• १३ असोज २०८१, आइतबार

कर्णालीका अस्पताल चिकित्सक दरबन्दी छ, पदपूर्ति छैन

blog

रजनी योगी

सुर्खेत, भदौ १३ गते । कर्णालीले वर्षौंदेखि स्वास्थ्य पूर्वाधार र जनशक्ति अभाव झेल्दै आएको छ। दक्ष जनशक्तिविहीन जिल्ला अस्पतालले करारकै भरमा सेवा दिनुपर्ने बाध्यता छ। पूर्वाधारको अवस्था पनि उस्तै छ। 

वर्षौं पुराना जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको छ। प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा केही लगानी गरे पनि त्यो पर्याप्त छैन। जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दो छ। स्वास्थ्य सेवा कार्यालय (जिल्ला अस्पताल) डोल्पाका लागि नवौँ तहका तीन चिकित्सकको स्वीकृत दरबन्दी छ तर दरबन्दी अनुसार एक जना पनि विशेषज्ञ चिकित्सक कार्यरत छैनन्। एक जना मेडिकल अधिकृतका भरमा अस्पताल सञ्चालनमा छ। तथापि अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी छ।

दक्ष जनशक्ति र उपचारका लागि आवश्यक उपकरण अपुग भए जस्तै अस्पतालका लागि अन्य भौतिक पूर्वाधारको पनि अभाव छ। कार्यालयका निमित्त प्रमुख डा. रत्नवीर सुनारका अनुसार बिरामीको स्वास्थ्य परीक्षण एक्लैले गर्नुपर्दा अस्पतालबाट प्रवाह हुने सेवा प्रभावकारी हुन सकेको छैन। स्वास्थ्य सेवा कार्यालय डोल्पामा स्वीकृत दरबन्दी ४७ जनाको छ। त्यसमध्ये अस्पतालमा दक्ष जनशक्तिको अभाव छ। 

स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा बिरामीको चाप बर्सेनि बढ्दो छ। २५ शय्याबाट सुरु भएको अस्पतालको क्षमता ५० शय्यामा पुगेको छ। सेवा र भवन पनि थपिएका छन् तर आवश्यकता अनुसार जनशक्तिको सङ्ख्या बढ्न सकेको छैन। स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख डा. प्रतीक्षा भारतीले बिरामीको चाप र थपिएका सेवाको अनुपातमा कर्मचारीको दरबन्दी व्यवस्था नहुँदा अस्पताल सञ्चालनमा समस्या भएको बताउनुभयो। कुल ६० जनाको स्थायी दरबन्दी रहेको अस्पतालमा अहिले ३० जना मात्रै कार्यरत छन्। ३० जनाको दरबन्दी रिक्त छ। करारका कर्मचारी मात्र ५८ जना छन्। अस्पतालमा छ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ। अस्पतालमा मेडिकल अधिकृत पदमा पाँच जनाको दरबन्दी रहेकोमा एक जना पनि दरबन्दीमा कार्यरत छैनन्। 

स्वास्थ्य सेवा कार्यालय दैलेखमा ६१ जना स्थायी कर्मचारीको दरबन्दी छ तर अहिले ४० जना मात्रै कार्यरत छन्। २१ जनाको दरबन्दी रिक्त छ। त्यसै गरी नौ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेकोमा दरबन्दी अनुसार एक जना पनि विशेषज्ञ चिकित्सक छैनन्। जिल्लास्थित प्रमुख स्वास्थ्य संस्था (अस्पताल) रहेको कार्यालयले वर्षौंदेखि जनशक्ति अभाव झेलिरहेको छ। नियमित स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको कार्यालयका निमित्त प्रमुख डा. धर्मराज रेग्मीले बताउनुभयो। 

