• २ जेठ २०८२, शुक्रबार

नागरिकलाई अनुभूति हुने काम गर्ने प्रतिबद्धता

blog

मकवानपुर समाचारदाता 

हेटौँडा, भदौ ८ गते । बागमती प्रदेश सरकारका मन्त्रीहरूले प्रदेश सरकारले नागरिकले अनुभूति गर्ने गरी प्रदेश सरकारले काम गर्ने बताएका छन् ।हेटौँडामा बुधबार आयोजित एक कार्यक्रममा बागमती प्रदेशका चार मन्त्रीले सङ्घीय संरचना अनुसारको प्रदेश भएको र नागरिकले प्रदेश सरकार भएको अनुभूति गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका हुन् । 

हेटौँडा उपमहानगरपालिका–२ मा बागमती प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठको सचिवालय उद्घाटन कार्यक्रमा उनीहरूले नागरिकको मतबाट निर्वाचित भएर आएकाले नागरिकको सम्मान र समृद्धिका लागि काम गर्ने बताए । 

कार्यक्रममा सचिवालय उद्घाटन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले प्रदेश राजधानी हेटौँडालाई बनाउन कांग्रेसको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गर्दै प्रदेश राजधानी हेटौँडा बनेसँगै यहाँको विकासको ढोका खुलेको बताउनुभयो । उहाँले प्रदेशभरका नागरिकले सरकार भएको अनुभूति गर्न पाउनुपर्ने भन्दै नागरिकका पक्षमा शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका कार्यव्रmम बनाएर कार्यान्वयन गर्न आग्रह गर्नुभयो । 

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामा तामाङले जननिर्वाचित भएपछि नागरिकको पक्षमा काम गर्नु आफ्नो दायित्व भएको र यो दायित्व पूरा गर्न आफू अग्रसर भएको बताउनुभयो । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका मन्त्री लामाले विभिन्न समस्या र चुनौतीका बिच प्रदेश सरकारले सामाजिक सुरक्षाका कार्यक्रम ल्याएको बताउनुभयो । 

प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले प्रदेश सरकार जनताका समस्या समाधानमा लाग्ने प्रतिबद्धता जनाउँदै कांग्रेसले महिलालाई अपेक्षाकृत सम्मान दिन नसकेको बताउनुभयो । उहाँले सरकार र संसदीय दलमा अस्थिरता ल्याउने काम कोही कसैबाट हुन नहुने धारणा व्यक्त गर्नुभयो । 

यस्तै खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामाले प्रदेश सरकार नागरिकको स्वास्थ्य, शिक्षा, पूर्वाधारलगायतका समस्या सहजीकरणमा प्रतिबद्ध रहेको जनाउँदै राजनीति सहज विषय नभएकाले सोच फराकिलो बनाएर काम गर्नुपर्ने बताउनुभयो । 

स्वास्थ्यमन्त्री उत्तम जोशीले परिवर्तन आफैँबाट सुरु गर्नुपर्नेमा जोड दिँदै प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा हुनेखानेले भन्दा हुँदा खानेलाई अनुभूति हुने गरी काम गरिरहेको बताउनुभयो । “सबैले देखिने र सबैले महसुस गर्ने कार्यक्रम आवश्यक छ । प्रादेशिक अस्पतालका सामान्य श-या निःशुल्क गरिएको छ । विशेष अवस्था भएकालाई छुटलगायत प्राथमिकतामा राखेर काम गर्ने नीति बनाइएको छ,” उहाँले भन्नुभयो । प्रदेश सभाका सदस्य लक्ष्मी श्रेष्ठले प्रदेशका सबै जिल्लाका प्रदेश सभा सदस्यहरूको सम्पर्क कार्यालयका रूपमा सचिवालय रहने बताउँदै नागरिकका समस्या समाधान गर्न पहल गरिने बताउनुभयो ।