• २५ पुस २०८१, बिहिबार

जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि प्रदान गर्दा गर्वको अनुभूति भएको छ : प्रधानमन्त्री प्रचण्ड

blog

जनगायक टुहुरेको दोस्रो स्मृति दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँको विषयको पुस्तक सार्वजनिक गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत ।

काठमाडौं, भदौ १० गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वर्गीय जेबी टुहुरेलाई जनगायकको रुपमा राष्ट्रिय सम्मानको उपाधि प्रदान गर्न पाउँदा आफूलाई गर्वको अनुभूति भएको बताउनुभएको छ।

स्वर्गीय जनगायक टुहुरेको दोस्रो स्मृति दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो। 

प्रधानमन्त्री प्रचण्डले नेपालको वाम–लोकतान्त्रिक आन्दोलन र सांगीतिक तथा सांस्कृतिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएकै कारण आफू नेतृत्वको सरकारले भर्खरै उहाँलाई सो उपाधि प्रदान गरेको पनि स्पष्ट पार्नुभयो। 

प्रधानमन्त्री प्रचण्डले जनगायक टुहेरेकै जनवादी प्रगतिशील गीत गाउँदै आफूले राजनीतिक यात्रा सुरु गरेको पनि दोहोर्याउनुभयो। जनगायक टुहुरेले नेपालको राजनीतिक, सांगीतिक र सांस्कृतिक क्षेत्रमा पुर्याउनुभएको योगदान भावी पुस्ताका लागि प्रेरणाको स्रोतको रुपमा रहिरहने बताउनुभयो। 

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘‘नेपालको वाम–लोकतान्त्रिक राजनीतिक आन्दोलन एवं सांगीतिक उहाँले पुर्याउनुभएको विशिष्ट योगदानकै कारण भर्खरै बसेको मन्त्रिपरिषद बैठकले जेबी टुहुरेलाई जनगायकको राष्ट्रिय सम्मान प्रदान गरेको छ। यसका निम्ति यहाँहरु सबैलाई बधाई ज्ञापन गर्दै उहाँलाई जनगायकको राष्ट्रिय सम्मान प्रदान गर्ने ऐतिहासिक अवसर प्रदान गरेकोमा गौरव महसुस गरेको कुरा समेत यहाँहरुको अगाडि राख्न चाहन्छु। स्मृति ग्रन्थ जेबी टुहुरेको जन्म, कर्म र विचारको विविध आयामको विभिन्न कोणबाट विश्लेषण गरिएको छ। समग्र पुस्तक पढ्दा टुहुरेको चेतना राम्रैसँग स्मरणमा ल्याई दिन्छ। यसले टुहुरेको समग्र जीवन बुझ्न र यसबाट शिक्षा लिन प्रेरित गरिरहनेछ।’’

प्रधानमन्त्री दाहालले जनताका गायकको रुपमा जेबी टुहुरेले दिएको विचारले आफूलाई शान्ति प्रक्रियामा आएपछि अझ धेरै प्रभावित तुल्याएको बताउनुभयो।