काठमाडौं, भदौ १४ गते। राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राज्य अमेरिकाको संसदीय प्रतिनिधिमण्डलले बिहीबार भेटवार्ता गरेको छ। मार्क पोकनको नेतृत्वमा आएको अमेरीकी सांसदको प्रतिनिधिमण्डलसँग राष्ट्रपति कार्यालयमा भेटवार्ता भएको हो।
भेटमा राष्ट्रपति पौडेलले समाजमा मानवीय मूल्य कायम गर्नका लागि सबैभन्दा पहिले लोकतन्त्र स्थापित हुन जरुरी रहेको बताउँदै पछिल्लो समय लोकतन्त्रको स्थापनासँगै नेपालमा नयाँ संविधानले समावेशी प्रावधानसहितका मानवीय मूल्यलाई स्थापित गरेको धारणा व्यक्त गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो।
राष्ट्रपति पौडेलले लोकतन्त्रका लागि लामो समय संघर्ष गरेका कारण विभिन्न सिमान्तकृत समुदायका समस्या महसुस गर्न सकेका कारण नै नयाँ संविधानमा मानवीय मूल्यका ती व्यवस्था समेट्न सकिएको सन्दर्भ उल्लेख गर्नुभयो।
उहाँले लामो संघर्षपछि नेपालमा राजनीतिक रुपले लोकतन्त्र स्थापित भए पनि त्यहीअनुसारको सामाजिक व्यवस्था र अवस्था परिवर्तन गर्न धेरै काम गर्न बाँंकी रहेको बताउनुभयो।
त्यसमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमणका एजेण्डा नेपालका लागि महत्त्वपूर्ण रहने राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो।
“गरीबीले नै मानवीय मूल्य विरुद्धका विकृति देखापर्छन्, गरीबी हटेपछि मात्र विकृति क्रमशः आफैं हट्दै जाने हो”, राष्ट्रपति पौडेलले भन्नुभयो, “गरीबीका कारण नेपाली जनताले धेरै समस्या भोग्नुपरेको छ, त्यो समस्याबाट जनताको जीवनस्तरमाथि उठाउन हामी कोशिस गरिहेका छौं। त्यसमा अमेरिकाजस्ता मुलुकको सहयोग हाम्रा लागि महत्वपूर्ण हुन्छ। ”
नेपालको संविधान निकै राम्रो रहेको र आफूहरू त्यसबाट प्रभावित भएको तथा अमेरिकामासमेत नभएको महिलासम्बन्धी हकअधिकारको व्यवस्था नेपालमा भएको बताउँदै नेपालमा मानवीय मूल्य स्थापित गर्न के के गर्न सकिन्छ भनेर छलफल गर्नु आफूहरूको भ्रमणको उद्देश्य रहेको अमेरिकी प्रतिनिधि मण्डलको भनाइ थियो।
उनीहरूले मानव अधिकार, श्रम, आप्रवासी, बालबालिका, बालविवाह, रोजगारी, व्यापार तथा जनताको न्यायमा पहुँचजस्ता विषयमा छलफल गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए। प्रतिनिधिमण्डलमा सांसदहरू मार्क पोकन, डान किल्डी, भेरोनिका एस्कोबार, सुसन वाइल्डका साथमा नेपालस्थित अमेरीकी राजदूत डीन थोम्पसनलगायतको सहभागिता थियो।