मानव समाजले यो अवस्थामा आइपुग्न विभिन्न चरण पार गरेको छ । फिरन्ते हुँदै सामूहिक रूपको जङ्गली जीवनलाई मान्छेको पहिलो चरण मानिन्छ, जहाँ मान्छेहरू समूहमा विभक्त रहेर ढुङ्गे हतियारमार्फत सिकार गरिएको पशुपन्छीको मासु र कन्दमूल खाएर जीवन निर्वाह गर्दथे । जङ्गली जनावरबाट सुरक्षित रहन सामूहिक रूपमा बस्नुपर्ने अवस्था थियो । एक ठाउँको सिकार र कन्दमूल सकिएपछि अर्कोतिर जानुपर्दा पनि समूहमै जान्थे मान्छेहरू । स्थायी परिवार नभएको र सामूहिक बसोबासमा रहने हुनाले सन्तानले बाबु चिन्ने अवस्था पनि थिएन । सन्तानका लागि आमा नै सर्वेसर्वा हुनुका साथै समूहमा पनि महिलाकै नेतृत्व स्थापित थियो । मान्छेको त्यो प्रारम्भिक अवस्थालाई जर्मन समाजवादी विचारक कार्ल माक्र्स र अमेरिकी मानवशास्त्री लेविस हेनरी मोर्गानले आदिम साम्यवादी युग नाम दिनुका साथै उक्त युग मातृसत्तात्मक रहेको तथ्यलाई दुवैले आ–आफ्नो समयमा प्रस्तुत गरेका थिए ।
जब फिरन्ते जीवन त्यागेर मान्छेहरू एक निश्चित ठाउँमा बस्न थाले, निजी परिवारको अवधारणा सुरु भयो । निजी परिवारभित्र पुरुष घरमूली हुने थिति बन्यो । महिला र पुरुषबिच कामको आधारमा भूमिका फरक फरक निर्धारण गरियो । सन्तानको वंश बाबुकै आधारमा तय हुन थाल्यो । परिवारका लागि निजी सम्पत्ति कब्जा गर्ने र बढाउने काममा पुरुषकै भूमिका सर्वोपरि ठानियो । प्रधान काम पुरुषका लागि र सहायक काम महिलाका लागि निर्धारित भए ।
परिवारभित्र र बाहिर हैकम/बोलवाला स्थापित भएसँगै पुरुष शक्तिशाली र महिला निरीह बन्न पुगे । यसरी अघिल्लो चरणमा रहेको मातृसत्ता निजी परिवार सुरु हुनासाथ पितृसत्तामा बदलिन पुग्यो । त्यसैले विवाह, परिवार र निजी सम्पत्तिको थालनी नै महिला उत्पीडनको उद्गम बिन्दु हो भनेर फ्रेडरिक एङ्गेल्सलगायत अन्य समाजवादी विचारकले भनेका छन् । सम्पत्ति कब्जा गर्ने होडसँगै मान्छे मान्छेबिच एक अर्कोमा आक्रमण र लडाइँ हुन थाले । जित्नेले हार्नेलाई कज्याएर दास बनाउने प्रचलन सुरु भयो ।
खेतीपाती, पशुपालनलगायतका कामका लागि मालिकले दासहरूको चरम शोषण गर्दथे । उनीहरू नेल, सिक्रीमा बाँधेर राखिन्थे, पशुसरह एक मालिकबाट अर्कोमा किनबेच हुन्थे । महिला दासहरूको अवस्था झनै कारुणिक थियो । मालिक वर्गकै महिलाको पनि स्थिति राम्रो थिएन । पितृसत्ताले गाँज्न सुरु गरिसकेकाले महिलाको हैसियत पुरुषका निजी सम्पत्ति या वस्तुसरह हुने क्रम सुरु भयो । समयक्रममा मालिक वर्गविरुद्ध दासहरूको चरम विद्रोह सुरु भएपछि दास युगको अन्त्य भएर समाज सामन्ती युगमा प्रवेश गर्यो ।
व्यक्तिको राजनीतिक अधिकार र कर्तव्य निर्धारण भूमिबाट गरिने सामन्तवादी व्यवस्थामा सामन्तहरूको कैयौँ श्रेणीमध्ये राजा शीर्षस्थानमा हुन्थे, जसलाई समस्त भूमि तथा जमिनको स्वामी मानिन्थ्यो । वंशानुगत विरासतको आधारमा राजाहरू राज्यशक्तिको एक मात्र हकदार मानिन्थे । उनीहरूको विलासी र मनमौजी जीवनशैलीमा राज्यकोष रित्तिन्थ्यो । दरबारमा राजा र राजपरिवारको स्याहारसुसार, खातिरदारी र भोगविलासका लागि सयौँ महिला बन्धक बनाई राखिन्थे, जसमाथि चरम यौन शोषण तथा अमानवीय व्यवहार हुने गर्दथ्यो ।
