केदार तिमल्सिना
काभ्रेपलाञ्चोक, भदौ ५ गते । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा ‘स्वास्थ्य अनुसन्धान केन्द्र’ निर्माण गरिने भएको छ ।
धुलिखेल अस्पतालले नमोबुद्ध नगरपालिका–११, स्वाँराडाँडामा आवासीय स्वास्थ्य तालिम केन्द्रसहितको स्वास्थ्य अनुसन्धान केन्द्र निर्माण गर्ने भएको हो । धुलिखेल अस्पतालले औषधीजन्य गुण भएका बिरुवाको रोपण, अनुसन्धान, उत्पादन तथा प्रशोधन गर्ने एवं नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहकार्यमा विभिन्न आवासीय तालिम सञ्चालन गर्ने उद्देश्यले ‘स्वास्थ्य अनुसन्धान केन्द्र’ निर्माण गर्न लागेको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसन्धान विभाग प्रमुख डा. राजीव श्रेष्ठले विद्यावारिधि (पिएचडी), मास्टर बाई रिसर्च, सर्ट कोर्स प्रोग्रामका कार्यक्रम सञ्चालन गर्नुका साथै अस्पतालले उत्पादन गर्दै आएको ‘स्याहार’ का लागि आवश्यक पर्ने औषधीजन्य जडिबुटी उत्पादन गर्ने बताउनुभयो । उहाँले अनुसन्धान केन्द्रका लागि उपलबध हुने जमिनमध्ये ६० प्रतिशत जमिनमा औषधीजन्य गुणका बिरुवा रोपिने र बाँकी स्थानमा अनुसन्धान केन्द्रका लागि आवश्यक पर्ने भौतिक संरचना निर्माण गरिने बताउनुभयो ।
“हामी वन उपभोक्ता समितिमार्फत अनुसन्धान केन्द्रका लागि आवश्यक पर्ने जडिबुटी बिरुवा उत्पादन गर्ने र त्यसबापत उहाँहरूलाई रकम दिनेछौँ,” डा. श्रेष्ठले बताउनुभयो । उहाँले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग सहकार्य गरेर आवासीय तालिम सञ्चालन गरिने बताउनुभयो ।
उहाँले अस्पतालले स्वास्थ्य अनुसन्धान केन्द्र निर्माण गरेसँगै अन्तर्राष्ट्रियस्तरबाट अनुसन्धाता ल्याएर अनुसन्धानका कार्यक्रम गरिने योजना गरेको जानकारी दिँदै अनुसन्धान केन्द्र निर्माण गर्दा वातावरण संरक्षण गर्ने उद्देश्यले हरियाली जोगाउने कामसमेत हुने बताउनुभयो ।
स्वास्थ्य अनुसन्धान केन्द्र निर्माणका लागि नमोबुद्ध नगरपालिकाले स्वाँराडाँडामा रहेको कित्ता नं. ७३२ को १५० रोपनी र कित्ता नं. ६२२ को ११३ रोपनी गरी हाललाई २६३ रोपनी जग्गा उपलब्ध गराउने वडाध्यक्ष कृष्णबहादुर लामाले जानकारी दिनुभयो । “हामीले हाललाई स्वास्थ्य अनुसन्धान केन्द्रका लागि २६३ रोपनी जग्गा उपलब्ध गराउने र त्यसभन्दा बढी जग्गा आवश्यक पर्दा अरू थप जमिन उपलब्ध गराउन सक्ने सहमति भएको छ,” उहाँले भन्नुभयो ।
वडाध्यक्ष लामाले वडा कार्यालयले अनुसन्धान केन्द्र निर्माण गर्न जग्गा दिएबापत वडावासीलाई धुलिखेल अस्पतालमा उपचार गर्दा २५ प्रतिशत छुटको व्यवस्था र अनुसन्धान केन्द्रमा वडावासीलाई सिप अनुसारको रोजगारी उपलब्ध गराउने सहमति भएको बताउनुभयो ।
स्वास्थ्य अनुसन्धान केन्द्रको प्रव्रिmया अगाडि बढेसँगै धुलिखेल अस्पतालले केन्द्रका लागि प्राप्त हुने जग्गामा एलोभेरा, स्याउ, अम्बा, लेमनग्रास, ओखर, जामुनलगायतका औषधी र फलफूलजन्य करिब सात सय बिरुवा लगाएको छ ।
अस्पतालले अनुसन्धान केन्द्र निर्माण गर्ने पहल सुरु गरेसँगै जिल्लास्थित सरोकारवालाले केही दिनअघि अनुसन्धान केन्द्र निर्माण हुने स्थानको स्थलगत अनुगमन गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी, मालपोत, नापी, वन कार्यालयको टोलीले केन्द्र निर्माण हुने स्थानको स्थलगत अनुगमन गरेको हो । त्यस क्रममा समन्वय प्रमुख गौतमले वन क्षेत्र जोगाउने गरी अस्पतालले केन्द्र निर्माणको डिपिआर तयार गर्नुपर्ने सुझाव दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले केन्द्र निर्माणका लागि नगरपालिकाले उपलब्ध गराएको जमिन इन्जिनियरिङ हिसाबले उपयुक्त भए/नभएको यकिन गर्ने तथा वन, नापी, मालपोत कार्यालयमा पूरा गर्नुपर्ने प्रक्रिया अघि बढाउन अस्पताललाई सुझाव दिनुभएको छ ।