• २१ असार २०८१, शुक्रबार

मुख्यमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन करार सम्झौता

blog

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र प्रदेशका वन तथा वातावरणमन्त्री मसिना खड्काबीच कार्यसम्पादन सम्झौता करार हुँदै । तस्बिर : राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, भदौ १३ गते । बागमती प्रदेश सरकारका मुख्यमन्त्री र प्रदेशका मन्त्रीबीच कार्यसम्पादन करार सम्झौता भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बुधबार भएको कार्यक्रममा चालु आर्थिक वर्ष २०८०/८१ मा मन्त्रीहरूले सम्पादन गर्ने कार्यहरू र जिम्मेवारीका बारेमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलसँग प्रदेशका मन्त्रीहरूले कार्यसम्पादन करार सम्झौता गर्नुभएको हो । 

कार्यसम्पादन करार सम्झौतामा मन्त्रीहरूले चालु आवमा गर्नुपर्ने कामहरू, कार्ययोजना, समयसीमालगायत उल्लेख गरिएको छ ।मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौतापछि मुख्यमन्त्री जम्कट्टेलले सम्झौताले प्रदेश सरकारका कामलाई व्यवस्थित गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले प्रदेशको विगतका पाँच वर्षहरूको अनुभवका आधारमा चालु आवको कार्यक्रम र बजेट ल्याइएको भन्दै प्रदेश सरकारले अब कामलाई तीव्रता दिने बताउनुभयो । 

मुख्यमन्त्री जम्कट्टेल र आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा (तामाङ), आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठ, सामाजिक विकासमन्त्री कुमारी मुक्तान, भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन, स्वास्थ्यमन्त्री उत्तम जोशी र वन तथा वातावरणमन्त्री मसिना खड्काबीच कार्यसम्पादन सम्झौताभएको छ ।

यस्तै, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थबहादुर लामा, कृषि तथा पशुपन्छी विकासमन्त्री डा. राजेन्द्रमान श्रेष्ठ र श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालसँग सम्झौता हुन बाँकी छ ।

प्रदेशका ११ मन्त्रीमध्ये तीनजना मन्त्री विशेष कारणवश अनुपस्थित हुनुभएका कारण पछि सम्झौता हुने प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायले जानकारी दिनुभयो । प्रदेशका सचिव शिवराम गेलालले मुख्यमन्त्री र मन्त्रीबीचको कार्यसम्पादन सम्झौताले प्रदेश सरकारका कार्यक्रम र योजनाको प्रगतिको अनुगमन गर्न सहज हुने बताउनुभयो ।