काठमाडौं, भदौ ७ गते। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिको बैठकले मुलुकका रूपान्तरणकारी एजेण्डाका साथ मेची-महाकाली राष्ट्रिय अभियान आयोजना गर्ने निर्णय गरेको छ।
मंगलबारदेखि सुरु भएको बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले बैठकले पार्टीमा युवा विद्यार्थीको सहभागिता बढाउने उद्देश्यले महाधिवेशन अगाडि नै युवा विद्यार्थी लक्षित विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको बताउनुभयो।
बैठकले आगामी माघ १४ गतेदेखि १८ गतेसम्म पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने बताएको छ। बैठकले देशभर पार्टीको विस्तार गर्ने निर्णय गरेको छ। आगामी २०८३ सालको स्थानीय तहको निर्वाचनमा लड्ने र बहुसङ्ख्यक पालिकामा बहुमत ल्याउन सक्नेगरी पार्टीको निर्माण गरेरमात्रै त्यो अभिभारा पूरा गर्न नेकपा (एस)को निष्कर्ष छ।
त्यस्तै बैठकले कार्यक्षेत्रको विभाजन गर्दा सामान्यतः सङ्घीय निर्वाचन क्षेत्रलाई आधार बनाएर केन्द्रीय कमिटीका सदस्यको जिम्मेवारी तोक्ने निर्णय गरेको छ। मङ्सिर मसान्तसम्म कमिटी नभएका पालिका र वडामा कमिटी गठन र सबै कमिटीहरूले सदस्यताको वितरण गर्ने काम हुने प्रवक्ता खतिवडाले बताउनुभयो।
१५ दिन पनि कार्यक्षेत्रमा समय दिन नसक्ने कुनै पनि तहका कमिटीका अध्यक्ष र सचिवलाई उक्त जिम्मेवारीबाट मुक्त हुनका लागि आग्रह गरिने र त्यस्ता पदाधिकारीलाई अन्य जिम्मेवारी प्रदान गरी निर्णय कार्यान्वयन गरिने बताउनुभयो।
बैठकले देशका विभिन्न स्थानमा दलितको घर जलाउने, निर्माणाधीन घर भत्काउने, अन्तरजातीय विवाह गर्नेलाई झुटा मुद्दामा फसाउने लगायतका दलितमाथि हुने जातीय छुवाछुत र भेदभावको घटनाको भर्त्सना गरेको छ। जातीय छुवाछुत जस्तो जघन्य अपराधलाई नियन्त्रण गर्न आवश्यक कदम नेपाल सरकारसँग माग गरेको छ।