• १५ वैशाख २०८१, शनिबार

पाथीभराको भेटी सात करोड अठासी लाख मौज्दात

blog

पाथीभरामा सङ्कलन गरिएको भेटी रकम मिलाउँदै (सटिङ कार्य) समितिका कर्मचारी । तस्बिर: चन्द्र

ताप्लेजुङ, भदौ ११ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको भेटी रकम सात करोड अठासी लाख रुपियाँभन्दा बढी मौज्दात छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार हालसम्म सङ्कलन भएको भेटीमध्ये उक्त रकम बराबर मौज्दात रहेको हो ।

समितिले आइतबार सार्वजनिक गरेअनुसार गत आर्थिक वर्षको असार मसान्त सम्मको मौज्दात रकम कुल सात करोड ८८ लाख १० हजार २०५ रुपियाँ छ । अघिल्लो आर्थिक वर्ष २०७८÷७९ सम्मको मौज्दात भेटी रकम पाँच करोड तीन लाख १८ हजार ४८५ रुपियाँ थियो । गत आवमा मात्र तीन करोड १९ लाख १६ हजार ८०० रुपियाँ भेटीबापत रकम सङ्कलन भएको थियो ।

अघिल्लो आवको मौज्दात र गत आवमा सङ्कलन भएको भेटी रकमसमेत आठ करोड ५९ लाख ९७ हजार १९४ रुपियाँमध्ये गत आवमा ७१ लाख ८६ हजार ९८९ रुपियाँ खर्च भएको छ । एक आर्थिक वर्षमा भएको व्यय (खर्च) रकम कटाएर सात करोड ८८ लाख १० हजार २०५ रुपियाँ मौज्दात रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिनुभयो ।

कार्यकारी निर्देशक काफ्लेकाअनुसार गत आवमा सङ्कलित भेटी रकमअन्तर्गत भक्तजनले चढाएको भेटी तथा दानबाट दुई करोड ८५ लाख ६२ हजार ४९८ रुपियाँ, सिक्का सटहीबाट आठ लाख १५ हजार ६०० रुपियाँ छ । यस्तै दाताले बैङ्कमा जम्मा गरेको १४ लाख ५४ हजार ४०३ रुपियाँ र भेटी रकममा भारतीय मुद्रा (भारु) सटहीबाट १० लाख ८३ हजार ३०० रुपियाँ रहेको उहाँले जानकारी दिनुभयो । 

गत आवको व्ययतर्फ कर्मचारी तलब र ज्यालादारी भुक्तानीमा ५७ लाख ५४ हजार ६९० रुपियाँ, ज्याला तथा ढुवानी खर्च पाँच लाख २७ हजार ६००, सुरक्षाकर्मी खर्चमा दुई लाख ५२ हजार रुपियाँ  छ । त्यस्तै बैङ्कको ब्याजमा लाग्ने करमा तीन लाख २८ हजार २१३ रुपियाँ, फोहोर व्यवस्थापनमा ८७ हजार ८००, कार्यक्रम खर्च ३० हजार ७००, फर्निचरमा ९९ हजार ५०१ रुपियाँ छ । विविधमा ९७ हजार ६८५ रुपियाँ र आकस्मिक उद्धारसम्बन्धी काममा आठ हजार ८०० यसै गरी भेटीकै रूपमा भक्तजनले चढाएका एक र दुई रुपियाँ दरको सिक्का रकम ११ लाख ६० हजार रुपियाँ छ । भारतीय मुद्रा (भारु नोट) पनि १९ लाख ६४ हजार ५४० रुपियाँ मौज्दात छ । त्यस्तै भारु सिक्का रकम पनि तीन हजार ४०० किलोग्राम मौज्दात रहेको समितिले जनाएको छ । समितिका अनुसार भारु सिक्का रकमको गणना गरिएको छैन ।

समितिका अनुसार भेटीकै रूपमा चढाइएको अमेरिकन डलर तीन हजार ३१९, अस्ट्रेलियन डलर ९०५, इङ्ल्याण्ड पाउन्ड ७७०, साउदी रियल एक हजार २९५, कतार रियल तीन हजार ९५२, दुबई रियाल दुई हजार ९५० छ । त्यस्तै मलेसियन रिङ्गेट दुई हजार ५८० सहित विभिन्न तीन दर्जन देशका मुद्रासमेत भेटीका रूपमा सङ्कलन भएको समितिले जनाएको छ । भारुसहितका विदेशी मुद्राहरू सटहीका लागि पहल हुँदै आएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिनुभयो ।

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।