• ११ असोज २०८१, शुक्रबार

देउवा निवास धनगढीमा गौरा : रमे देउडा नृत्यमा

blog

नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा निवास धनगढीमा गौरापर्व मनाइँदै । तस्बिर : भावना जोशी

भावना जोशी
अत्तरिया, भदौ ७ गते  । 
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा निवास धनगढीमा देउडा, फाग र राना थारु महिलाहरूले नृत्य गरेर गौरापर्वको  मनाएका छन्  । 

आज (बिहीबार) सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्व मनाइएको हो । गौरापर्वको मुख्य दिन आज गौरा मनाउन देउवा पत्नी एवम् नेपाली कांग्रेसका नेत्री डा. आरजु राणा देउवाको पहलमा सो कार्यक्रममा आयोजना भएको हो ।

नेत्री देउवाले मङ्गलबार सप्तमीको दिन विधिपूर्वक निवासमा गौरा भित्र्याउनुभएको थियो । आज दर्बाष्टमीको दिन पूजा आराधना सकेर देउडा, राना थारु नाच लगायतमा महिला, पुरुषहरू रमाइरहेका छन् ।

आज बिहानैदेखि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा, नेपाली कांग्रेसका नेता कार्यकर्ता, स्थानीय पालिका प्रमुख, प्रदेशसभा सदस्य लगायतको सहभागिता रहेको थियो ।

उपस्थित सबैलाई फूल प्रसाद विरुडा समेत वितरण गरिएको थियो । रानाथारु महिलाहरूले आफ्नै पहिरनमा सजिएर नृत्य गरेका थिए ।


एउटै समाजमा बसेपछि एक अर्काको चाडपर्व र संस्कृति मान्नु पर्छ भनेर राना थारु समुदायका महिला समेत गौरा मनाउन देउवा निवासमा आएको नेपाली कांग्रेसका  केन्द्रीय सदस्य डा. जीवन रानाले बताउनुभयो ।

विगतका वर्षमा गौरा पूजा देउवा निवास काठमाडौँमा हुने गरेको भए पनि नेत्री देउवाले केही वर्षयता धनगढीस्थित निवासमा गौरा भित्र्याउने गर्नुभएको छ ।

आज दर्बाष्टमी, हिजो गौरादेवीमा चढाएको दुबोधागो (मन्त्रद्वारा पवित्र पारिएको धागो) आजै महिलाहरूले धारण गर्ने गर्दछन् । पुरुषहरूले जनै धारण गरेजस्तै पश्चिम नेपालमा महिलाहरूले दुबोधागो धारण गर्ने गर्दछन् ।

गौराघरबाट गौरालाई सिँगारेर गौराखलामा लग्ने गरिन्छ । सोही अवसरमा महिलाहरूले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने चलन रही आएको छ ।

गौराको उत्पत्ति, महेश्वरसंगको विवाह लगायतका प्रसङ्ग व्रतालु महिलाहरूले फागमार्फत नै भन्ने गरेका छन् । व्रतालु महिलाहरूले गौराको पूजन गरिसकेपछि मुख्य प्रसादको रूपमा रहेको बिरुडाले आफ्ना श्रीमान्, छोराछोरी र आफन्तजनको चिरायु दीर्घायुको कामना गर्दै टाउको पुज्ने गर्दछन् । 

पुरुषहरूले ठाँडोखेल, ढुस्को धमारी लगायतका ऐतिहासिक संस्कृतिमा आधारित खेलहरू खेल्ने गर्दछन् । महिलाले आफ्नो अटल सौभाग्य समृद्धि सन्तान र परिवारमा सुख शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने मान्यता छ । गौरा पर्व विशेष गरेर सुदूरपश्चिम, मध्यपश्चिमका केही जिल्लाहरूमा मनाउने गरिन्छ ।

यसैबिच सुदूरपश्चिम प्रदेशमा आज र भोली सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिमीलेको धार्मिक, सांस्कृतिक एवं मौलिक चाड गौरा पर्वका अवसरमा प्रदेश सरकारले भदौ ७ र ८ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो । यो वर्ष तिथिका विषयमा ज्योतिषहरूबिच विवाद भएपछि दुई गौरा भएका छन् । कुनै ठाउँमा भदौ ४ गतेदेखि गौरा सुरु भइसकेको छ भने कुनै ठाउँमा भदौ १८ गतेदेखि गौरा मनाउने तयारी भइरहेको छ ।

तर नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत पुस २५ गते नै भदौ ७ गते गौरा पर्व मनाउने गरेर स्वीकृति दिएको थियो ।