जिल्ला अस्पतालको भवन निर्माणमा ढिलाइ हुँदा स्वास्थ्य सेवा कार्यालय कालीकोटले अहिले अस्थायी टहरोबाट काम चलाइरहेको छ। पुरानो भवन भत्काइएको भए पनि नयाँ भवन निर्माण थालेको छ वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन। यसले गर्दा अस्पतालको सेवा प्रवाहमा समस्या भएको छ। कार्यालयका निमित्त प्रमुख डा. सङ्केत विश्वकर्माले सेवाग्राहीको चाप बढ्दा उक्त अस्थायी भवनबाट सहज रूपमा सेवा प्रदान गर्न कठिनाइ भएको बताउनुभयो। १५ शय्याको मान्यता पाएको उक्त अस्पतालले २७ शय्याबाट सेवा दिइरहेको छ। अस्पतालमा ४४ जनाको स्थायी दरबन्दी भए पनि हाल २७ जना कार्यरत छन्। चिकित्सक नहुँदा अस्पतालबाट विशेषज्ञ सेवा प्रवाह हुन सकेको छैन। 

स्वास्थ्य सेवा कार्यालय मुगुमा नवौँ तहका स्थायी चिकित्सक छैनन्। यसले गर्दा जटिल रोगको उपचारमा समस्या हुने गरेको छ। जटिल खालको रोगका बिरामी जुम्ला र नेपालगन्ज जानुपर्ने बाध्यता अझै हटेको छैन। अस्पतालमा स्वीकृत दरबन्दी ४४ जना भए पनि २६ जना कार्यरत छन्। 

स्वास्थ्य सेवा कार्यालय (जिल्ला अस्पताल) हुम्लामा पूर्वाधारसँगै दक्ष जनशक्तिको अभाव छ। अस्पतालमा ४४ जनाको स्वीकृत दरबन्दी छ। अहिले ३२ जना जनशक्ति मात्र स्थायी दरबन्दीमा कार्यरत छन्। करारमा एक जना विशेषज्ञ चिकित्सक मात्र अस्पतालमा कार्यरत छन्। हाल अस्पतालमा करार र स्थायी गरेर जम्मा ६२ जना कर्मचारी कार्यरत छन्। 

स्वास्थ्य सेवा कार्यालय (जिल्ला अस्पताल) रुकुमपश्चिममा शय्याको अभाव हुँदा बिरामी मर्कामा परेका छन्। शøया अभावमा एकै शøयामा तीन जनासम्मको उपचार गर्नुपर्ने बाध्यता छ। कार्यालयका निमित्त प्रमुख डा. सुशील पोखरेलले पर्याप्त शय्या नहुँदा उपचारमा अप्ठ्यारो भएको जानकारी दिनुभयो। स्वास्थ्य सेवा कार्यालय रुकुमपश्चिममा ४४ जनाको स्वीकृत दरबन्दी छ। हाल ३५ जना स्थायी कर्मचारी कार्यरत छन्। मेडिकल अधिकृत पदमा छ जना छात्रवृत्ति करार र एक जना करार डेन्टल पदमा कार्यरत गरी सात जना मेडिकल अधिकृत कार्यरत छन्। अस्पतालमा कार्यालयमा पूर्वाधार पनि अभाव छ। एकातिर बिरामीलाई साँघुरो कोठाबाट सेवा दिनु परिरहेको बताइन्छ। सेवा विस्तारसँगै थप भएका उपकरणसमेत राख्ने ठाउँको अभाव छ। 

स्वास्थ्य सेवा कार्यालय सल्यानमा पनि जनशक्ति अभाव छ। अस्पतालमा स्वीकृत दरबन्दी ४४ हो तर अहिले ३० जना स्थायी पदमा कार्यरत छन्। १४ दरबन्दी रिक्त छ। विशेषज्ञ चिकित्सकको दरबन्दी छ जना रहेको अस्पतालमा एक जना पनि दरबन्दी अनुसारका चिकित्सक छैनन्। अस्पतालले भौतिक पूर्वाधार अभाव झेलिरहेको बताइन्छ।