• २१ वैशाख २०८१, शुक्रबार

गण्डकी प्रदेशमा एक घर एक धारा, ९९ प्रतिशत भन्दा बढीमा विद्युत् सेवाको लक्ष्य

blog

गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै । तस्बिर: गोरखापत्र

रमेश पौडेल

पोखरा, भदौ ७ गते । गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले गण्डकी प्रदेशमा घण्टौँसम्म डोको बोकेर पानी बोक्नुपर्ने महिलाहरूको दैनिकी अन्त्यका लागि अभियान सुरुवात गरेको बताउनु भएको छ ।

कार्यभार सम्हालेको एक सय दिन पूरा भएको अवसरमा बुधवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री अर्यालले सो अभियानलाई सार्वजनिक गर्नुभएको हो । यस अवधिमा १७ हजारभन्दा बढी घरधुरीमा निजी धारा जडान गरी करिब एक लाख जनसङ्ख्या लाभान्वित भएको उहाँले जानकारी गराउनुभयो । 

मन्त्री अर्याल तिवारीले प्रदेश सरकारले आधारभूत स्तरको खानेपानी सुधारमा विशेष जोड दिँदै खानेपानी मुहान संरक्षणको काम अगाडि बढाइरहेको पनि बताउनुभयो । आफ्नो मन्त्रालयले ८५ प्रतिशतभन्दा बढी खर्च गरी ७ वटा मन्त्रालयमा उत्कृष्ट वित्तीय प्रगति हासिल गरेको उहाँको दाबी थियो ।

त्यसै गरी गण्डकी प्रदेश ऊर्जा सम्बन्धी विधेयकको मस्यौदा प्रदेश ऊर्जा रणनीति कार्य योजनाको अन्तिम रूपको प्रगतिसमेत उहाँले प्रस्तुत गर्नुभएको थियो । २ सय ४० लिफ्टििङ खानेपानी योजनालाई २ करोड विद्युत् महशुल अनुदान प्रदान गरी खानेपानी पुर्याएको मन्त्री अर्याल तिवारीले बताउनुभयो ।

कृषि भूमिमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यअनुरूप यस अवधिमा ५ सय १५ सिँचाइ योजना निर्माण गरिएको जानकारी दिनुभयो ।  । उहाँका अनुसार नदी नियन्त्रण तथा आपत्कालीन बाढी नियन्त्रणका लागि झन्डै १४ किलोमिटर तटबन्ध निर्माण गरिएको छ भने सबैभन्दा बढी मुस्ताङको काली गण्डकीमा नदी नियन्त्रणका लागि २८ करोड र स्याङ्जाको आधि खोला नियन्त्रणको लागि २० करोडको योजना स्वीकृत भएको छ ।

प्रदेश सरकारले लिएको योजना बैङ्कको अवधारणालाई अगाडि बढाई योजना बैकबाट नै योजना निकालेर काम गर्ने रणनीति ऊर्जा मन्त्रालयको रहेको छ । यही आर्थिक वर्षको मङ्सिरसम्म उज्यालो प्रदेश घोषणा गर्ने गरी काम भइरहेको मन्त्री अर्याल तिवारीले जानकारी दिनुभयो । 

हालसम्ममा प्रदेशमा ९९.५ प्रतिशत घरमा विद्युत् सुविधा उपलब्ध रहेको बताउँदै बाँकी रहेको २ हजार ८ सय ८४ घरधुरी मध्ये गण्डकी प्रदेश बागलुङको ढोरपाटन क्षेत्रमा ३ सय ९१ ठाउँमा विद्युत् जडान प्रक्रिया अगाडि बढेको मन्त्रालयका सचिव ई. डा.सन्तोष कैनीले जानकारी दिनुभएको थियो ।  उहाँले दिगो विकासको लक्ष्यले पनि २०३० सम्ममा उज्यालो प्रदेश बनाउने भनेको अवस्थामा यस प्रदेशमा यही वर्ष मङ्सिरमा उज्यालो प्रदेश घोषणा गर्ने गरी काम भइरहेको बताउनुभयो ।