• २४ वैशाख २०८१, सोमबार

पेटको क्यान्सर गराउने एच. पाइलोरी

blog

विश्वमा आमाशयको क्यान्सर पाँचौँ मुख्य क्यान्सरमा पर्दछ। त्यसै गरी क्यान्सरका कारण मृत्यु हुनेमा यो क्यान्सरको स्थान तेस्रो छ। आमाशयको क्यान्सरको मुख्य कारक हेलिकोब्याक्टर पाइलोरी (एच. पाइलोरी) नामको ब्याक्टेरियालाई मानिन्छ। आमाशयको सतही कोषलाई क्यान्सरपूर्व वा क्यान्सरको अवस्थामा पु-याउने कार्य हेलिकोब्याक्टर पाइलोरीले गर्दछ। 

सामान्यतयाः मानव शरीर वा अन्य कुनै जीवजन्तुको शरीर अर्थात् अङ्गमा चोट लागेपछि निको हुने क्रममा ठ्याक्कै उस्तै प्रकारको कोषले परिपूर्ति हुनुपर्छ तर निरन्तर जसो वा पटक पटकको चोट त्यही ठाउँ विशेषमा हुन जाँदा शरीरको प्रतिरक्षात्मक हिसाबले पूर्ववर्ती कोषभन्दा फरक खाले कोषले परिपूर्ति हुन थाल्छ। 

थप प्रस्टताका लागि एउटा व्यावहारिक उदाहरण यस्तो हुन सक्छ :  कुनै घरमा वा दम्पतीबीच पटक पटक घरझगडा हुन गयो भने विस्तारै छिमेकी वा परचक्री विवाद साम्य पार्न आउँछ तर कालान्तरमा यस्तै खाले प्रक्रिया दोहोरिरह्यो र छिमेकीमा स्वार्थ पलाउन थाल्यो भने त्यस्तो घरपरिवारलाई मिलेर बस्नै दिँदैनन्। यसै क्रममा तेस्रो पक्ष (दलाली) को आगमन भयो भने त स्थिति बिग्रिनु मात्र हुन्छ।

यही उदाहरण कतिपय रोगाणु अर्थात् ब्याक्टेरिया वा भाइरसजन्य क्यान्सरको हकमा पनि लागू हुन्छ। शरीरको कुनै भाग वा अङ्गको सतही कोषमा चोट लागेपछि त्यहाँ सुन्निने गर्छ। पटक पटकको चोटपछि निको हुने क्रममा उस्तै तर असामान्य प्रकारका कोष पनि देखिन थाल्छन्। यो प्रक्रिया दोहोरिरह्यो भने एक खालको कोषलाई अर्कै खालको कोषले (तुलनात्मक रूपमा अलि खस्रो) प्रतिस्थापन गर्दछ। यहाँसम्म त आन्तरिक मामिलामा आफन्तजन वा छिमेकीको हस्तक्षेप हुन आए जस्तै हो। जब अर्कै खालको कोष प्रतिस्थापन हुने प्रक्रियामा विषाणु (भाइरस) वा किटाणु (ब्याक्टेरिया) ले भूमिका खेल्न थाल्छ अर्थात् दलालले आफ्नो भूमिका निर्वाह गर्न थाल्छ विस्तारै पहिलाको सामान्य काेष क्यान्सरपूर्व वा क्यान्सरग्रसित कोषमा परिणत हुन सुरु हुन्छ।

यस्ता खाले कोषमा अब प्राणी विशेषकै अर्थात् मानिस स्वयम्कै वंशाणु अनुसार नियन्त्रण हुँदैन र आइन्दा कोष वृद्धि अनियन्त्रित तवरले हुन्छ। अत्यधिक एवं अनियन्त्रित तवरले कोष वृद्धि हुन थालेपछि अङ्ग विशेषको स्वरूप (बनावट) मा फरकपना, थप रगत प्रवाहका लागि नयाँ रक्तनलीको विकास, कालान्तरमा आवश्यकता अनुसार रगतको प्रवाह पु-याउन नसकेपछि बाह्य सतही कोष छिटो छिटो झर्ने, अल्सर बन्ने र रक्तस्राव हुने गर्छ।

आमाशयको क्यान्सर विकसित हुने क्रममा हेलिकोब्याक्टर पाइलोरीले सङ्क्रमणग्रस्त आमाशयको कोषको परिवर्तनलाई यस ब्याक्टेरियाले उत्पादन गर्ने घातक तत्वले भूमिका खेल्छ। वंशाणुगत कारणका अतिरिक्त खानपिन, जीवनशैली एवं प्रतिकूल वातावरणीय प्रभावले पनि थप मलजलको कार्य गर्दछ। 

