाशील सदस्यता पाउनै मुस्किल हुने गर्दछ । कैयौँ वर्ष पार्टीमा काम गरेर पनि क्रियाशील सदस्यता नपाउने अवस्था आएपछि अबको पुस्ताले अर्को महाधिवेशन कुर्न सक्दैन र विकल्पमा जान खोज्छ । पार्टीको सङ्गठन बलियो बनाउन सदस्य थप गर्दै जानुपर्ने हुन्छ । गुटगत राजनीतिको कारण सदस्यता लिन खोजेको अवस्थामा क्रियाशील सदस्यता नपाएर पार्टी छोड्नुपर्ने अवस्थाको अन्त्य हुनु पर्छ ।