काठमाडौं, भदौ ७ गते । प्रतिनिधि सभा बैठकमा सांसदहरूले सरकारले श्रमिकको बढेको पारिश्रमिक पाउने वातावरण बनाइदिनुपर्ने बताएका छन् ।
बिहीबार दिउँसोबाट सुरु भएको प्रतिनिधि सभाको शून्य समयमा बोल्नुहुँदै सांसद डोलप्रसाद अर्यालले सरकारले श्रमिकको बढेको पारिश्रमिक पाउने वातावरण बनाइदिनुपर्ने बताउनुभएको हो । सांसद अर्यालले सरकारले श्रमिकहरूको पारिश्रमिक बढाउनु सकारात्मक भएको बताउनुभयो ।
सांसद अर्यालले उद्योगी, व्यवसायीले बढेको पारिश्रमिक लागू गर्न नसक्ने बताइरहेको भन्दै बढेको पारिश्रमिक लागू गर्न सरकारले वातावरण बनाइदिनुपर्नेमा जोड दिनुभयो । उहाँले पारिश्रमिक वृद्धि लागू गर्न नसके राम्रो सन्देश नजाने बताउनुभयो ।
सांसद अर्यालले भन्नुभयो, ‘‘अहिले सामान्य बढेको पारिश्रमिक पनि लागू गर्न सकेनौँ भने पक्कै पनि राम्रो सन्देश जाँदैन । उद्योग, व्यवसाय प्रवर्द्धन गर्नु र श्रमिकका हक, हितमा पनि काम गर्नु सरकारको दायित्व हो । त्यसैले उद्योगी, व्यवसायीले खुसी खुसी बढेको पारिश्रमिक लागू गर्ने वातावरण सरकारले तयार गरिदिनुपर्छ ।’’
त्यस्तै अर्का सांसद तेजुलाल चौधरी आठ वर्ष अघि टीकापुरमा थारुहरूको आफ्नो हक, अधिकार, पहिचान र भूगोलका लागि राजनीतिक आन्दोलन भएको भए पनि थारुहरू जेल जीवन बिताउनुपरेको उल्लेख गर्नुहुँदै उनीहरूलाई जेलमुक्त गर्न माग गर्नुभयो । उहाँले थारुहरूमाथि राज्यले दमन र विभेद गरेको भन्दै थारुहरू पुनः जुरमुराउन सक्ने बताउनुभयो ।
‘‘आज भदौ ७ गते टीकापुर घटनाको आठ वर्ष भयो । अहिले धेरै थारुहरू जेल जीवन बिताइरहेका छन् । केही थारुहरू देशबाहिर र देशमा लुकिछिपी बसिराखेको हुनाले उहाँहरूलाई छोड्दिन म जोडदार माग गर्न चाहन्छु । थारु आन्दोलन विशुद्ध राजनीतिक आन्दोलन हो ।,’’ सांसद चौधरीले भन्नुभयो, ‘‘आफ्नो हक, अधिकार, पहिचान र भूगोलका लागि आन्दोलन भएको थियो । त्यसैकारणले थारुहरूलाई राज्यबाट दमन र विभेद भएको छ । यसको अन्तिम विकल्पको रूपमा थारुहरू फेरि जुरमुराउन सक्छन् । त्यसकारण म आग्रह गर्न चाहन्छु छिटोभन्दा छिटो थारुहरूलाई जेलमुक्त गरिदिनु ।’’
सांसद दीपा शर्माले चिकित्सा शिक्षा र प्राविधिक शिक्षामा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सिटिइभिटी अन्तर्गतबाट सञ्चालित क्याम्पस सञ्चालकहरू आन्दोलित भइरहेको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद शर्माले भन्नुभयो, ‘‘शिक्षाक्षेत्र आज आन्दोलित छ । आज माइतीघर मण्डलामा १३ औँ दिन भयो चिकित्सा शिक्षा र प्राविधिक शिक्षा सिटिइभिटी अन्तर्गतबाट सञ्चालित क्याम्पसका सञ्चालकहरू त्यहाँ आन्दोलित छन् । सरकार बेखबर जस्तै बनेको छ । म आग्रह गर्न चाहान्छु, तुरुन्तै यो विषयमा छलफल चलाइ यसलाई टुङ्गोमा पुर्याउनका लागि चिकित्सा शिक्षा र सिटिइभिटीमा देखिएका समस्या समाधान गर्नुपर्छ ।’’
