• ६ जेठ २०८१, आइतबार

सुन तस्करी छानबिन गर्न आयोग गठन हुने,अन्तिम रूप दिन बाँकी

blog

सिंहदरबारमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नेपाली कांग्रेसका नेता एवम् प्रमुख सचेतक रमेश लेखक ।

काठमाडौँ, भदौ ६ गते । सङ्घीय संसद्का दुवै सदनको गतिरोध हटाउने सन्दर्भमा सहमति जुटाउनका लागि सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताको बैठक बुधबार बस्ने भएको छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार संसद्को काम कारबाही सुचारु गर्नका लागि प्रमुख प्रतिपक्षी दलका माग सम्बोधन गर्ने गरी निर्णायक संवाद गर्न शीर्ष नेताहरू छलफलमा जुट्नुहुने भएको हो। 

उहाँले प्रतिनिधि सभाका राष्ट्रिय मान्यता प्राप्त दलबिच सोमबार सम्पन्न बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को माग अनुसार नै जाँचबुझ आयोग ऐन, २०२६ अनुसार आयोग गठन गर्ने सन्दर्भमा शीर्ष नेताहरूबिच छलफल हुने बताउनुभयो। नेता लेखकसँगै एमाले उपाध्यक्ष एवं संसदीय दल उपनेता सुवासचन्द्र नेम्वाङ र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे सम्मिलित समितिले छानबिन आयोगको कार्यविधि तयार गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा सोमबार राति बसेको राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठकले समिति गठन गरेको हो। उहाँले भन्नुभयो, “दलहरूबिचको सहमति अनुसार आयोगको कार्यविधि तयार गर्न गठित समितिले सहमतिको मस्यौदा करिब करिब टुङ्ग्याएको छ। अब शीर्ष नेताहरूबिच छलफल भएपछि नेतृत्व कसले गर्ने, काम कसरी अघि बढाउने भन्ने सन्दर्भमा अन्तिम निर्णय हुने छ।”

उहाँका अनुसार आयोगको कार्यविधिमा नेपालमा र नेपालको बाटो प्रयोग गरेर हुँदै आएको सुन तस्करी पूर्ण रूपमा नियन्त्रण गर्नका लागि कानुन र संरचनागत कमजोरी हटाउने विषय समावेश गरिएको छ। उहाँले साउन ३ गते विमानस्थलबाट बाहिरिने क्रममा बरामद भएको सुनका सन्दर्भमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान जारी रहने बताउनुभयो। 

उहाँले भन्नुभयो, “केन्द्रीय अनुसन्धान ब्युरोले तस्करीका रूपमा अवैध पैठारी भएको सुनको सन्दर्भमा अनुसन्धान जारी राख्ने, छानबिनलाई निरन्तरता दिने, सिआइबीले निष्पक्ष र स्वतन्त्र छानबिन गरेर अभियोजनसमेत गरेर निष्कर्षमा पु-याउने छ। आयोगको काम नीतिगत सुधारका पक्षमा हुने छ।”

एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले शीर्ष नेताको बैठक बस्ने र उच्चस्तरीय छानबिन आयोगको कार्यविधिलाई अन्तिम रूप दिने बताउनुभयो। उहाँका अनुसार शीर्ष नेताको कार्यव्यस्तताका कारण मङ्गलबार दिउँसो २ बजे तय भएको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि सारिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् खुलाउन भइरहेको पहल र आयोग गठनको विषयमा संवाद गरी सहमति गर्ने जिम्मेवारी शीर्ष नेतालाई नै दिने बताउनुभयो।