श्रावण शुक्लपक्ष पूर्णिमामा पर्ने यस वर्षको संस्कृत दिवस एवं जनैपूर्णिमा पर्व हाम्रो घर आँगनमा आइसकेको छ । तागाधारीले यस दिन विशेष मन्त्रण गरिएको जनै लगाउने गर्छन् । जनै धारण गर्ने मन्त्र – ‘यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत् सहजं पुरस्तात् । आयुष्यमग्य्रंप्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः’ हो । चान्द्रमान अनुसार श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा अर्थात् श्रावणी पूर्णिमा भनिन्छ । पूर्वीय दर्शनका यजुर्वेदीका लागि यो वर्षभरिको महान् पर्व हो ।
मानव शरीरमा शुद्ध र स्वाध्याय गरिनै रहनुपर्ने हुँदा यस दिनलाई शरीर शुद्धि र विशेष स्वाध्याय गर्ने दिनका रूपमा पनि मानिन्छ । विशेष स्नान गरी यज्ञोपवीत अर्थात् जनै वा ब्रह्मसूत्र धारण गर्ने दिन वा उपाकर्म गर्ने दिनका रूपमा पनि यस दिनलाई मानिन्छ । यजुर्वेदीका लागि वेदको अध्ययन आरम्भ गर्ने दिन, श्रवण नक्षत्रयुक्त भएकाले यसलाई श्रावणी भन्ने गरिएको हो ।
सामवेदीहरू भाद्र शुक्ल पूर्णिमामा र अथर्ववेदीले श्रावण या भाद्र पूर्णिमाका दिन उपाकर्म गर्ने गर्छन् । तागाधारीले यस दिन बिहानै विशेष चोखो माटो, खरानी, गोबर, जौ, तिल, कुश प्रयोग गरी स्नान गर्छन् । सप्तऋषिको पूजा गरी वेद मन्त्रले नयाँ जनै मन्त्रेर रुद्राभिषेकसहित नयाँ जनै प्रयोग गरी पुरानो जनैलाई झिक्ने गर्छन् । जनै उतार्ने मन्त्र : एतावद्दिनपर्यन्तं ब्रह्म त्वं धारितं मया । जीर्णत्वात् त्वत् परित्यागो गच्छ सूत्र यथासुखम् ।। सबैजसोले कपासद्वारा बनाइएको जनै नै प्रयोग गर्ने गर्छन् । जनै प्रयोग गर्नुअघि विधि विधानले जनैलाई संस्कार गरिसकेको हुनु पर्छ । चूडाकर्म, व्रतबन्ध आदि कर्म भइसकेकाका लागि यस दिन जनैलाई नवीकरण गर्ने दिन सम्झी नयाँ मन्त्रिएको जनै लगाई पुरानो जनैलाई आफ्ना स्थानमा जाऊ भनी प्रार्थना गरी फुकालिन्छ ।
प्रजापति देवता सँगसँगै यज्ञोपवीत ‘जनै’ को उदय भएकाले नयाँ जनै प्रयोग गर्दा पवित्र प्रजापति रूपका जनैले मेरो शरीरलाई ब्रह्मतेज प्राप्ति र शरीरको रक्षाकवचका रूपमा रहन भगवदीय प्रार्थनासमेत गरी जनै लगाउने गरिन्छ । विधिपूर्वक मन्त्रणा गरिएको जनैले मानिसको शरीरमा तेज, पुष्टि, कृति, बुद्धि, धर्म वृद्धिका साथै आयु र आरोग्यसमेत प्राप्त हुन्छ । शतं संवत्सरं जीवेत् भन्ने वैदिक चिन्तन मानिसको पूर्ण आयु १०० वर्षको र ९६ सूत, नौ गुणा र तीन डोरा तथा त्यसमा प्रयोग भएका ग्रन्थीहरूले मानिसको जीवन पूर्णायुको सङ्केत गर्छ । व्रतबन्धादि संस्कार गर्दा केही जीवन समय व्यतीत भइसकेको भए पनि झन्डै बाँकी ९६ वर्ष, ९६ सुत, बाँकी जीवनको पूर्णता र प्रत्येक वर्षको उपाकर्मले यसको नवीकरण र शुद्धीकरणको सङ्केत गर्छ ।
जनैमा भएका पाँच ग्रन्थीले भने मानव जीवनले गर्नुपर्ने पाँच मुख्य कर्मको सङ्केत गर्छ । सदैव स्वाध्यायमा रहने, होमादि कार्यबाट देवतालगायत सम्पूर्ण जीवात्मालाई आहुतिमार्फत खुसी गराउने, गृहस्थ धर्म निर्वाहका लागि अतिथि सत्कार गर्ने, सदैव जल तर्पण आदिले पितृ यज्ञ गर्ने, सदैव प्राणीलाई जल, अन्न दिएर भूत यज्ञ गर्ने यी पाँच प्रमुख यज्ञ मानिसले दिनदिनै गर्नुपर्ने हुन्छ । सक्नेले यी कार्य सधैँ गर्छन्, नसक्नेले जनैपूर्णिमाका दिन यज्ञोपवीत संस्कार गर्दा तिनबाट हुन नसकेका दोष मुक्तिका लागि सम्पूर्ण ब्रह्माण्डमा रहेका स्थावरदेखि जीवात्माप्रति श्रद्धाभाव व्यक्त गर्दै महासङ्कल्पका साथ उपाकर्म गर्छन् ।
