• १५ मंसिर २०८१, शनिबार

महानगरको ६५ करोड ४२ लाख बढी राजस्व सङ्कलन

blog

काठमाडौं, भदौ ८ गते । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको साउनमा ६५ करोड ४२ लाख ३० हजार ३७९ रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

महानगरको राजस्व विभाग प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार गत आर्थिक वर्ष २०७९/८० को यसै अवधिमा ४५ करोड नौ लाख ८९ हजार ३३६ रुपियाँ राजस्व सङ्कलन भएको थियो । गएको वर्षभन्दा यस वर्षको पहिलो महिनामा २० करोड ३२ लाख ४१ हजार ४३ रुपियाँ धेरै राजस्व सङ्कलन भएको छ । 

महानगरको आ.व. २०७७/०७८ देखि राजस्व सङ्कलनको अङ्क क्रमशः बढ्दो क्रममा छ । आ.व. २०७७/७८ को पहिलो महिनामा २६ करोड ३९ लाख ५३ हजार ७१६ रुपियाँ र आ. व. ०७८/०७९ को पहिलो महिना साउनमा ४३ करोड ५३ लाख ४३ हजार ९७१ रुपियाँ सङ्कलन भएको थियो ।

पहिलो वर्षभन्दा यो १७ करोड १३ लाख ९० हजार रुपियाँ धेरै हो । आ. व. ०७८/०७९ को तुलनामा आ. व. ०७९/०८० को पहिलो महिनामा एक करोड ५६ लाख ४५ हजार ३६५ रुपियाँ धेरै राजस्व सङ्कलन भएको हो । 

यी चार वर्षमध्ये सबैभन्दा धेरै राजस्व यो वर्ष सङ्कलन भएको महानगरले जनाएको छ । यस वर्ष सम्पत्ति, बहाल  तथा पट्टावापतको आयमा लाग्ने कर, साना सवारी साधन कर, बाँडफाँड भइ प्राप्त हुने मूल्य अभिवृद्धि कर, बाँडफाँडबाट प्राप्त हुने विज्ञापन कर सङ्कलन भएको छैन । यस्तै वित्तिय निकायबाट प्राप्त हुने व्याज रकम प्राप्त भएको छैन ।

प्राप्त राजस्वमध्ये सबैभन्दा धेरै घर बहाल करबाट ३१ करोड ६० लाख १८ हजार २२८ रुपियाँ प्राप्त भएको छ । यसपछि ठूलो रकम प्राप्त हुने शीर्षक सम्पत्ति कर हो । उहाँले यसमा १२ करोड ५८ लाख ४८ हजार ७७३ रुपियाँ प्राप्त भएको जानकारी दिनुभयो ।

अन्य राजस्व शीर्षकहरुमा भूमिकर, व्यक्तिगत आन्तरिक अनुदान, सेवा शुल्क, न्यायिक दस्तुर, नक्सा पास दस्तुर, पार्किङ् शुल्क, शिफारिस दस्तुर लगायत छन् । यस्तै, प्रशासनिक दण्ड, जरिवाना र जफत, पर्यटन शुल्क, धरौटी सदरस्याहा, बेरुजु लगायत हुन् ।

काफ्लेले भन्नुभयो, “वडा सदस्यको नेतृत्वमा हरेक वडामा कर सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । राजस्व विभागले बेरुजु फर्स्यौट तथा वक्यौता असुली अनगुमन गरिरहेको छ । कर परीक्षण कार्य चलिरहेको छ ।”