• १३ मंसिर २०८१, बिहिबार

सुदूरपश्चिमका दुई पालिकाले सार्वजनिक सेवा 'डिजिटलाइजेशन'मा जोड्दै

blog

सार्वजनिक सेवाहरुको विद्युतीकरण सेवाका बारेमा कर्मचारीहरुले टोलटोलमा भेला गरी जानकारी गराउँदै ।

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), भदौ १० गते । विद्युतीकरण सुशासनको लागि क्षमता विकास कार्यक्रम अन्तर्गत सार्वजनिक सेवा डिजिटलाइजेशनमार्फत् लिने कार्य सुदूरपश्चिम प्रदेशका दुई स्थानीय तहमा लागु गरिएको छ। जिआईजेटको सहयोगमा कैलालीको घोडाघोडी नगरपालिका र धनगढी उपमहानगरपालिकामा उक्त कार्य पहिलो पटक पाइलट कार्यक्रमको रूपमा सुरु गरिएको हो ।

घोडाघोडी नगरपालिकाको वडा नम्बर १, २ र १० मा कार्यालय प्रयोजन र पब्लिक प्रयोजनको लागि मोबाइल एपबाट वडाबाट दिने सेवालाई चुस्तदुरुस्त छिटो छरितो बनाउने कार्यक्रमको उद्देश्य रहेको वडा नम्बर १ का वडाध्यक्ष घनश्याम ओझाले बताउनुभयो ।

वडाध्यक्ष ओझाले पाइलट प्रोजेक्टको रूपमा अहिले तीन वटा वडामा सुरु भएको डिजिटल भरपर्दो र लाभदायक कार्यक्रम प्रभावकारी बन्दै गएमा बिस्तारै अन्य वडामा समेत विस्तार गर्ने बताउनुभयो ।

कार्यक्रमको प्राविधिक सहयोग पुर्याईरहेका जिआईजेटका कन्सल्टेनका अनुसार सार्वजनिक सेवाहरूको विद्युतीकरण कार्यक्रममा कार्यालय प्रयोजनका लागि डकुमेन्ट म्यानेजमेन्ट सिस्टमले कार्यालयका दर्ता चलानी पत्रहरूको स्क्यान गरेर अपलोड गर्न सकिनेछ । यसरी रेकर्ड राख्दा भनेको समयमा खोज्न र उपलब्ध गराउन सजिलोका साथै एकपटक राखेपछि पटक-पटक पत्रहरू खोजीराख्नुपर्ने झन्झटबाट मुक्त हुने भएको छ ।  

त्यसैगरी, इन्ट्रीग्रेट मोबाइल एप पब्लिक प्रयोजनका लागि हो । यसमार्फत वडा, नगरपालिकाभित्रका जनप्रतिनिधि, कर्मचारी ,सर्वसाधारणले प्रयोग गर्न सक्छन् । अनलाईनमार्फत् विभिन्न सिफारिस लिन, जनप्रतिनिधि तथा कर्मचारीलाई छुट्टाछुट्टै गुनासो र सुझाव दिन र लिन मिल्ने व्यवस्था मोबाइल एपमा छ । त्यसैगरी, घर नम्बर कोड गरी गुगल म्यापमा सजिलै हेर्न मिल्ने व्यवस्था एपले गरेको छ । यो कार्यक्रमलाई प्रभावकारी बनाउन सम्बन्धित वडामा स्थानीय डिजिटल सहजकर्ताहरूलाई तालिम दिएर जनचेतना जगाउने कार्य भइरहेको छ ।

वडा नम्बर १ का डिजिटल सहजकर्ता सुभद्रा चौधरीले गुगलमा गएर एप डाउनलोड गरी सेवा लिन सकिने बताउनुभयो । उहाँले सुरुमा जनप्रतिनिधि कर्मचारीलाई यो कार्यक्रमका बारेमा तालिम दिएपछि अहिले कार्यक्रम लागु भएका वडाका टोलटोलमा डिजिटल सेवाका बारेमा जानकारी गराउने कार्य भइरहेको जानकारी दिनुभयो । उहाँले घरमै बसीबसी अनलाइनबाट विभिन्न फारम भरी पठाएमा वडा कार्यालयबाट सजिलै सिफारिस पाउन सकिने बताउनुभयो । 

यसले गर्दा कार्यालयमा लामो समय पालो पर्खन नपर्ने काम छिटो छरितो हुने भएको छ । साथै कुनै गुनासो भएमा पनि सम्बन्धित व्यक्तिलाई सिधै म्यासेजमार्फत् गुनासो पठाउन सकिने एपमा सुविधा रहेको जनाइएको छ । २०७९ सालदेखि नेपालका ६ वटा पालिकामा पाईलेटिङ्को रूपमा यो कार्यक्रम लागु गरिएको जिआईजेटले जनाइएको छ ।