प्रतिनिधि सभा अर्का सांसद दुर्लभ थापा क्षेत्रीले भक्तपुरमा बालसुधार गृहमा कमल बस्नेतको निधन भएको घटनाको सत्यतथ्य बाहिर ल्याइ घटनामा संलग्नलाई कारबाही गर्न माग गर्नुभयो । उहाँले मृतकका परिवारलाई क्षतिपूर्ति दिन पनि माग गर्नुभयो ।
सांसद थापाले भन्नुभयो, ‘‘भक्तपुरमा सञ्चालित न्यूनतम बालबालिकाका लागि सञ्चालित संस्था युसेफमा भदौ ३ गते कमल बस्नेतको मृत्युको घटनालाई लिएर युसेफमा तोडफोड भएको छ । घटनाको सत्यतथ्य बाहिर ल्याइ सम्बन्धित निकायमार्फत उक्त घटनामा संलग्नलाई कारबाही र मृत्यु भएको बालकको क्षतिपूर्तिको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछु ।’’
त्यस्तै, सांसद देवप्रसाद तिमल्सिनाले रौतहटको श्रीराम सुगर मिल दुई वर्षदेखि बन्द भएको भन्दै तत्काल सञ्चालन गर्न सरकारसँग माग गर्नुभयो ।
सांसद प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका २२ नदीलाई व्यवस्थापन गर्न काठमाडौँ उपत्यका नदी व्यवस्थापन गुरुयोजना बनाएर काम अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले उपत्यकालाई हरियो तथा वातावरणमैत्री बनाउनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सिंहले भन्नुभयो, ‘‘काठमाडौँ उपत्यकामा डुबानदेखि लिएर पहिरो गइरहेको समाचार आएको छ । दीर्घकालीन रूपमा यसको समाधान खोज्नका लागि काठमाडौँ उपत्यकामा साना, ठुला गरेर २२ वटा नदीलाई व्यवस्थापन गर्नका लागि काठमाडौँ उपत्यका नदी व्यवस्थापन गुरुयोजना बनाएर काठमाडौँ उपत्यकालाई हरियो, वातावरणमैत्री बनाउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’’
सांसद प्रदीप पौडेलले इन्जिनियरिङ अध्ययन संस्थानमा २०० प्रतिशत शुल्क वृद्धि गरेको भन्दै शुल्क वृद्धिको निर्णय फिर्ता लिन माग गर्नुभयो । उहाँले शुल्क वृद्धि अस्वाभाविक भएको बताउनुभयो ।
‘‘त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान आन्दोलित छ । त्यहाँ झण्डै २०० प्रतिशत शुल्क वृद्धि गरिएको छ । इन्जिनियरिङ शिक्षामा गुणस्तरीयता कायम गरेको र सामान्य जनताको पहुँच हुने स्थितिमा सञ्चालन हुँदै आएको इन्जिनियरिङ अध्ययन संस्थानमा जुन ढङ्गबाट शुल्क वृद्धि गरिएको छ ।,’’ सांसद पौडेलले भन्नुभयो, ‘‘त्यो अस्वाभाविक छ । तत्काल शुल्क वृद्धिको निर्णयलाई फिर्ता लिएर विद्यार्थीहरूको मागलाई पूरा गरियोस् । त्रिभुवन विश्वविद्यालय भद्रगोल ढङ्गबाट चलिरहेको छ, त्यसलाई सुधार गर्नका निम्ति शिक्षा मन्त्रालयले श्वेतपत्र जारी गरोस् ।’’
अर्का सांसद पौडेलले त्रिभुवन विश्वविद्यालय भद्रगोल ढङ्गले चलिरहेको भन्दै यसलाई सुधार गर्नका लागि शिक्षा मन्त्रालयले श्वेतपत्र जारी गर्नुपर्ने बताउनुभयो ।