महिलालाई भोगविलासको साधन मात्र ठान्ने शाषकहरूको बुझाइ र व्यवहारको प्रतिविम्ब समग्र समाजमा पनि व्याप्त थियो । यस कालमा पितृसत्तात्मक सोचाइ र व्यवहार झनै झ्याङ्गियो । महिलाका निम्ति अनेकौँ बारबन्देज सुरु भए । महिलाका व्यक्तिगत स्वतन्त्रता पुरुषकै मुठ्ठीमा कैद भयो । सन्तान जन्माउनु, घरको काम गर्नु, पतिको यौन इच्छा पूरा गर्नु र परिवारका सदस्यलाई रिझाउनु नै महिलाको प्रमुख अविभारा ठहर भयो । महिलाको हिँडाइ, बोलाइ, लबाइ, खुवाइ सबैमा अनेकौँ मानक खडा भए । महिलाका लागि पाप र धर्मको चेतावनीसहित धर्मग्रन्थ तयार पारिए । त्यसको अक्षरशः पालना ‘स्त्रीधर्म’ र अवहेलना ‘महापाप’ हो भन्ने रटाइयो ।
परिवारमा कैद भएको अन्य व्यक्तिगत अधिकार र स्वतन्त्रता उपभोग गर्ने अवसर पनि महिलाले काममा हिँड्न थालेसँगै पाउँदै आए । यी सबैको जस पुँजीवादले पायो तर यससँगै महिला शोषणका अन्य आयाम थपिँदै जान थाल्यो । कम ज्यालामा धेरै काम लगाएर बढीभन्दा बढी नाफा कमाउन सकियोस् भन्ने उद्देश्य पूरा गर्न उपयुक्त पात्र महिला श्रमिक थिए । पुरुषको तुलनामा कम ज्यालामा काम गर्न महिला श्रमिकलाई बाध्य बनाइयो ।
यससँगै कार्यस्थलमा हुने विभेद, हिंसा, यौन शोषणलगायतसँग सामना गर्नुपर्ने उपक्रम सुरु भयो । बाहिरी आयआर्जनमा निस्कँदा पनि घरायसी जिम्मेवारी महिलाकै पेवा बन्यो । यसले महिलामाथि दोहोरो तेहरो जिम्मेवारी थोपर्यो । उत्पादित वस्तुहरू उपभोक्तामाझ आकर्षित गराउन महिला देहको दुरुपयोग बढ्दै आयो । यसका लागि महिला ‘सुन्दर’ हुनु पर्छ भनेर सुन्दरताका अनेकौँ मापदण्ड तय गरिए । मनोरञ्जनका साधनका रूपमा महिलाको वस्तुकरण हुने क्रम बढ्दै आयो । महिलाको शरीर र सुन्दरतालाई मनोरञ्जनको प्रमुख साधन बनाएर कमाउ धन्दा व्यापक बनाइए पनि ‘स्वतन्त्रता’ को नाममा महिला स्वयंलाई यसतर्फ आकर्षित गर्न सफल भइरहनु पुँजीवादको कुटिल चाल हो ।
पुँजीवादले महिलामाथि नजानिँदो तरिकाले गरेको शोषण र उत्पीडनको चिरफार समाजवादले गर्यो । यसबाट मुक्ति पाउने उपायका रूपमा महिला मुक्तिको सवाललाई वर्ग सङ्घर्षसँग एकाकार गराएर आन्दोलन गरिनुका साथै पितृसत्ताको समूल अन्त्य गरिनु पर्छ भन्ने रह्यो । समाजवादी व्यवस्था आएपछि वर्गीय समस्याका साथै लैङ्गिक समस्या पनि सदाका लागि अन्त्य हुन्छ भनियो । माक्र्सवादी महिलावादको वैचारिक धरातलमा उभिएर १९ औँ शताब्दीको मध्यतिर युरोप तथा अमेरिकामा महिला आन्दोलनको आँधीबेहरी नै चल्यो । विश्वव्यापी रूपमै माक्र्सवादी महिलावाद महिला जागरणका लागि ठुलो अस्त्र साबित भयो ।
समाजवाद अस्तित्वमा आएको १७५ वर्ष नाघिसक्दा पनि समाजवादी व्यवस्था लागु भएकै मुलुकहरूमा समाजवादले परिकल्पना गरेको महिला मुक्तिको सवाल निष्कर्षमा पुग्न सकेन । संविधान र कानुनले महिला सहभागिता अभिवृद्धिका लागि गरेका व्यवस्थाहरू टार्नसमेत अनेक तिकडम हुने गरेको छ । आफ्नै दलका शीर्ष स्थानमा महिला सहभागिता बढाउन नेतृत्वमा रहेको पितृसत्तात्मक सोचाइ र व्यवहार बाधक बनिरहेको दृष्टान्त अनौठो छैन ।
माक्र्सवादको महिला मुक्ति सिद्धान्त अनुसार अघि बढ्न महिला सवाललाई वर्ग सङ्घर्षकै रूप दिएर अगाडि बढाइनु जरुरी थियो । सर्वहारा श्रमिक वर्गकै समस्यासरह आन्दोलनको उभार स्थापित हुनुपर्दथ्यो, पितृसत्ताको जरोकिलो उखेल्न शून्य सहिष्णुतासहितको जागरुकताको खाँचो थियो तर अहिलेका समाजवादीहरूमा महिला मुद्दालाई त्यति बृहत् रूपमा अघि बढाउने जाँगर, तत्परता र आवश्यकताको सर्वथा अभाव देखिन्छ । त्यसैले एक अर्को वादको टकरावमा विभाजित भएर शक्ति क्षीण गर्नुभन्दा समग्र महिला जगत्ले महिला मुक्तिको सवाललाई एक मात्र गन्तव्य बनाएर एकत्रित सङ्घर्ष नगरेसम्म महिला मुक्ति सम्भव देखिँदैन ।