काठमाडौं, भदौ १४ गते। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भ्रष्टाचार, अशिक्षा र गरिबीको अन्त्यका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउनुभएको छ।
बिहीबार नेपाल पर्वतारोहण सङ्घको ३३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री किरातीले देशको प्रमुख शत्रु भ्रष्टाचार, अशिक्षा र गरिबी भएको बताउनुभएको हो। उहाँले भ्रष्टाचार, अशिक्षा र गरिबी देशको साझा शत्रु भएको उल्लेख गर्दै उहाँले यसलाई राष्ट्रिय एकताका साथ परास्त गर्नुपर्ने बताउनुभयो। उहाँले यसको निम्ति राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउनुभयो।
उहाँले सो राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै गर्नुपर्ने बताउनुभयो। मन्त्री किराँतीले राष्ट्रिय सहमतिको सरकारले नै भ्रष्टाचार, गरिबी र अशिक्षाको अन्त्य गर्नसक्ने बताउनुभयो।
उहाँले भन्नुभयो, ‘‘हाम्रो अहिलेको सबैभन्दा ठुलो प्रमुख शत्रु भनेको भ्रष्टाचार हो। हाम्रो प्रमुख शत्रु अशिक्षा हो। एक्काइसौँ शताब्दीको यो घडीमा हामीलाई भ्रष्टाचार र अशिक्षा सैह्य छैन। भ्रष्टाचार साझा शत्रु हो भने हामीले मिलेर राष्ट्रिय एकताका साथ नै यसलाई परास्त गर्नुपर्छ भन्ने लाग्छ। भ्रष्टाचार पनि देशको साझा शत्रु हो भने, अशिक्षा र गरिबी पनि हाम्रो देशको साझा शत्रु हो भने हामी राष्ट्रिय सहमतिको सरकारतिर जाऔँ। राष्ट्रिय सहमतिको सरकारबाट हामीले यो गरिबीको अन्त्य गर्ने, भ्रष्टाचारको अन्त्य गर्ने, अशिक्षाको अन्त्य गर्ने बाटो अवलम्बन गर्नसक्छौँ। राष्ट्रिय सहमतिको सरकार प्रचण्ड नेतृत्वमै बनाऔँ। किनभने यही नेतृत्वमै देखियो अप्ठ्यारो परेको बेला निकास दिनसक्ने। उस्तै परे भत्काउन पनि आँट गर्नसक्ने। त्यसो भएको हुनाले यही नेतृत्वमा पहिला राष्ट्रिय सहमतिको सरकार बनाएर जाऔँ। राष्ट्रमा यति ठुलो सङ्कट छ। राष्ट्रिय सहमतिको सरकार बनाउँदा खेरी थुप्रै राजनीतिक पार्टीले भाग लिदाँखेरी सरकारमा अटाउनुपर्ने अवस्था आयो भने सबभन्दा पहिले हामीले त्याग्न तयार हुनेछौँ। सबभन्दा पहिले म त्याग्न पनि तयार हुनेछु।’’
उहाँले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि पुराना ऐन, कानुनका कारण समस्या भइरहेको उल्लेख गर्दै नयाँ ऐन, कानुनहरू निर्माण गर्दै गरेको बताउनुभयो।