काठमाडौं, भदौ ७ गते । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र नेपालका लागि लेबनानका अवैतनिक वाणिज्य दूत इल्चेख मोहमेदविल्सम घोउजायलबिच भेटवार्ता भएको छ ।
रक्षा मन्त्रालय सिंहदरबारमा बिहीबार भएको शिष्टाचार भेटमा मन्त्री खड्का र इल्चेखले नेपाल र लेबनानबीच द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि असल सम्बन्ध रहेको धारणा व्यक्त गर्नुभयो । उहाँहरूले युनिफिल मिसनमा नेपाली शान्ति सैनिकहरू लेबनानमा तैनाथ भई लेबनानको शान्ति प्रक्रियामा योगदान पुर्याउन पाएकोमा खुसी व्यक्त गर्दै यसले दुई देशबीचको सम्बन्धलाई थप विशेष बनाएको उल्लेख गर्नुभयो ।
साथै, नेपाल र मित्रराष्ट्र लेबनान दुवै मुलुक प्राकृतिक सम्पदा, संस्कृति र परम्परामा सुन्दर एवम् धनी रहेको र पर्यटन उद्योगलगायतका क्षेत्रमा सहकार्य गर्ने धेरै सम्भावनाहरू भएकाले पर्यटन एवम् अन्य क्षेत्रमा लेबनानको तर्फबाट लगानीका लागि आव्हानसमेत गर्नुभयो ।
उक्त अवसरमा मन्त्री खड्काले सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवेक्षकको तैनाथीबाट संयुक्त राष्ट्रसङ्घको शान्ति अभियानमा पहिलो पटक नेपाली सेना शान्ति सैनिकको रूपमा सहभागी भई शान्ति स्थापना कार्यको यात्रालाई सुरुवात गरेकाले नेपाली सेनाको इतिहासमा कोसेढुङ्गा साबित भएको बताउनुभयो ।
मन्त्री खड्काले सन् १९७८ देखि युनिफिल मिसनअन्तर्गत हालसम्म ५० हजारभन्दा माथि शान्ति सैनिकहरू तैनाथी भई आफ्नो जिम्मेवारी पूरा गरिसकेको र हाल सात सय ७५ जना शान्ति सैनिकहरू लेबनानमा तैनाथ रही आफ्नो जिम्मेवारी वहन गरिरहेको बताउनुभयो ।
वाणिज्य दूत इल्चेखले लेबनानमा नेपाली शान्ति सैनिकले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाली शान्ति सैनिकप्रति लेबनानी जनताको सकारात्मक भावना रहेको बताउनुभयो । उक्त अवसरमा नेपाली सेनाका प्रधानसेनापति, रक्षा मन्त्रालयका सचिव, सहसचिव, परराष्ट्र मन्त्रालयका अधिकारीका साथै, नेपाली सेनाका अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।