• १३ मंसिर २०८१, बिहिबार

शैक्षिक ऋण कार्यक्रम प्रभावकारी

blog

गोरखापत्र समाचारदाता 

भक्तपुर, मङ्सिर १३ गते । भक्तपुर नगरपालिकाले सुरु गरेको शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी ऋण दिने कार्यक्रम प्रभावकारी बन्दै गएको छ । 

आर्थिक अभावका कारण पढाइबाट वञ्चित विद्यार्थीलाई लक्षित गरी नगरपालिकाले विगत पाँच वर्षदेखि यो कार्यक्रम सञ्चालन गरिरहेको छ । नगरवासी कुनै पनि विद्यार्थी आर्थिक अभावका कारण उच्च शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्य नगरपालिकाले लिएको छ । 

यसमार्फत अहिलेसम्म ७५१ जनालाई शैक्षिक ऋण प्रदान गरेको नगरपालिकाले जनाएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले विद्यार्थीलाई नगरपालिकामार्फत पाँच लाख रुपियाँसम्म ऋण दिइएको जानकारी दिनुभयो । कार्यक्रम सञ्चालनमा ल्याए पनि उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो । 

नगरपालिकाका अनुसार शैक्षिक ऋण स्वीकृत भएकामध्ये जम्मा ४५४ जना विद्यार्थीले शैक्षिक ऋण लिएर अध्ययन गरिरहेका छन् भने ५१ जनाले ऋण चुक्ता गरिसकेका छन् । अहिलेसम्म नगरपालिकाले शैक्षिक ऋणमा १३ करोड ६९ लाख ५० हजार रुपियाँ लगानी गरेको छ । एक करोड ६४ लाख ९४ रुपियाँबराबरको साँवा ब्याज फिर्ता भइसकेको छ । 

नगरप्रमुख प्रजापतिले भन्नुभयो, “भक्तपुर नगरपालिकाको चौथो नगर सभा २०७५ सालदेखि शैक्षिक ऋण दिनेसम्बन्धमा बनेको निर्देशिका निर्माण गरी ऋण दिने व्यवस्था गरेको हो, यो कार्यक्रम अहिले प्रभावकारी बन्दै गएको छ ।” 

ऋण लिनका लागि भक्तपुर नगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने जेहेनदार तथा विपन्न विद्यार्थी हुनुपर्ने, ऋण माग गर्ने विद्यार्थीले अध्ययन गरिने विषय सङ्काय र शैक्षिक संस्था नेपाल सरकारको स्वीकृति प्राप्त वा नेपाल सरकारद्वारा मान्यताप्राप्त हुनुपर्ने र शैक्षिक ऋण एसईई तहभन्दा माथिको शैक्षिक तहलाई मात्र दिइने गरी निर्देशिकामा उल्लेख छ । अध्ययन गर्दासम्म ऋण तिर्न नपर्ने र अध्ययन गरिसकेपछि क्रमशः धितोको रकम चुक्ता गर्दै जानुपर्ने व्यवस्था छ । 

साथै नगरपालिकाद्वारा सञ्चालित दुई वटा इन्जिनियरिङ कलेजसहित सात वटा उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थामा वर्षको चार करोडभन्दा बढी छात्रवृत्तिसमेत प्रदान गर्दै आएको नगरपालिकाले जनाएको छ ।