फडिन्द्र अधिकारी
लेखनाथ, भदौ ११ गते । फिर्के खोला हो कि खोल्सो, बहस जारी छ । वर्षामा ढाडो खोला बनेर उर्लिने फिर्के हिउँदमा सुख्खा हुन्छ । पोखरा पोखरा महानगरको बीच भाग हुँदै बग्ने यो खोला कतै फराकिलो छ, कतै खोल्सो जस्तो मात्रै छ ।
पोखरा महानगरको मापदण्ड अनुसार यो खोलामा दुवैतिर खोलाको क्षेत्रबाट १० मिटर मापदण्ड लाग्छ । मापदण्ड त परै छाडौँ, खोलाको बहाव क्षेत्र(खोला घर)मै एक सय ६० संरचना देखिएका छन् । केही व्यक्ति र संस्थाले खोलैमाथि भवनसमेत बनाएका छन् । मापदण्ड लागू गर्दा खोलामा पर्ने संरचनाको सङ्ख्या दोब्बरभन्दा बढी हुने देखिन्छ ।
सीमाङ्कन टोलीले खोला घरमा सामाजिक सङ्घ, संस्थाका धेरै भवन भएको जनाएको छ । सङ्घ, संस्थाले त्यसरी १९ पक्की र नौ कच्ची संरचना बनाएका छन् । अरू व्यक्तिगत संरचना कच्ची ९७, पक्की ३५ खोलघरमै देखिएका छन् ।
साउन ३ गतेबाट फिर्के सिमाङ्कन गर्न खटिएको प्राविधिक सर्वेक्षण टोलीले नापजाँच सकेर प्रतिवेदन बनाउँदै छ । सर्वेक्षण टोलीका प्रमुख वासुदेव पौडेलले केही दिनभित्रै टोलीले प्रतिवेदन महानगरलाई बुझाउने उल्लेख गर्नुभयो ।
टोलीले जग्गाधनीका नक्सा र खोला किनार हेरेर कतै चिन्ह लगाएको छ भने कतै पोल गाडेको छ । “सम्भव भएका ठाउँमा पोल गाडेका छौँ, नभएका ठाउँमा चिन्ह लगाएका छौँ । फिर्केको दुवैतर्फ गरी दुई सय ३९ ठाउँमा चिन्ह लगाइएको छ भने पाँच सय ८४ पोल गाडिएको छ,’’ पौडेल भन्नुहुन्छ । खोला कतै तीन–चार मिटरमात्र चौडा देखिन्छ भने कतै कतै ३०–४० मिटर फराकिलो पनि छ । कतै खोलाकै मापदण्डभित्र घर छन् भने कतै पर्खाल देखिन्छन् ।
महानगरका प्रमुख धनराज आचार्य अब जुनसुकै हालतमा फिर्केको सीमाङ्कनसहित यसलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने योजना पूरा हुने अठोट व्यक्त गर्नुहुन्छ । कहिले खोला छुटाउँदा थोरै जमिन छाड्नुपरे पनि फिर्के परियोजना बनेपछि स्थानीय नै लाभान्वित हुने उहाँले सुनाउनुभयो ।
सीमाङ्कनपछि मापदण्ड लागू गर्दै फिर्के परियोजना सञ्चालन गर्ने तयारी छ । एसियाली विकास बैङ्क(एडिबी)सँगको सहकार्यमा करिब ६५ करोड खर्चेर यो क्षेत्रलाई आकर्षक गन्तव्य बनाउने योजना छ । प्रमुख आचार्य भन्नुहुन्छ, “अहिले घर र खोला छुटाउँदै छौँ । साइट क्लियर भएपछि दायाँबायाँ साइकल लेन, ठाउँ ठाउँमा चेकड्याम र लाइटिङको काम काम हुन्छ ।’’
अहिलेको फिर्केखोलाको मापदण्ड १० मिटर परिमार्जन गर्ने महानगरको तयारी छ । पोखरा १८ को अँधेरीकुनाबाट सुरु भएको फिर्के खोला पस्र्याङ, मालेपाटन, बुलौदी हुँदै फेवातालसम्म पुग्छ । अँधेरीकुनामा अँजुलीमा उबाएर खान मिल्ने पानी महानगरको आठ किमी हुँदै फेवाताल पुग्दा परैबाट गन्ध आउने बनेको छ ।