• १४ मंसिर २०८१, शुक्रबार

बेनी–जोमसोम सडक खुल्यो, जोखिम कायमै

blog

बेनी–जोमसोम सडक खण्ड । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, भदौ १० गते । हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला कालिगण्डकी करिडोर सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका –३ दानाको गुइठेभीरमा अवरुद्ध भएको सडक आइतबार बिहानदेखि सञ्चालनमा आएको छ ।

लगातारको बर्षासँगै सडकमाथिबाट निरन्तर खसेको पहिरोका कारण मर्मतमा समस्या हुँदा सवारी आवागमनमा समस्या भएको थियो । अबरुद्ध भएको सडक पन्छाएपछि रोकिएका सवारीसाधन गन्तब्यतर्फ पठाइएको अन्नपुर्ण गाउँपालिका –३ दानाका पर्यटन ब्यवसायी इन्द्रसिंङ शेरचनले जानकारी दिनुभयो । 

सडक अबरुद्ध हुँदा बेनी–घाँसा सडक खण्डमा बीच–बीचमा रोकिएका सवारीसाधन गन्तब्यतर्फ लागेका छन् भने अझै पनि पहिरोस्थलमा भने जोखिम कायमै बेनी–जोमसोम–कोरला–कालिगण्डकी–करिडोर सडक आयोजनाका फिल्ड सुपरभाइजर समेत रहेका शेरचनले बताउनुभयो । 

बेनी–जोमसोम सडकखण्ड अन्तर्गत अन्नपुर्ण गाउँपालिकाको दानाको गुइँठे, सुकेबगर, जलथले, खामभित्तालगायतका क्षेत्र पहिरोको उच्च जोखिममा छ । त्यस्तै, रघुगंगा गाउँपालिकाको बैसरीमा पनि सडक माथिबाट नियमित पहिरो झर्दा जोखिम रहेको छ । बैसरीमा पहिरो झर्दा साउन २४ गते गाडीचालक चुक्कन शेर्पुञ्जा घाइते भएकोमा उपचारको क्रममा पोखरामा उहाँको मृत्यु भएको थियो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले पहिरो पन्छाएर सडक खुलाइएको जानकारी दिनुभयो । पहिरोले अवरुद्ध हुन सक्ने स्थानको पहिरो पन्छाउनलाई आवश्यक मेसिनसहितको जनशक्ती समेत तयारी अवस्थामै रहेको राखिने गरेको भए पनि लागतार पहिरो झर्दा हुने जोखिमले गर्दा चाँडै सडक खुलाउन नसकिएको उहाँको भनाइ छ । 

अन्नपुर्ण गाउँपालिकाको दाना गुइठेमा लगातार सानो–ठुलो ढुङ्गा खसी रहन्छ । त्यसले सडक कुनै पनि समय बन्द हुन सक्छ । २२० केभीको हाइटेन्सन लाइनको टावर तलदेखि पहिरो झरिरहेकाले जोखिम र कुनै पनि समय सडक बन्द हुन सक्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो ।