• १३ मंसिर २०८१, बिहिबार

जनता आवासका घर बेवारिस

blog

हुम्ला समाचारदाता

हुम्ला, भदौ १३ गते । खार्पुनाथ गाउँपालिका–२ को सुकाडिलको औलमा लक्षित वर्गका लागि सात वर्षअघि निर्माण गरिएका घरमा अहिलेसम्म पनि बसोबास गराइएको छैन। न्यून आयस्रोत भएका परिवारलाई अपायक पर्ने स्थानमा आवास निर्माण गरिएकाले बसोबास गराउन नसकिएको हो। जस्तापाताले छाएका तीनकोठे ११ वटा घर निर्माण गरिएका छन्।

स्थानीय मानसिंह रावलका अनुसार न्यून आय भएकालाई निर्माण गरिएको आवास अपायक रहेको छ। यसका लागि निर्माण गरिएको हो, उनीहरू नै नबसेपछि घर जीर्ण हुनु स्वाभाविक हो। हिउँदयाममा पशुबस्तु राख्ने स्थानमा आवास निर्माण गरिएकाले पनि समस्या आएको हो। स्थानीय वीरसिंह रावलका अनुसार ती घर निर्माणमा साढे तीन लाख रुपियाँ खर्च भएको छ। हाल सबै घरका झ्याल ढोकाको काठ फालिएको छ। भित्तासमेत भत्किएको अवस्था रहेको छ। जनता आवास कार्यक्रममार्फत निर्माण गरेर सेवाग्राहीलाई हस्तान्तरण गरिएको थियो। खार्पुनाथ गाउँपालिका–५ को याङ्चु बजारमा निर्माण गरिएका ३५ वटा आवास गृहको अवस्था पनि उस्तै छ। हाल ती भवन पनि बेवारिसे अवस्थामा रहेको बताइन्छ।