ब्रह्माण्डभित्रका सम्पूर्ण लोकालोक अतल, वितल, सुतल, भूतल, रसातल, तलातल, पातालदेखि धर्तीमा रहेका सम्पूर्ण नदी, जलाशय, सागर, महासागर र अन्तरिक्षका भूत, पिशाच, प्रेतगणदेखि आकाशसम्मका ब्रह्मलोक, विष्णुलोक, शिवलोकसम्म र सृष्टिदेखि आजपर्यन्त रहेका, आफू सम्बन्धित तमाम वायुमण्डल र समस्त भूगोल, खगोल, आकाशीय पिण्डलाई समेत स्मरण गरी तृप्त पार्ने प्रयास गरिन्छ । आफूबाट आशा गरिएका समस्त जीव, जीवात्मालाई वर्षभरि नै तुष्टि, पुष्टि गर्न नसकेकोमा क्षमाप्रार्थी हुँदै प्रायश्चित गर्दै जलादि तर्पण दान गरी नयाँ जनै लगाउने क्रममा ब्रह्माण्डीय पिण्डको सम्पूर्ण सकारात्मक ऊर्जा आफ्नो शरीरमा संरक्षित होस् भन्ने कामना पनि गरिन्छ । यसरी प्रार्थना गर्दै स्नान र पूजाका लागि यस दिन छुट्टै आफैँले वा ब्राह्मणद्वारा महासङ्कल्प गरी गराई जानेर वा अन्जानमा यसअघि भएका सम्पूर्ण कर्मदोष पाप, प्रदूषण, कुकर्मलाई सकेसम्म स्मरण गरी सम्पूर्ण दोषादिबाट टाढा राख भनी परमेश्वरप्रति विशेष प्रार्थना गर्नुपर्ने वैदिक विधान रहेको छ ।
पितृहरूका लागि जनै अपसव्य गरी विशेष तर्पण दिइन्छ भने देवताका लागि जनै सव्यबाट तर्पण गरिन्छ । वर्षभरि भएका कुकर्म, झुटो बोली, अभक्षण, खराब साक्षी, गम्यागम्य दोषदेखि आफ्ना सम्पूर्ण कुरीति, कुसंस्कार, कुप्रवृत्ति र तिनका प्रभावबाट मुक्त राखी नवीनतम उत्साहसहितको नयाँ जीवनी आरम्भ गर्दै छु भन्ने प्रतिज्ञासमेत यस कर्मबाट गरिन्छ ।
रक्षाबन्धनको धागो भने देवी इन्द्रायणीमार्फत देवराज इन्द्रलाई बाँधिदिएको र यसो गर्दा गुरु वृहस्पतिले विशेष मन्त्र जप गरेको जसको प्रभावले दानवहरू पराजित भई देवताहरू सुरक्षित रहेको प्रसङ्ग र संस्मरणस्वरूप रक्षा धागो गुरुका हातबाट बाँध्ने परम्परा विकसित हुँदै आएको हो । यस्तो सुरक्षा कवचको तयारी श्रावण शुक्ल चतुदर्शीका दिन भएको र मन्त्रसहित इन्द्रका हातमा बाँधिएको समय पूर्णिमाको दिन परेकाले पनि यस पूर्णिमालाई लागि रक्षाकवचका रूपमा लिन थालिएको हो । शौच गर्दा पनि जनैलाई पवित्र राख्न कानमा अड्काउने गरिन्छ । आशौच – जन्म, मृत्युपछि ग्रहण – चन्द्र, सूर्यपछि प्रत्येक चार महिनापछि नववर्ष, विशेष देव पितृ कार्यमा नयाँ जनै लगाउनुपर्ने हुन्छ ।
जनैपूर्णिमाका दिन खासगरी नौ थरीका गेडागुडी मिलाएर क्वाँटी खाने चलन छ । स्वास्थ्यवर्धक विशेष खाना मास, मुँग, बोडी, सिमी, गहत, राज्मा, चना, भटमास, केराउ आदि पोषकतìव एकै ठाउँमा मिसाई भिजाई टुसा उमारी तयार पारेको क्वाँटीलाई विशेष मरमसलासहित खानाले शरीरमा तेज र पुष्टि बढ्ने हुँदा यस दिन विशेष क्वाँटी खाने चलन चलेको हो । कृषिप्रधान मुलुक हाम्रा लागि विशेष गरी वर्षायाममा खेतबारीमा रुझीभिजी किसानी कार्य गर्नुपर्ने हुँदा यस ऋतुभरि र नजिकै अर्काे शारदीय चिसो ऋतु सुरु हुने हुँदा स्वास्थ्य रक्षा गरी शारीरिक तन्दुरुस्तीका लागि तयार रहने सन्देशसमेत दिएको हुन्छ ।