हेलिकोब्याक्टर पाइलोरीको सङ्क्रमणले आमाशयको सतहको सुजनको अवस्थालाई क्यान्सरपूर्व वा क्यान्सरको अवस्थामा पु-याउँछ। यसो हुनाको पछाडिका केही तथ्य प्रतिपादित गरिएको छ। हेलिकोब्याक्टर पाइलोरीको सङ्क्रमणले आमाशयको कोषको मृत्यु प्रवर्धन हुन्छ भने उस्तै खालको कोषबाट प्रतिस्थापन हुने कार्यलाई पनि सुस्त बनाउँछ। यस्तो अपूर्ण कोष प्रतिस्थापन कार्यका कारण अङ्ग विशेषलाई अब थप टेवा मिल्ने फरक खालको कोष (तुलनात्मक रूपमा खस्रो) ले प्रतिस्थापन गर्न थाल्छ।

कोष वृद्धि तथा पुनर्निर्माणको क्रममा हेलिकोब्याक्टर पाइलोरीकै कारण कोषभित्रकै तत्वहरूमा अवरोध खडा हुन पुग्छ। शरीरको अन्य अङ्गमा झैँ आमाशयको सतह पनि नियमित रूपमा टुट्ने (क्षयीकरण हुने) र निर्माण हुने क्रममा जीवनभर चलिरहन्छ तर हेलिकोब्याक्टर पाइलोरीका कारणले शरीरभित्रको उक्त सामान्य प्रक्रियाविपरीत कोष मर्ने दर बढ्छ भने कोषहरू क्यान्सरपूर्वको अवस्थामा पुग्छन्। 

हेलिकोब्याक्टर पाइलोरी आफैँले आमाशयको सतही कोषको सङ्क्रमणलाई जीर्ण प्रकारको बनाइदिन्छ। शरीरका कुनै पनि अङ्गको समस्या जीर्ण खालको हुनु भनेको समयमै उपचार नगरेको खण्डमा क्यान्सरपूर्वको अवस्थातिर बढ्नु हो। हेलिकोब्याक्टर पाइलोरीको सङ्क्रमणले आमाशयको कोषमा ‘अक्सिडेटिव स्ट्रेस’ र ‘नाइट्रोसेटिभ स्ट्रेस’ उत्पन्न हुन्छ। 

‘अक्सिडेटिव स्ट्रेस’ उत्पन्न हुँदा कोषका लागि हानिकारक खालको अक्सिजनको प्रभाव बढ्नु र खराब खालको अक्सिजन हटाउने क्षमता कम हुनु हो। जब अक्सिजनको मेटाबोलिज्म (पाचन) मा गडबडी आउँछ कोषभित्र ‘नाइट्रस अक्साइड’ र ‘सुपर अक्साइड’ को प्रतिक्रिया देखिन थाल्छ। ‘नाइट्रोसेटिभ स्ट्रेस’ का कारण प्रोटिनको काममा गडबडी, कोषभित्रको डिएनए टुक्रिने, कोषको आन्तरिक कामका लागि आवश्यक कतिपय एन्जाइमले काम नगर्ने र अन्ततः कोषको मृत्यु हुने गर्दछ।

के हो हेलिकोब्याक्टर पाइलोरी ?

पाठेघरको मुखको क्यान्सर ह्युम्यान पापिलोमा भाइरस, कतिपय छालाको क्यान्सर इप्सेन बार भाइरस एवं कलेजोको क्यान्सर हेपाटाइटिस बी भाइरसका कारणले भए जस्तै आमाशयको क्यान्सरको कारक तत्त्व हेलिकोब्याक्टर पाइलोरीलाई मानिएको छ।

यो एक खाले ब्याक्टेरिया हो। यो ग्राम निगेटिभ समूहमा पर्दछ। यसको फ्लाजेल्ला भनिने हातखुट्टा (अवयव) हुन्छन्। जसको सहयोगले कोषमा टाँसिन, यताउति चलमलाउन सक्छ। यस्ता खाले किटाणु (हेलिकोब्याक्टर पाइलोरी) ले आमाशयको सतही कोषमा डेरा जमाउन मन पराउँछन्। हेलिकोब्याक्टर पाइलोरीबाट सङ्क्रमित हुने सबैमा आमाशयको क्यान्सर हुन्छ भन्ने होइन तर हेलिकोब्याक्टर पाइलोरीबाट सङ्क्रमितमध्ये दुईदेखि तीन प्रतिशतमा कालान्तरमा आमाशयको क्यान्सर विकसित हुने देखिएको छ।   

Author

प्रा.डा. सुमनराज ताम्राकार