सलिम मियां
विजुवार, भदौ ९ गते । प्युठान जिल्ला अस्पतालले विशेषज्ञसहितका चिकित्सकहरू थप्दै लगेको छ । विगतमा दक्ष जनशक्तिको अभाव झेलेको अस्पतालमा अहिले सात विशेषज्ञसहित १४ जना चिकित्सकले सेवा दिइरहेका छन् ।
अस्पतालले महिला तथा स्त्रीरोग विशेषज्ञ, बालरोग विशेषज्ञ, छातिरोग विशेषज्ञ, एनेस्थेसियोलोजिस्टका पाँच जना झिकाएर बिरामीहरूको उपचार सेवा सुविधाको स्तरमा सुधार ल्याएको हो । यसअघि जिल्ला अस्पतालमा दुईजना कन्सल्टेण्ट चिकित्सक कार्यरत थिए ।
अस्पतालका व्यवस्थापक राजन घिमिरेले अहिले अस्पतालको अवस्थामा उल्लेख्य सुधार आएको बताउनुभयो । विशेषज्ञ चिकित्सक थपिएसँगै समस्या लिएर टाढा टाढाबाट आउने बिरामीहरूलाई अन्यत्र अस्पतालमा रेफर गर्नुपर्ने बाध्यताको अन्त्य भएको उहाँको भनाइ छ ।
अस्पतालमा प्रयोगशाला, एक्सरे र फार्मेसीले २४ घण्टै सेवा दिइरहेको छ । अस्पतालबाट अहिले स्त्री तथा प्रसूति रोग, हाडजोर्नी, बालरोग, मानसिक रोग जर्नल सर्जरी, इन्टरनल मेडिसिन तथा दन्त रोग विशेषज्ञ सेवा लगायतका सेवाहरू सञ्चालन भइरहेको छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमिला खनालले ५१ बेड सञ्चालनमा रहेको बताउनुहुँदै भवनको टेण्डर अघि बढेको जानकारी दिनुभयो ।
अस्पतालले छात्रवृत्तिका चिकित्सककै भरमा सेवा प्रवाह गरिरहेको छ । उनीहरू कै भरमा सामान्य अप्रेसन, ओपिडी लगायत सेवा दिने गरेको छ । निक साइमन्स इन्स्टिच्युटले एमजीपी, मेडिकल अधिकृत लगायत जनशक्ति करारमा व्यवस्था गरिदिएको छ । सरकारले दरबन्दी राख्न सकेको छैन ।
प्युठान अस्पतालको वृद्धि विकासका लागि निकसाईमन्सले विगत १२ वर्षदेखि काम गर्दै आएको इन्ष्टिच्यूटका सिनियर कार्यक्रम म्यानेजर डा. कासिम शाहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘निकसाईमन अस्पतालको सहयोगका लागि सधैँ तयार छ ।’’