• १५ मंसिर २०८१, शनिबार

दुधमा अनुदानले किसान हर्षित

blog

बनेपा समाचारदाता

काभ्रेपलाञ्चोक, भदौ ६ गते ।  आफूले दैनिक बिक्री गरेको दुधमा बागमती प्रदेश सरकारबाट थप प्रोत्साहन रकम प्राप्त गरेपछि जिल्लाको बेथानचोक गाउँपालिकाका किसान खुसी भएका छन् । प्रदेश सरकारबाट दुधमा उत्पादनमा आधारित अनुदानको रकम बेथानचोकका करिब दुई सय किसानले प्राप्त गर्दै आएका छन् ।

बेथानचोक गाउँपालिका–२ का ७२ वर्षीय कृषक वेदप्रसाद तिमल्सिनाले पशुपालन गरेको वर्षौंपछि दुधमा अनुदान रकम पाउँदा अत्यन्तै खुसी भएको बताउनुभयो । “विसं २०२६ देखि दुध उत्पादन गरी बिक्री गर्दै आएको हुँ, हालसम्म हामी किसानले दुध उत्पादन गरेबापत कुनै सुविधा पाएका थिएनौँ । सहकारीमार्फत सरकारको अनुदान रकम पाउँदा अत्यन्तै खुसी लागेको छ,” उहाँले भन्नुभयो । कृषक तिमल्सिनाले बेथानचोकका ९५ प्रतिशत किसान कृषि तथा पशुपालनमा निर्भर रहेको बताउँदै पालिकाभित्रका सबै किसानलाई अनुदानमा समेट्न प्रयास गर्नुपर्ने बताउनुभयो । 

प्रदेश सरकारले किसानलाई प्रतिलिटर दुधमा तीन रुपियाँ ५६ पैसा अनुदान रकम उपलब्ध गराएपछि किसान हर्षित भएको भन्दै अनुदान रकमले किसानलाई पशुपालन व्यवसायमा टिकाउनका लागि प्रोत्साहित गरेको बताउनुभयो । 

बेथानचोक गाउँपालिका–३ का पूर्ववडाध्यक्ष दिलबहादुर श्रेष्ठले सरकारले दुधमा अनुदान दिएसँगै किसानले घरदेखि दुग्ध सङ्कलन केन्द्रसम्म गुणस्तरीय र सफा दुध लैजान ध्यान दिनुपर्ने बताउनुभयो । सोमबार एक कार्यक्रमका बिच आधुनिक कृषि सहकारी संस्थाले सहकारीले थानी महाङ्काल डेरीमार्फत दुध बिक्री गर्ने कृषकलाई अनुदान रकम वितरण गरेको थियो ।