• १३ मंसिर २०८१, बिहिबार

जयपृथ्वी बहादुर सिंहको १४७ औँ जन्म जयन्ती

पत्रकार तथा सञ्चार माध्यम पुरस्कृत

blog

शैलेन्द्र रोकाया

बझाङ, भदौ ७ गते । राष्ट्रिय विभूति तथा मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको १४५ औँ जन्म जयन्तीको अवसरमा नेपाल पत्रकार महासङ्घ बझाङ शाखाले आयोजना गरेको कार्यक्रममा तीन जना पत्रकार र दुई सञ्चार माध्यम सम्मानित भएका छन् । 

सदरमुकाम चैनपुरमा बझाङ शाखाले एक औपचारिक कार्यक्रमको आयोजना गरी जन्म जयन्तीको अवसरमा मानवता, जयपृथ्वी र पत्रकारिता विषयक विचार गोष्ठी तथा पत्रकार सम्मान कार्यक्रममा जिल्लामा लामो समयदेखि क्रियाशील तीन जना पत्रकार र दुई वटा सञ्चार माध्यमलाई नगद सहित पुरस्कृत गरेको हो ।  

राष्ट्रिय विभूति तथा मानवतावादी व्यक्तित्व जयपृथ्वी बहादुर सिंहको नामबाट स्थापना गरेको जयपृथ्वी पत्रकारिता लेखनवृत्ती पुरस्कारबाट पत्रकार डिबी विष्ट, जयपृथ्वी पत्रकारिता पुरस्कारबाट संस्थागत बझाङ एफएम र नेपाल एंगल डट कमलाई प्रति व्यक्ति वा संस्था नगद सात हजार रुपियाँ सहित पुरस्कृत गरेको हो । यसैगरी, नेपाल पत्रकार महासङ्घ बझाङ शाखाका पूर्व सचिव स्वर्गीय नरेश खड्काको सम्झनामा स्थापना भएको नरेश स्मृति पत्रकारिता सुशासन पत्रकारिता पुरस्कारबाट पत्रकार प्रताप ओली र पत्रकार प्रदीप मलासीलाई समेत प्रति व्यक्ति नगद रु सात सात हजार सहित पुरस्कृत गरिएको हो । 

विचार गोष्ठीमा राजा सिंहले नेपालको पत्रकारिता क्षेत्रमा गोरखापत्रको आरम्भ गरेर पत्रकारिता क्षेत्रको संस्थागत विकासमा गर्नुभएको योगदानका बारेमा समेत चर्चा गरिएको छ । विचार गोष्ठीमा बोल्ने अधिकांश वक्ताहरूले जयपृथ्वी बहादुर सिंहलाई ढिलै भएपनि सरकारले राष्ट्रिय विभूति घोषणा गरेको र अझै उहाँले गर्नुभएका कामबाट सबैले सिक्नु पर्ने धारणा समेत राख्नुभयो । जयपृथ्वी बहादुर सिंहका बारेमा जानकार लक्ष्मण प्रसाद उपाध्यायले उहाँको शालीन तथा मानवतावादी विचारको अनुसरण हामी सबैले गर्नुपर्ने समेत उहाँले बताउनुभयो ।  

त्यस्तै, जयपृथ्वी नगरपालिकाले समेत विचार विमर्ष गोष्ठीको आयोजना गरी मनाएको छ । गोष्ठीमा जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजालले राजा जयपृथ्वी बहादुर सिंहले गर्नुभएको योगदानको चर्चा गर्दै उहाँले देखाउनुभएको बाटोमा जानका लागि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “उहाँले लेख्नु भएका पुस्तक र विचारहरूलाई मात्र अँगाल्न सकेको खण्डमा उहाँ प्रतिको श्रद्धा पुरा हुनेछ । जन्म जयन्तीको अवसरमा जिल्लाको सत्यवादी मावि भोपुर, सत्यवादी मावि मेल्ललेख लगायतले समेत विभिन्न कार्यक्रमको आयोजना गरी जन्म जयन्ती मनाइएको हो ।