• १३ मंसिर २०८१, बिहिबार

धनगढी नगर प्रहरीद्वारा १७५ सर्पको उद्धार

blog

धनगढीमा सर्प उद्धार गर्दै नगर प्रहरी । तस्बिर : सुनिता विक

अविनाश चौधरी

धनगढी, भदौ १३ गते । कैलालीको धनगढी उपमहानगरपालिकामा कार्यरत नगर प्रहरीले दुई महिनाको अवधिमा १७५ सर्पको उद्धार गरेका छन् । सर्प उद्धारसम्बन्धी तालिम लिएर नगर प्रहरीले नगर क्षेत्रमा मानिसको घर, गोठ, ओछ्यानमुनि, भान्सामा पसेका सर्प उद्धार गर्दैआएका छन् ।

तालिम लिएर विषालु र विषालुरहित गरेर १७५ सर्पको उद्धार गरिसकेको नगर प्रहरी कृष्ण भट्टले जानकारी दिनुभयो । सर्प उद्धारका लागि खबर आएपछि जुनसुकै समयमा पनि सम्बन्धित ठाउँमा पुगेर उद्धार गर्नेगरेको उहाँले जानकारी दिनुभयो । 

नगर प्रहरीले अहिलेसम्म अति विषालु गोमन सर्प ६३ वटा, लक्ष्मी नाग (बेन्डेट करेत) १५ वटा, करेत आठ वटा, भाइपर चार वटाको उद्धार गरेको जनाएको छ । यसैगरी, राजगोमन सर्पका सात वटा बच्चाको उद्धार गरिएको भट्टले बताउनुभयो । त्यस्तै, धामन सर्प ४६ वटा, पानी सर्प १९ वटा, अजिङ्गर एक वटाको उद्धार गरिएको छ । 

वडा ६ मा राजगोमन सर्पको बच्चा भेटिएको भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार त्यहाँ बच्चा भेटिए पनि आमा भने भेटिएको छैन । उद्धार गरिएका सर्पलाई डिभिजन वन कार्यालयको समन्वयमा बस्तीभन्दा केही टाढाको जङ्गलमा छाडिने गरेको भट्टले बताउनुभयो । 

धनगढीमा यसअघिसम्म सर्प उद्धारकर्ता टोली थिएन । धनगढी उपमहानगरपालिकामा कार्यरत २५ जना सबै नगर प्रहरीलाई सर्प उद्धारसम्बन्धी तालिम उपलब्ध गराएपछि नगर प्रहरीहरू अन्य कामको साथै सर्प उद्धारमा खटिने गरेका छन् ।

टोलीको सक्रियताका कारण सर्प र मानिस दुवैको ज्यान जोगिने गरेको छ । भारतबाट सर्प उद्धारसम्बन्धी सामग्री ल्याएर उद्धारको काम गर्दैआएको नगर प्रहरी भट्टले बताउनुभयो ।