• १३ मंसिर २०८१, बिहिबार

सात महिनामा पाँच सय मुद्दा दर्ता

blog

नविन सुबेदी

सुर्खेत, भदौ १२ गते । पछिल्लो समय चेक बाउन्सका मुद्दाहरू बढ्दै गएका छन् । पछिल्लो सात महिनाको अवधिमा चेक बाउन्स अनादर सम्बन्धी झण्डै पाँच सय मुद्दाहरू दर्ता भएको सुर्खेत प्रहरीले जनाएको छ । गएको माघ महिनादेखि हालसम्ममा सुर्खेतको वीरेन्द्रनगरमा पाँच सय मुद्दाहरू दर्ता भएका छन् ।

दर्ता भएका मुद्दाहरूमध्ये हालसम्ममा जिल्ला प्रहरी कार्यालय, सुर्खेतबाट एक सय ३९ मुद्दाहरू प्रक्रियामा अगाडि बढेका छन् । प्रहरीको तथ्याङ्क अनुसार ४५ वटा मुद्दाहरू मिलापत्र भएका छन् । त्यसैगरी, अन्य मुद्दाहरू छलफलको प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले बताउनुभयो । "पछिल्लो समय प्रहरीबाट पनि चेक बाउन्सका मुद्दाहरू दर्ता हुन थालेको छ," उहाँले भन्नुभयो, "सर्वोच्चको नजिर आएपछि गएको माघ महिनादेखि मुद्दा दर्ता गर्न थालेका हौँ ।"

अहिले मुद्दा दर्ता गर्नेको सङ्ख्या पनि बढ्दो छ । चेक बाउन्स तथा बैङ्किङ कसुरमा जाहेरी दिनेहरूमा पुरुष र महिलाको सङ्ख्या उस्तै रहेको शाहीले जनाउनुभयो । मुद्दामा पीडकतर्फ करिब ४० प्रतिशतको सङ्ख्यामा महिला छन् । अन्य प्रकृतिका मुद्दाभन्दा चेक बाउन्सको मुद्दामा महिलाको संलग्नता बढी देखिएको छ । अन्य मुद्दामा १० देखि १५ प्रतिशतसम्म महिलाको संलग्नता देखिएको छ भने चेक बाउन्समा ४० प्रतिशतसम्म महिलाको संलग्नता रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

सरकारले विद्युतीय कारोबार ऐन (साइबर अपराध) र बैङ्किङ कसुर सम्बन्धी क्षेत्राधिकार फराकिलो बनाउँदै सबै जिल्ला अदालतमा मुद्दा दर्ता हुनसक्ने व्यवस्था गरेको छ ।