काठमाडौँ, भदौ १५ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धानमा आत्मनिर्भर हुन चैते धान उत्पादनमा जोड दिएको छ । अगामी आर्थिक वर्षमै धानमा आत्मनिर्भर हुनका लागि चैते धान उत्पादन कार्यक्रममा जोड दिइएको छ ।
कृषिमन्त्री डा. वेदुराम भुसालले धानमा आत्मनिर्भर हुनका लागि चैते धान उत्पादनमा जोड नदिई नहुने बताउनुभयो । “जति गरे पनि वर्षे धान योभन्दा बढी उत्पादन गर्न सकिँदैन”, उहाँले भन्नुभयो, “एक त कृषियोग्य जमिन घट्दै गइरहेको छ, भएको जमिन पनि बाँझो हुन थालेको छ, त्यसले गर्दा वर्षे धान उत्पादनले मात्र लक्ष्यलाई भेट्टाउन सकिँदैन, त्यसका लागि चैते धान उत्पादनमा जोड दिनु पर्छ ।”
मन्त्री भुसालले यो आर्थिक वर्षमा चैते धान कति जमिनमा लगाउन सकिन्छ, कति उत्पादन गर्न सकिन्छ र त्यसका लागि सरकारले के व्यवस्थापन गर्नुपर्छ सबैको कुराको अध्ययन गरी प्रतिवेदन बुझाउन कृषि अनुसन्धान परिषद् (नार्क) लाई निर्देशन दिनुभएको छ । अढाई लाख हेक्टरमा चैते धान लगाइयो भने त्यसले हुने उत्पादनले आत्मनिर्भर हुनमा सहयोग पुग्ने भएकाले यो आर्थिक वर्षमा कति हेक्टरमा चैते धान लगाउन सकिन्छ, त्यसको सम्पूर्ण अध्ययन प्रतिवेदन चाँडै दिनका लागि उहाँले निर्देशन दिनुभएको छ ।
उहाँले निर्देशन दिँदै भन्नुभयो, “चैते धानका लागि सिँचाइ चाहिन्छ, त्यसका लागि मैले सिँचाइ मन्त्रीसँग कुराकानी अगाडि बढाएको छु, कहाँ कहाँ चैते धान लगाउन सकिन्छ, त्यसका लागि बिउ, सिँचाइ, औजार, मललगायत के के चाहिन्छ सबैको बारेमा लिखित जानकारी चाँडै गराउनूस्, काम तत्कालै सुरु गरिहाल्नुपर्छ ।”
राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम हर्दिनाथ, धनुषाका धान संयोजक डा. रामवरण यादवका अनुसार नेपालमा हाल ५६ लाख एक हजार मेट्रिक टन धान उत्पादन भइरहेको छ । त्यसमा चैते धानको योगदान आठ प्रतिशत मात्र छ । नेपाललाई खानका लागि मात्र ६८ लाख ७० हजार मेट्रिक टन धान चाहिन्छ । त्यसबाहेक बिउ, रक्सी, दानालगायत अन्य प्रयोजनका लागि छुट्टै ११ लाख मेट्रिक टन धानको आवश्यकता पर्छ अर्थात् नेपाललाई ७९ लाख ७० हजार मेट्रिक टन धानको आवश्यकता छ । यो हिसाब गर्दा २३ लाख ७९ हजार मेट्रिक टन धानको अभाव छ ।
तर तत्कालका लागि ६८ लाख ७० हजार मेट्रिक टन धान उत्पादन गर्न सकियो भने आयात गर्नु नपर्ने संयोजक यादवले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले हामीलाई मोटामोटी १३ लाख मेट्रिक टन धानको आवश्यकता छ, जसलाई चैते धानबाट मज्जाले पु¥याउन सकिन्छ ।”
यो आर्थिक वर्षमा एक लाख ७५ हजार हेक्टरमा चैते धानको खेती गर्न सकियो भने धानमा नेपालले लिएको लक्ष्य पूरा गर्न सकिने संयोजक यादवले दाबी गर्नुभयो तर त्यसका लागि आजैका मितिबाट लाग्नुपर्छ, उहाँले भन्नुभयो, “चैते धान कहाँ कहाँ लगाउन सकिन्छ, त्यहाँ सिँचाइको सुविधा कस्तो छ, किसान कस्ता छन्, बिउ, मलको अवस्था कस्तो छ, लगानी कस्तो छ सबै कुराको अध्ययन गरेर योजनाबद्ध तरिकाले खेती सुरु ग¥यो भने अगामी आर्थिक वर्ष धानमा आत्मनिर्भर हुन कसैले रोक्न सक्दैन ।”
सरकारका लागि १३ लाख मेट्रिक टन धान उत्पादन वृद्धि गर्न कुनै समस्या छैन तर वर्षे धानको उत्पादनमा छिट्टै वृद्धि गर्न नसकिने भन्दै उहाँले चैते धानको उत्पादनमा जोड दिए भने अगामी आर्थिक वर्ष आत्मनिर्भर हुने दाबी गर्नुभयो । चैते धान उत्पादनका लागि विशेष कार्यक्रम तयारी गरी किसानलाई आकर्षित गरियो भने यो असम्भव नरहेको उहाँ बताउनुहुन्छ ।
नार्कले चैते धानसम्बन्धी अध्ययन २०७४ सालदेखि थालेको हो । २०७४ सालमा नार्कले चैतमा किसानलाई चैते–५ जातको धान लगाउन सकिने सिफारिस गरेको थियो । त्यही बेलादेखि चैते धानमा सरकारले लगानी गर्न सुरु गरेको देखिन्छ ।
चैते–५ जातको धानको दाना मसिनो, धेरै फल्ने, रोग र किरा कम लाग्ने भनेर प्रमाणित गरेपछि किसानले यो धान लगाउन सुरु गरेका थिए । अहिले किरा कम लाग्ने, मोटो दाना भएको चैते–४ जातको धान पनि आइसकेको छ । यो जात पनि किसानले मन पराउन थालेका छन् ।
बाह्रै महिना सिँचाइ सुविधा हुने केही ठाउँमा मात्र चैते धान लगाउने गरिएकामा अहिले नार्कले निकालेका नयाँ नयाँ जात कम सिँचाइ हुने ठाउँमा पनि लगाउन थालिएको छ । हाल हर्दिनाथ–१, चैते–३, चैते–२, चैते–४, चैते–५, चैते–६ जातका धान लगाउने गरिएको छ । हाल नेपालमा एक लाख ५० हजार हेक्टरमा चैते धान खेती हुन्छ ।